Logo
|
Thursday 19th September 2019
NEWS PAPER

मेडिकल ल्याबको गुणस्तर र विश्वसनीयता



Dr-anjan

ल्याब परीक्षण आधुनिक चिकित्सा प्रणालीको एउटा आधारभूत पाटो हो, जसको सहायता बिना कुनै पनि चिकित्सकले बिरामीको रोगको पहिचान गर्न वा उपचार गर्न गाह्रो हुन्छ । त्यसैले  बिरामीको जीवनसँग गाँसिएको रोगशास्त्र अर्थात् प्याथोलोजीलाई आधुनिक मेडिकल विज्ञानको मेरुदण्ड भनिन्छ । पटक पटक नेपालका मेडिकल ल्याबहरुको विश्वसनीयता र गुणस्तरबारे प्रश्न उठ्ने गरेकाले यो लेखमा यो विषयमा नजानी नहुने कुराहरु स्पष्ट पार्न कोशिस गरिएको छ ।
ल्याबका न्यूनतम आधारभूत आवश्यकता

ग्ुणस्तरीय सेवा प्रवाहका लागि मेडिकल ल्याबलाई निम्न कुराहरुको आवश्यकता हुन्छः

  • उपयुक्त संरचना—पर्याप्त स्थान, तापक्रमको व्यवस्थापन,  संक्रमणमुक्त ठाउँ आदि ।
  • प्रविधि र परीक्षण विधि— यी दुवै कुरा अन्तर्राष्ट्रिय स्तरको आई.एस.ओ.मान्यता प्राप्त हुनुपर्छ । रि—एजेन्ट्स÷केमिकलका लागि कोल्ड चेन अनिवार्य रुपमा मेन्टेन भएको हुनुपर्छ ।
  • दक्ष एवं तालिम प्राप्त टेक्निकल स्टाफ हुनुपर्छ
  • ल्याबमा गरिने परीक्षण र बिरामीको समग्र स्वास्थ्यबारे तिनले दिने जानकारीबारे ज्ञान भएको चिकित्सक मेडिकल स्पेशलिष्टको रुपमा कार्यरत हुन जरुरी छ ।
    माथि उल्लेखित आधारभूत आवश्यकतासँगसँगै ल्याबको गुणस्तरका लागि क्वालिटी कन्ट्रोल (बाह्य र आन्तरिक), प्रोफिसिएन्सी टेस्टिङ र उपयुक्त डकुमेन्टेशनजस्ता कुराहरु अत्यन्त आवश्यक छन् । त्यसैले मेडिकल ल्याबहरुले आइएसओ १५१८९ मान्यता प्राप्त गरेर सो अनुसारको गुणस्तरीय रिपोर्ट दिने हो भने मात्र सेवाग्राहीहरुले प्रामाणिक रुपमा स्तरीय रिपोर्ट पाउन सम्भव हुन्छ ।
    प्रयोगशालाले गर्ने काम
    ल्याबले नमुना जाँच गरेर रिपोर्ट दिने काम जति सरल देखिन्छ, वास्तवमा त्यो काम त्यति सहज छैन । यसका लागि धेरै चरणहरुलाई ध्यानपूर्वक विचार गर्नुपर्छ ।
    प्री—एनालाइटिकल (नमूना परीक्षण गर्नअघि)
    यो चरणमा क्लिनिसियन (उपचारमा संलग्न डाक्टर), ल्याबोरेटोरी डाक्टर (मेडिकल स्पेशलिष्ट, प्याथोलोजिष्ट)  र प्राविधिक स्टाफ र प्राविधिकको भुमिका हुन्छ । कुनै पनि क्लिनिसियनले जाँच गर्नलाई जाँच लेखेर पठाउन अगाडि कुन जाँच गर्ने ? कुन तरिका अपनाउने ? कुन जाँच गर्दा राम्रो परीणाम आउँछ ? भन्ने कुराको निर्णय गर्नुपर्छ । यसपछि जाँच लेख्ने फारममा बिरामीमा देखिएका  लक्षण र आफूले पाएका सम्पूर्ण जानकारी लेख्नुपर्छ । क्लिनिसियनले सम्पूर्ण जानकारी नलेखेको खण्डमा जाँच गरिसकेपछि आउने परिणाम विश्वसनीय नहुनसक्छ ।
