Logo
|
Friday 29th March 2024
Logo

epaper

सफल करिअरको सूत्रः सही काममा सही व्यक्ति



प्रज्वलजंग पाण्डे, युवा उद्यमी
नयाँ नेपालको नेतृत्व अब युवाले गर्ने हो भन्ने मान्यता स्थापित गदै अघि बढ्नु भएको छ प्रज्वलजंग पाण्डे । नेपालका युवा पुस्ताका उद्यमीहरुमध्ये निकै मिहिनेती र सृजनशील व्यक्तिका रुपमा पाण्डेले आफूलाई फरक मानक दिइरहनुभएको छ ।  उहाँको करियर फार्मा म्यानिफ्याक्चरिङ, सेल्स एण्ड मार्केटिङ र फार्मा एजुकेशनतिर सफलतापूर्वक अघि बढिरहेको छ ।
औषधिको दुनियाका सारथी
युवा उद्यमी पाण्डे नेपालको चर्चित स्वदेशी औषधि कम्पनि लोमस फर्मास्युटिकल्स प्रा.लि.को मार्केटिङ डाइरेक्टर र निष्ट नामक  फार्मेसी कलेजका सञ्चालक हुनुहुन्छ । यस कलेजमा ब्याच्लर इन फार्मेसीमा अध्ययन अध्यापन हुने गर्छ । पाण्डे इन्स्टिच्यूट अफ मेडिसिन (आईओएम) मा फार्मेसी विषयको अध्यापनसमेत गर्नुहुन्छ ।
पाण्डेले सरकारी छात्रबृत्तिमा सन् २००० मा बंगलादेशको ढाका विश्वविद्यालयबाट फार्मेसीमा मास्टर्स डिग्री र पोखरा विश्वविद्यालयअन्तर्गत बिजनेस इन म्यानेज्मेन्टमा एमबीए गर्नुभएको छ । उहाँले फर्मा क्षेत्रमा आफ्नो करियर शुरु गर्नुभएको १५ बर्ष बितिसकेको छ । हरेक दिन फर्मास्युटिकल्स सेक्टरबाट शुरु हुने पाण्डेको दिनचर्या बेलुका यसैबाट अन्त्य हुन्छ ।
पढौं, उनै सफल युवा उद्यमी पाण्डेको करिअर उहाँकै शव्दमा

