Logo
|
Thursday 19th September 2019
NEWS PAPER

नाडी छाम्यो, पैसा झार्‍यो



DR Prakash

तपाईं सरकारी अस्पतालमा जँचाउन जानुभएमा भीडका कारण पूरा दिन बित्छ । रगत, पिसाब, एक्स—रे आदि परीक्षणहरु गराउनुपर्ने भए फेरि अर्को दिन पनि बित्छ । त्यसपछि रिपोर्टहरु लिएर डाक्टर साहेबलाई देखाउन जाँदा तेस्रो दिन बित्छ । रिपोर्ट हेरिसकेपछि डाक्टरले आफ्नो विषयभन्दा बेग्लै रोगको शंका गरे भने उक्त विषयको डाक्टरको पनि सल्लाह लिने भनी रेफर गरिदिन्छन् । रेफर गरिएको डाक्टरलाई अर्को दिन जँचाउन पाउनुभयो भने चौथो दिन बित्छ । विशेषज्ञ डाक्टर साहेबले फेरि आफ्नै तरिकाले केही पुराना टेस्टहरु दोहो¥याउने र केही नयाँ टेस्टहरु गराउने सल्लाह दिन्छन् । पाँचौ दिनमा तपाई ती टेस्टहरु गराउनुहुन्छ र छैटौँ दिनमा रिपोर्टहरु लिई डाक्टरसाहेबलाई भेट्न जानुहुन्छ । तर त्यस दिन उहाँको पालो परेको हुँदैन । टिकट काट्ने ठाउँमा बुझ्दा थाहा पाउनुहुन्छ, उहाँको पालो तीन दिनपछि मात्र छ । तपाइले कुर्नैपर्ने हुन्छ । नवौं दिनमा ९ बजे बिहानदेखि नै तपाइ लाइनमा बस्नुहुन्छ । एक नम्बरमै तपाइको पालो छ । १२ बजेतिर मात्र विशेषज्ञ डाक्टर साहेब आइपुग्नुहुन्छ । शायद वार्डको राउन्ड अलि लामो भएकाले १२ बजेको हुनुपर्छ । उहाँको साथमा एक दुई जना अरु सेतो एप्रोन लगाउनेहरु पनि आएका छन् दुई तीन जना बिरामीहरु पछि लगाएर । शायद नातेदारहरु होलान् जँचाउन आएका । सबभन्दा पहिला उनीहरुलाई नै जाँच्ने काम हुन्छ । १ बजे तपाइको पालो आउँछ । रिपोर्टहरु हेरिसकेपछि तपाइको अनुहारतर्फ हेर्दे डाक्टर साहेब भन्छन्— ‘ मलाई एउटा रिपोर्टमा शंका लाग्यो, हाम्रो अस्पतालको प्रयोगशाला पनि खै के भन्ने, रिपोर्टको विश्वास गर्नै गाह«ो, एक पल्ट बाहिर प्राइभेटमा पनि जँचाउनुस् अनि त्यहाँको पनि रिपोर्ट हेरेपछि उपचार सुरु गरौँला ।’ तपाई छक्क पर्नुहुन्छ यत्रो ठूलो अस्पतालको रिपोर्टमा पनि शंका गर्ने ठाउँ हुँदोरहेछ र बाहिर प्राइभेटमा जँचाएर त्यसलाई पुष्टि गर्न पर्दोरहेछ । ९ दिन त बितिसक्यो, अब बाहिर जँचाई रिपोर्ट ल्याएर औषधि सुरु हुँदासम्म तपाइको प्राण रहन्छ या रहँदैन, तपाई सोच्नै सक्नुहुन्न, दुवै हात पुर्पुरोमा राख्दै अस्पताललाई मनमनै सराप्दै डाक्टरको कोठाबाट बाहिर निस्कनुहुन्छ ।
जति सुकै सरापे पनि आखिर मर्न त भएन । अस्पतालप्रति रिस उठेको झोकमा तपाई नर्सिङ होममा गएर जँचाउने बिचार गर्नुहुन्छ । नाम चलेको डाक्टरकहाँ नाम लेखाउन पुग्नुहुन्छ । तर ४ दिनपछि मात्र तपाइले पालो पाउनुहुन्छ । भगवानको बरु दर्शन पाउन सजिलो होला, डाक्टरको दर्शन पाउन किन यति कठिन ? तपाई मनमनै आफैँलाई प्रश्न गर्नुहुन्छ । पैसा तिरेर भेट्न पनि यति गाह«ो ! ४ दिनपछि पालो आएपछि डाक्टरसँग तपाईको भेट हुन्छ । सबै रिपोर्टहरु हेरिसकेपछि र छातिमा आलाले जाँचिसकेपछि डाक्टर साहेबले भन्नुहुन्छ– तपाइको पिसाब नलीमा पत्थरी छ, अप्रेसन गरेर झिक्नुपर्छ । अप्रेसन शुल्क १८ हजार रुपियाँ लाग्छ, तर तपाईलाई ४ हजार रुपियाँ कन्सेसन गरिदिउँला, भोलि भर्ना हुन आउनुस् । पैसाको कुरामा चित्त नबुझे उपचार गराउन सरकारी अस्पताल जानुस् ।