    ल्याबमा पुगेको नमूनालाई ल्याबोरेटोरी स्टाफ वा ल्यावको कुनै पनि विभागले कुन कुन टेष्ट गर्ने ? कुन टेष्टलाई कुन बेला परीक्षण गर्दा राम्रो हुन्छ ? बिरामीको अवस्था कस्तो छ ? त्यो अवस्थामा परीक्षण गर्न मिल्छ कि मिल्दैन ? भन्ने कुरा ख्याल राख्नुपर्छ । यसका साथै ल्याबको जाँच र Requisition Form मा लेखिएको सबै लक्षणहरुमा ध्यान दिनुपर्छ । यस क्रममा टेक्निकल स्टाफले नबुझेमा ल्याबोरेटोरी डाक्टरको परामर्श लिनुपर्छ । बिरामीको लक्षण र हुनसक्ने डायग्नोसिसको अध्ययनपछि मात्र बिरामीको Lab1शरीरबाट रगत वा अन्य नमूना लिनुपर्छ वा तान्नुपर्छ ।
    यो चरणले कसरी जाँचको नतिजामा फरक पार्छ भनेर बुझ्न एउटा उदाहरण लिऔं । क्लिनिसियनद्धारा बिरामीको स्तन जाँच भएलगत्तै Prolactin हर्मोन टेष्टका लागि रगतको नमुना संकलन गर्न मिल्दैन । साथै बिरामीको निद्रा नपुगेको अवस्थामा पनि Prolactin को जाँच गर्न मिल्दैन किनकि दुवै अवस्थामा रगतमा उक्त हर्मोनको माात्रा बढ्न सक्छ, जबकि बिरामीको सामान्य अवस्थाको हर्मोन लेभल कम हुन सक्छ । २४ घण्टाको अवधिमा प्रोल्याक्टिनको मात्रा तीन गुना फरक हुनसक्छ । यस्तो अवस्थामा ल्याब रिपोर्टलाई गलत रुपमा हेर्ने प्रचलन पनि छ, जबकि यथार्थ त्यस्तो हैन ।
    प्री—एनालाइटिकल चरणमा कुन प्रविधि प्रयोग गरेको छ ? भन्नेमा पनि ख्याल राख्नुपर्छ । जस्तै, नमुना संकलन गर्ने तरिका, संकलन गर्न प्रयोग हुने विधि, संकलन गरेपछि अपनाउने माध्यम राम्रो हुन जरुरी भएको छ । यसमा हुन सक्ने त्रुटि कम गर्नका लागि LIMS (Laboratory information management System)को सफ्टवेयर प्रयोग गर्दा उपयुक्त हुन्छ । यसले मानवीय त्रुटी हुनबाट जोगाउन मद्धत गर्छ ।
    एनालाइटिकल (नमूना परीक्षण गर्ने अवधि)
    यो चरणमा टेक्नोलोजी, टेक्निकल स्टाफ र ल्याबोरेटोरी डाक्टरको  भूमिका महत्वपूर्ण हुन्छ । नमूना आइसकेपछि मेसिनले जाँच गर्ने अवधि एनालाइटिकलअन्तर्गतको चरणमा पर्छ । यसमा कस्तो प्रविधि र विधि प्रयोग गरिएको छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले क्वालिटी कन्ट्रोलको व्यवस्थाले यस प्रविधि र विधिलाई गुणस्तरीय परिणाम निकाल्न मद्धत गर्छ ।  रिएजेन्ट्स, केमिकल विदेशबाट झिकाउने भएकाले नेपालमा कस्तो अवस्थामा आइपुग्छ ? एअरपोर्टमा कुन तापक्रममा भण्डारण हुन्छ ? यो कस्तो अवस्थामा रहन्छ ? कोल्ड चेन मेन्टेन गर्ने प्रविधि छ कि छैन ? जस्ता कुरा महत्वपूर्ण हुन्छन् । जस्तै —२ देखि ८ डिग्री सेन्टिग्रेडमा राख्नुपर्ने रि—एजेन्टेसलाई ३० देखि ४० डिग्री सेन्टिेग्रेडमा राख्दा त्यसले गर्ने काम कमजोर र बिग्रदै जान्छ । गुणस्तरीय प्रविधि प्रयोग नगरेको खण्डमा परिणाम गलत निस्कन सक्छ ।
    नेपालका ल्याबमा कुन प्रविधि र विधि प्रयोग गर्ने वा नगर्ने भन्ने बारेमा कुनै नीति बनेको छैन । प्रविधि वा विधि भित्र्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय जगतमा स्वीकार्य नभएका विधि वा प्रविधिको परिणाम गलत हुनसक्छ ।