करियरमा संघर्ष
शुरुमा मेडिकल साइन्स अध्ययन गर्नेतिर ध्यान गएको भए पनि आफ्नो पारिवारिक व्यवसाय औषधि उद्योगतिर भएकाले फर्मास्युटिकल्स साइन्स नै अध्ययन गर्ने सोच आयो ।  यद्यपी औषधि पनि मेडिकल लाइन नै हो भनेर फर्मास्युटिकल्स नै अध्ययन गरेँ । बंगलादेशको सरकारी छात्रबृत्तिमा अति कम शुल्कमा फार्मेसी अध्ययन गर्न पाउनुलाई मैले अवसरको रुपमा लिएको छु ।  बंगलादेशबाट अध्ययन पूरा गरी आएको भोलिपल्टदेखि नै आफ्नो पारिवारिक फर्मा उद्योगको विकास र बिस्तारमा फर्मासिस्ट भएर काम शुरु गरेँ । सिक्दै र अनुभव लिँदै आज फर्मा क्षेत्रमा डेढ दशक बिताइसकेको छु । आफ्नो औषधि कम्पनि भएपनि अरु साधारण फर्मासिस्ट सरह तलब सुविधा लिएर काम गरेँ र फर्मा क्षेत्रमा आफ्नो करियर बनाएँ । शुरुमा मैले प्रोडक्सन फर्मासिस्टको रुपमा काम थालेको थिएँ । दैनिक ८ घण्टा काम गर्थेँ र बेलुका एमबीए अध्ययन गर्न जान्थेँ । राति १०—११ बजे घर फर्कन्थेँ ।
सफलताका लागि खोजिनीति
फर्मास्युटिकल्स टेक्नोलोजीमा आधारित काम भएकाले यसका लागि हरेक पटक अप टू डेट भइरहनुपर्छ । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नयाँ नयाँ प्रविधिबारे अध्ययन गर्ने मेरो बानी छ । यसले सफलताका लागि निकै सहयोग गरेको छ । फर्मास्युटिकल्स टेक्नोलोजीमा निरन्तर अध्ययन गर्नुका साथै सम्बन्धित बिषयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा पनि भाग लिने गरेको छु । जसबाट नयाँ नयाँ सिर्जनशीलता मिल्छ ।
म गुण र दोषले भरिएको मान्छे
म आफ्नो काममा बलियो रुपमा प्रतिबद्ध छु । शुरु गरेको काम जसरी पनि सकाउँछु । बिभिन्न बाधा व्यवधान आएपनि त्यसलाई सफल बनाउन धैर्य र निरन्तर प्रयास भएमा सफल भइन्छ भन्ने लाग्छ ।  मैले आफ्नो करियरमा यो सिकेँ पनि । दोष त्यस्तो खासै छैन । कहिलेकाँही बाहिरबाट आएका इमेलहरु ढिलो रुपमा रिस्पोन्स गरिरहेको हुन्छु । यो मेरो राम्रो बानी होइन भन्ने थाहा हुँदा हुँदै पनि कामको शिलशिलामा बाहिर जानुपर्दा अलि समस्या हुने गर्छ । भोलि गरौँला भन्दा भन्दै ढिलो हुने गर्छ । हाम्रो लोमस कम्पनिको औषधि विदेशमा पनि निर्यात हुने भएकाले विदेशीलाई चाँडै जवाफ नदिँदा कहिलेकाँही विदेशीका फोनहरु पनि आउने गर्छन् । हरेक दिन मेल चेक गर्नमा म अलि पछाडि छु ।
म सिर्जनशील दिमागले काम गर्छु तर दुई तीन महिनाको बीचमा मलाई एक दुई दिन रिल्याक्स तरिकाले बस्न मन लाग्छ । निरन्तर काम गरेर मात्र हुँदैन । राम्रो प्रतिफल प्राप्त गर्न मानिसलाई सोच्ने समय पनि चाहिन्छ । सातामा एक दिन शनिबार आफूले आफैंलाई रिफ्रेस गर्न सक्नुपर्छ । यसले पुन साताभर राम्रो काम दिन सकिन्छ ।
सफलताको स्वाद
अन्तर्राष्ट्रिय तहमा नेपाली औषधि उद्योग पु¥याउन सफल भएका छौं । यसका लागि राम्रो प्लेटफर्म औषधि उद्योग छ । त्यस्तै हर्वल तथा प्राकृतिक उत्पादनहरुलाई पनि सँगसँगै अघि बढाइरहेका छौं । सफलताका लागि अझ काम गर्नुपर्ने आवश्यकता छ ।
सफलतामा करियरको महत्व
जुनसुकै क्षेत्रको करियरमा पनि योग्यता महत्वपूर्ण हुन्छ । ठिक कामका लागि ठिक मान्छे हुनुपर्छ । नेपालमा कामका लागि जे गरेपनि हुन्छ भन्ने प्रचलन छ । तर सम्बन्धित करियर भएको मान्छे सम्बन्धित ठाउँमा भएमा त्यसको रिजल्ट र आउटपुट धेरै राम्रो आउँछ ।
करिअर र परिवार सँगै
समय भनेको आफैंले निकाल्ने हो । हरेक व्यक्तिले परिवारका लागि समय निकाल्नुपर्छ । यसका लागि समयको व्यवस्थापन गर्न जान्नुपर्छ । यसले आफ्नो करियर र परिवार दुवैका लागि समय पुग्छ । हप्ताको एक दिन आफ्नो परिवारलाई समय दिनुपर्छ । अर्जेन्ट नभएसम्म शनिबारका दिन कतै पनि भेटघाटको कार्यक्रम राख्न हुँदैन । तालिका अनुसार काम गर्न जान्नुपर्छ । कामको जिम्मेवारीलाई परिभाषित गर्नुपर्छ अर्थात कुन काम कसले गर्ने ? भन्ने बारे राम्रोसँग ध्यान दिनुपर्छ । घर गएपछि व्यवसायिक जीवन भन्दा पारिवारिक जीवनतिर ध्यान दिनुपर्छ ।
भावी योजना
नेपाली औषधि उद्योगलाई उचाइमा पु¥याउने भावी योजना छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा लोकप्रीयता कमाउन काम अघि बढाइसकेका छौं । केही हदसम्म यसलाई साकार पनि पारिसकेका छौं । अझ बढी परिस्कृत रुपमा र ज्वाइन भेञ्चरमा राम्रो औषधि उद्योगसँग लागेर समस्त नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रियस्तरको औषधि उद्योग छ भन्ने बनाउनु नै  मेरो सपना हो ।

प्रतिक्रिया दिनुहोस्