Logo
|
Saturday 20th April 2024
Logo

epaper

औलोबाट मर्नेको संख्या आधा घट्यो



विश्व स्वास्थ्य संगठनले औलो अर्थात मलेरियाबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले कमी आएको जनाएको छ । रोग विरुद्धको लडाइँमा सफलता हाँसिल गरेको र विश्वव्यापी प्रयासले यो संभवन भएको बताइन्छ ।o-MALARIA-facebook
सन् २००१ देखि २०१३ सम्मको अवधिमा मलेरियाका कारण विश्वमा ४३ लाख जना मानिसको ज्यान गएको र ज्यान गुमाउने मध्ये ३९ लाख जना अफ्रिकाको सब सहारा क्षेत्रमा बस्ने ५ वर्ष मुनिका बालबालिका रहेको डब्लुएचओको भनाइ छ । प्राणघातक मलेरियाबाट बचावटका लागि भइरहेका विश्वव्यापी प्रयासका कारण मलेरिया विरुद्धको जिवनदायिनी सेवामा मानिसहरुको पहुँच बढ्दै गएको संगठनले उल्लेख गरेको छ ।

सन् २००४ मा मलेरियाको जोखिममा रहेका मध्ये केवल ३ प्रतिशत मानिसमा मात्र झुलको पहुँच रहेकोमा अहिले ५० प्रतिशत मानिस मलेरिया सार्ने लामखुट्टेको टोकाइबाट बचाउने झुलको पहुँचमा रहेको बताइएको छ । रोग पत्ता लगाउने परीक्षणमा तिब्रता दिइएको र अहिले मलेरिया संक्रमित धेरै मानिसले उपचारका लागि औषधि प्राप्त गरेको संगठनको भनाइ छ । त्यस्तै मलेरिया उन्मुलनको दिशामा अघि बढिरहेका देशहरुको संख्या पनि थपिँदै गएको संगठनको भनाइ छ ।

यसअघि मलेरिया प्रभावित देशको रुपमा रहेका अजरबैजान र श्रृलंकामा सन् २०१३ मा औलोका कुनैपनि रोगी फेला परेनन् भने अन्य ११ वटा देशहरुले मलेरियालाई शुन्य पारेको आफ्नो अघिल्लो वर्षको सफलता दोहोराउन सफल भए ।

विश्वमा अहिलेपनि मलेरियाबाट हुने मृत्युको ९० प्रतिशत अफ्रिकामै हुने गरेको छ । तथापि अफ्रिका महादेशमा मलेरिया संक्रमितको संख्या पछिल्लो १३ वर्षमा एक चौथाइले घटेको छ । सन् २००० मा अफ्रिकामा मलेरिया संक्रमितको संख्या १७ करोड ३० लख रहेकोमा सन् २०१३ मा १२ करोड ८० लाखमा झरेको छ । विश्व स्वास्थ्य संगठनकी महानिर्देशक डाक्टर मार्गरेट चानले सुधारात्मक उपायको अवलम्बन, राजनीतिक प्रतिबद्धतामा वृद्धि, क्षेत्रीय प्रयासहरुमा वृद्धिका साथै औलो नियन्त्रणमा घरेलु तथा अन्तराष्ट्रिय लगानीमा वृद्धि भएको हुँदा यस्तो अभूतपूर्व सफलता हात परेको बताएकी छिन् । उनका अनुसार पछिल्लो समयमा मलेरियाको जिवाणु औषधि प्रतिरोधी बन्दै जानु र यस्तो खतरा सम्बोधन गर्ने प्रयास नहुनु मुख्य चुनौति रहेको उनको भनाइ छ । विश्वमा ३ अर्ब २० करोड मानिस मलेरियाको जोखिममा रहेका छन् । सन् २०१३ मा मलेरियाको उपचार तथा रोकथामका लागि २ अर्ब ७० करोड डलर रकम उठेको छ । मलेरिया नियन्त्रण तथा उन्मुलनका लागि ५ अर्ब १० करोड डलर चाहिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्