    एउटै टेष्ट पनि धेरै विधिबाट गर्न मिल्ने हुन्छ ।  जस्तै—एचआईभी टेष्ट साधारण किटदेखि एलाइजा, क्लिया, पिसिआर जस्ता फरक फरक विधिबाट गर्न सकिन्छ । कुन विधि प्रयोग गर्दा एकिन रिपोर्ट आउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । जस्तो—एचआईभी शंका गरिएको व्यक्तिलाई उपचार गर्ने चिकित्सकले उच्च शंकास्पद भनेपछि सो व्यक्तिलाई उच्चस्तरीय विधिबाट टेष्ट गराउनुपर्छ । यदि उपचार गर्ने डाक्टरले राम्ररी नलेखेको अवस्थामा ल्याबले साधारण विधि अपनाउन सक्छ र राम्रो अवस्थामा नभएको विधि (किट) ले जाँच गर्दा गलत परिणाम आउनसक्छ । हरेक टेष्टको सेन्सिभिटी र स्पेशिफिसिटी हुने गर्छ । सेन्सिभिटी भनेको कुनै एक विधिले कति प्रतिशतसम्म रोग समात्न सक्छ ? र स्पेसिफिसिटी भनेको यसले समातेको रोग कति प्रतिशतसम्म ठीक हुन्छ ? भन्ने हो । त्यसैले हरेक ल्याबोरेटोरी डाक्टर, क्लिनिसियन र प्राविधिकहरुले यी कुरा जान्न जरुरी हुन्छ ।गुणस्तरको प्रश्न
    साधारण शव्दमा ल्याबमा नमूना टेष्ट गर्न अघि  विधि र प्रविधि ठीक भएनभएको हेर्ने कुरालाई क्वालिटी कन्ट्रोल भनिन्छ । क्वालिटी कन्ट्रोल टेष्ट गर्न विभिन्न रिएजेन्ट्स, केमिकल मगाइन्छ र ज्ञात परिणाम भएका नमुनाहरुको जाँचका लागि ती रिएजेन्ट्स र मेशिनहरु प्रयोग गरेर जाँचको तरिका ठीक भएनभएको जानकारी लिइन्छ । यदि क्वालिटी कन्ट्रोलले विधि प्रविधि ठीक भएको देखाएमा मात्र नमूना परीक्षण गर्न सकिन्छ । आन्तरिक क्वालिटी कन्ट्रोल, विधि प्रविधि ठीक भएपनि यसलाई स्वदेशी तथा विदेशी स्ट्याण्डर्ड ल्याबको नतिजासित तुलना गरेर हेर्नुपर्छ । यसलाई बाह्य क्वालिटी कन्ट्रोल भनिन्छ ।
    आईएसओ १५१८९ प्रमाणपत्र पाइसकेपछि सम्बन्धित ल्याबमा गरिएका टेष्टहरु विश्वस्तरीय भएको विश्वास गरिन्छ । तर नेपालमा अहिलेसम्म आईएसओ १५१८९ प्रमाणपत्र प्राप्त ल्याब छैनन् ।  मुलुकमा आईएसओ १५१८९ प्रमाणपत्र दिने निकाय पनि छैन । यो निकाय कुनै सरकारको मातहतमा नभएर अन्तर्राष्ट्रियस्तरबाट नै मान्यता पाएको स्वतन्त्र निकाय हुन्छ । आईएसओले प्री—एनलाइटिकलदेखि एनालाइटिकल र पोष्ट एनालाइटिकलसम्मको चरणसम्म ठीक भएनभएकोे हेर्नेगर्छ । यसबाट ल्याबहरुको स्टैण्डर्ड बढ्छ । त्यसैले यसतर्फ मुलुकमा भएका ल्याबहरु अग्रसर हुन जरुरी छ ।पोष्ट एनालाइटिकल (नमूना परीक्षणपछि)
    यसमा प्राविधिक र ल्याबोरेटोरी डाक्टर (मेडिकल स्पेशलिष्ट),LIMS टेक्नोलोजीको भूमिका महत्वपूर्ण हुन्छ । यस चरणमा निस्कको परिणामलाई भेरिफाई गर्न जरुरी छ । यसका लागि टेष्टको परिणामलाई उपचार गर्ने डाक्टरले दिएको जानकारीसँग मिलाएर ट्याली अर्थात को—रिलेट गर्नुपर्छ । को—रिलेट गर्ने क्रममा डाक्टरले दिएको जानकारीसँग ल्याब रिपोर्ट नमिलेमा पुनः प्री—एनालाइटिकल र एनालाइटिकल चरणमा फर्केर विश्लेषण गर्नुपर्छ । यदि एनालालइटिकल र प्रीएनालाइटिकल चरण ठीक भएमा र सोही परिणाम निस्केमा क्लिनिसियनसँग बिरामीको लक्षणका बारेमा परामर्श लिनु वा दिनुपर्छ । त्यसैले उपचार गर्ने डाक्टरले बिरामीको सम्पूर्ण लक्षण लेखेर पठाउन जरुरी हुन्छ ।