माथि वर्णन गरिएका घटनाक्रमहरु कुनै काल्पनिक नाटकका अंशहरु होइनन् । यो मेरा एक जना मित्रले उपचार गराउने क्रममा भोग्नुपरेको तीतो यथार्थ हो । उनले अझै निर्णय गर्न सकेका छैनन्, ४ हजार कन्सेसन पाएर १४ हजार रुपियाँमा नर्सिङ होममा अप्रेसन गराउने कि प्राइभेटमा गई जँचाएर रिपोर्ट लिएर आऊ अनि औषधि गरौला भन्ने अस्पतालमा उपचार गराउने । दिग्भ्रमित भएर मसँग सल्लाह माग्दा यो तीतो यथार्थको पर्दाफास हुन पुगेको हो । मलाई पनि थाहा थिएन र विश्वास गर्न पनि गाह«ो लाग्छ, अप्रेसन जस्तो संवेदनशील कुरामा बार्गेनिङ ! फिक्स्ट प्राइस पो हुनुपर्ने हो । तर बार्गेनिङको फलस्वरुप १८ बाट १४ हजारमा झर्दो रहेछ अप्रेसन शुल्क व्यापारको कुनै वस्तुजस्तै ।
डाक्टरी पेसा सेवा हो वा व्यापार ? यसतर्फ सम्बन्धित सबैको ध्यान आकर्षित गर्नुपर्ने भएको छ । मेरा एकजना व्यापारी मित्रले मेरो पेसाको खुब डाहा गर्छन् । उनी भन्ने गर्छन्–‘तँलाई त क्या मोज छ यार, नाडी छाम्यो पैसा झा¥यो । दुःखै गर्न नपर्ने ! ४ दिन कुर्नुपर्छ तँलाई पैसा तिरेर भेट्न ।’ यस प्रकार नाडी छाम्यो की पैसा झर्छ भनी डाक्टरी पेसाप्रति इष्र्यापूर्या र गलत धारणा राख्नेहरु धेरै छन् । ७–८ बर्षको कठिन अध्ययनपछि, नाइट ड्युटी र इमर्जेन्सी ड्युटी, न घर परिवार न चाडपर्व भनी सङ्घर्षपूर्ण सेवामा समर्पित भएर पनि घर परिवार चलाउनका लागि खर्च जुटाउन नसक्ने डाक्टरहरुको संख्या नेपालमा कम छैन भनेमा धेरैले पत्याउदैनन् । तर यो पनि स्वास्थ्य सेवामा बार्गेनिङजस्तै तितो यथार्थ हो । डाक्टर जति सबै अशोक बाँस्कोटा र उपेन्द्र देवकोटा जस्तै कहाँ हुन्छन् र जसलाई जँचाउन एक महिना लाइनमा बस्नुपर्ने । आज त यस्ता जुनियर डाक्टरहरु कति छन् कति, जसले क्लिनिकमा मुस्किलले दैनिक एक दुई जना बिरामी जाँच्ने मौका पाउँछन् । नाडी छाम्न पाए पो पैसा झरोस् ।
अब एक पल्ट माथिका घटनाक्रममाथि बिचार गरौं । सरकारी अस्पतालमा भीड अवश्य हुन्छ । त्यसकारण जँचाउन लाइनमा कुर्नुपर्छ र उपचार गराउने क्रममा ९ दिनसम्म धाउनु पनि पर्ने हुन्छ । आखिर कालीमाटीको तरकारी बजारमा पनि त कम भीड हुँदैन, तर अस्पताल जस्तै यो चर्चाको बिषय बन्न सक्दैन । डाक्टरको संख्या कम र बिरामीको संख्या बढी भएपछि चिकित्सा सेवाको गुणस्तरमा पनि ह«ास आउनु स्वभाविकै होइन र ! त्यसमाथि प्रयोगशाला पनि अचम्मको हुन्छ, एउटै व्यक्तिको रगत १ घण्टाको अन्तरमा दोहो¥याएर जँचाउदा आकाश जमिनको फरक हुने खालको रिपोर्ट आउँछ । यस्तो रिपोर्टमा भर परेर चिकित्सकले कसरी बिरामीको उपचार गर्ने ? त्यसकारण क्रसचेक गर्न प्राइभेटमा जँचाएर रिपोर्ट ल्याउँ भन्नै प¥यो नि ! यो त बिरामीकै भलाइका लागि हो नि ! तर यो कसले बुझिदिओस् । एकातर्फ यस्तो स्थिति छ भने अर्को तर्फ एउटै डाक्टरले वार्ड राउन्ड पनि गर्नुपर्ने, ओ.पी.डी. पनि हेर्नुपर्ने भएपछि बिरामीले ८ बजेदेखि कुरोस् कि ९ बजे देखि, डाक्टर १२ नबजी ओ.पी.डी. पुग्न भ्याउँदै भ्याउँदैन । यसमा चिकित्सकको कुनै दोष छैन । यो सब हाम्रो स्वास्थ्य सेवा प्रणलीको दोष हो । जहाँसम्म बार्गेनिङको कुरा छ, यो आजको स्वास्थ्य सेवा व्यापारिकरण तर्फ लम्किन थालेको लक्षण हो, जसलाई तत्काल रोक्नुपर्छ । यस्तै यस्तै प्रवृति र एक दुई जना डाक्टरी जस्तो पवित्र पेसाको मर्म नबुझेका व्यक्तिहरुका कारण यो पेसाबारे बेलाबखत नकारात्मक टिप्पणी हुने गर्दछ । यस सेवामूलक र पवित्र पेसालाई सर्वसुलभ, गुणस्तरयुक्त बनाउन सम्बन्धित क्षेत्रहरुबाट धेरै कसरत गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्र सय रुपियाँमा माल झिकाएर हजार रुपियाँमा बेच्ने व्यक्तिले ‘नाडी छाम्यो कि पैसा झा¥यो’ भन्ने हिम्मत गर्नेछैन ।

NH
turup
प्रतिक्रिया दिनुहोस्