    नेपालको कुरा गर्नुपर्दा, ल्याबोरेटोरीमा आउने अधिकांश टेष्ट क्लिनिकल इन्फर्मेसन रिपोर्ट बिना नै आइरहेका हुन्छन् । अधिकांंश रुपमा ल्याब टेष्टका लागि क्लिनिकल इन्फर्मेसन पठाउने गरेको पाइँर्दैन । त्यसैले ल्याब रिपोर्टमा शुरु चरणदेखि नै गलत प्रक्रिया शुरु हुँदा कहिलेकाँही समस्या पर्नसक्छ । त्यसैले उपचार गर्ने डाक्टरले राम्रो क्लिनिकल जानकारी पठाउने र टेष्टका लागि विधि पनि उल्लेख गरिदिएमा अझ प्रभावकारी हुनसक्छ ।ल्याबोरेटोरी गाइडलाइन बिरामीको हकमा हुनुपर्छ
    अहिले नेपालमा सबैखालका मेडिकल ल्याबलाई समेट्ने गरी ल्याबोरेटोरी गाइडलाइन बन्दै छ । गाइडलाइन जहिले पनि बिरामीको स्वार्थलालाई केन्द्रमा राखेर बनाइनुुपर्छ । गाइडलाइन बनाउँदा विश्वव्यापी रुपमा मान्यताप्राप्त विशिष्ट गाइडलाइनहरुमा ध्यान दिनुपर्छ । छिमेकी भारतलगायत अन्य देशहरुको अनुभवले के भन्छ भने, आईएसओ १५१८९ को आधारमा ल्याबोरेटोरी गाइडलाइन बनाएको अवस्थामा बिरामीले दुःख पाउने अवस्थाको न्यूनिकरण हुँदै जान्छ । यदि आईएसओ १५१८९ लाई नसमातीकन पेशाको आधारमा गाइडलाइन बनाएमा बिरामीले कहिल्यै पनि स्तरीय ल्याब रिपोर्ट पाउँदैनन् ।
    बिरामीको सन्दर्भमा, नागरिकको रुपमा उनीहरु पनि सचेत हुनुपर्छ । नबुझेको कुरा सोध्ने बिरामीको  अधिकार हो । गलत भएपछि पश्चाताप गर्नुभन्दा आफूले नबुझेका सबै कुरा सम्बन्धित ठाउँमा सोध्न वेश हुन्छ ।
    ल्याब टेष्ट गर्न दिँदा बिरामीले सोध्नुपर्ने महत्वपूर्ण प्रश्न होः यो आईएसओ १५१८९ सर्टिफाइड ल्याब हो ? नेपालमा हासमम्म त्यस्तो ल्याब नभए पनि बिरामीले बारम्बार त्यो प्रश्न सोधेमा अस्पताल प्रशासन र लगानीकर्ताहरुलाई त्यस्तो सर्टिफिकेट लिन उत्प्रेरणा मिल्छ ।
    हरेक अस्पताल र पोलिक्लिनिकमा राखिएका ल्याबहरुले प्रयोगशालालाई सजिलै पैसा कमाउने विभागको रुपमा मात्र नलिई बिरामीको उपचारसँग संलग्न हुने अभिन्न अंग मान्नुपर्छ र अस्पताल र पोलिक्लिनिहरुमा राखिएका ल्याबहरु उच्चस्तरको बनाउन प्रयास गर्नुपर्ने हुन्छ । ल्याबलाई वास्तवमै नाफामुलक भन्दा सेवामुलक बनाउनुपर्छ । यसका लागि उच्चस्तरीय विधि प्रविधि र जनशक्तिको व्यवस्था गर्नुपर्छ ।
    अन्त्यमा उपचार गर्ने क्लिनिसियन र महत्वपूर्ण जाँचहरु गर्ने तथा अरु जाँचको मूल्यांकन र सुपरीवेक्षण गर्ने ल्याबोरेटोरी डाक्टरबीच समन्वय हुन अत्यन्त जरुरी छ । यसबाट सम्बन्धित रोगको ल्याब रिपोर्ट गुणस्तरीय र विश्वसनीय हुन्छ ।
NH
turup
प्रतिक्रिया दिनुहोस्