Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मेरो शरीरका लागि ‘नो कम्प्रमाइज’



नामः मनिषा घिमिरे पेशाःटेलिभिजन पत्रकारिता उचाई— ५ फिट ४ इञ्च अहिलेको शारीरिक तौलः ५५ के.जी.
नामः मनिषा घिमिरे
पेशाःटेलिभिजन पत्रकारिता
उचाई— ५ फिट ४ इञ्च
अहिलेको शारीरिक तौलः ५५ के.जी.

मनिषा घिमिरे टेलिभिजन पत्रकारितामा स्थापित पत्रकार हुन् । विशेषगरी नेपाल टेलिभिजनका दर्शकहरुबीच परिचित अनुहार हो उनको । पछिल्लो समय टेलिभिजन पत्रकारितासँगै महिला अधिकारको अभियानमा पनि लागेकी छन् । ३ वर्षदेखि इनिसिएटिभ्स अफ मिडिया वुमन (महिला सञ्चारकर्मीहरुको सक्रियता) नामक सामाजिक संस्थाको अध्यक्षका रुपमा उनको सक्रियता बढेको छ । जसरी पेशागत रुपमा सक्रिय छन्, शारीरिक रुपमा पनि मनिषा स्मार्ट देखिन्छिन् । उनी आफ्नो शारीरिक स्वास्थ्यप्रति निकै सचेत छिन् । आफू स्वस्थ रहन उनले शारीरिक फिटनेशलाई बिगत २५ वर्षदेखि निरन्तरता दिँदै आएकी छन् ।
नियमित शारीरिक व्यायामले उनको शरीरलाई सधैं हल्का र तौल नियन्त्रण गर्न सघाएको छ । आफू स्वस्थ र स्मार्ट रहनुपर्छ भन्ने मान्यता राख्ने मनिषा हरेक दिन दुई घण्टा शारीरिक अभ्यास गर्छिन् । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको ज्यास्मिन फिटनेश तथा स्पा सेन्टरमा उनी हरेक दिन २ घण्टा आफ्नो समय शारीरिक व्यायाममा खर्च गर्छिन् । शारीरिक फिटनेशका लागि पारिवारिक सपोर्ट छ मनिषालाई ।
कार्यालयबाहेक छुट्याइएको समय परिवारका लागि हुने भएकाले यसबाट पनि केही समय आफ्नो लागि छुट्याउनु कम्ति चुनौति हुँदैन । ‘तर मलाई परिवारको सहमति, समर्थन र सहयोग भएकै कारण आज आफ्नो लागि केही समय दिन सकेकी छु र शरीरलाई सन्तुलिन बनाउन सफल भएकी छु’ उनी भन्छिन् । आखिर मनिषाको फिटनेसको राज के हो त ? पढौं उनकै शव्दमा ।
जागरुकता
२५ वर्षदेखि शारीरिक व्यायाम गर्दै आएकाले यो मेरा लागि दिनचर्या नै बनिसकेको छ । वास्तवमा मनैदेखिको जागरुकताले मलाई यहाँ ल्याउँछ । बिहान अल्छी लागेर ओछ्यानमै पल्टिरहन पनि मन लाथ्यो होला तर मनलाई अलिकति जागरुक बनाएकी छु । यसले सञ्चार क्षेत्रमा आफ्नो अस्तित्व कायम राख्न सफल पनि भएकी छु । शारीरिक व्यायाम गरिसकेपछिको फाइदाहरुलाई महसुस गरेकी छु । त्यसैले मनदेखि नै “चाँडै उठौं र शारीरिक ब्यायाम गर्न जाऔं ” भन्ने भावना आउने गर्छ । शारीरिक व्यायाम नगरेको दिन म दिनभर सक्रिय र फ्रेस हुनै सक्दिन । व्यायाम नगरेको समयमा त कहिलेकाँही रातमा निद्रा पनि पर्दैन । त्यसैले हरेक दिन एकपटक शरीरबाट खलखल पसिना निकाल्न म कञ्जुस्याईं गर्दिन । यसबाट शरीरभित्र रहेका टक्सिनहरु  बाहिर निकाल्न मद्धत गरेको छ । हरेक व्यक्तिले हरेक दिन खलखल पसिना निकाल्नु शरीर र स्वास्थ्यका लागि अति आवश्यक छ ।
 उपलब्धी
हामीहरु धेरै तनाव लिएर बाँचिरहेका छौं । कतिपय तनाव अनावश्यक हुन्छन् तर पनि हामी त्यसबाट मुक्त हुन सक्दैनौं । तर ब्यायामले मलाई तनावसँग संघर्ष गर्न सिकाएको छ । ब्यायामले मलाई जुझारु राख्न मद्धत गरेको छ । लामो समयदेखि टेलिभिजनमा समाचार पढ्दा पनि दर्शकले जस्ताको त्यस्तै देख्ने कारण पनि मेरो शारीरिक व्यायाम र फिटनेशकै देशन हो । त्यसैले फिटनेसले मलाई निकै आत्मविश्वास बढाएको छ । अहिलेसम्म आफ्नो पेशालाई निरन्तरता दिन सक्नु, हरेक दिन सक्रियताका साथ काम गर्न र फ्रेस रहन सक्नुको श्रेय व्यायामलाई दिने गरेको छु ।
अनुभव
कहिलेकाँही यात्रामा हुँदा र खानपानमा लापरवाही गर्दा तौल बढ्छ । शरीरको तौल नियन्त्रण गर्न व्यायाम मात्र गरेर हँुदैन । खानपिनमा नियन्त्रण गर्नैपर्छ । शरीरको तौल नियन्त्रणका लागि २० प्रतिशत शारीरिक व्यायाम भएपनि ८० प्रतिशत खानपान नै हो । त्यसैले शारीरिक व्यायामका साथै आफ्नो खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । तौल बढ्ने खालका खानामा लोभ गर्न हँुदैन ।
व्यायामका प्रकार
हतार छ भने ट्रेड मिलमा दौडेर मात्र जाने गर्छु । समय भएको बेलामा वेट्स ट्रेनिङ गर्छु ।  म हरेक दिन फरफरक अभ्यास गर्छु । कुनै दिन हातको वेट्स टे«निङ लिएकी छु भने अर्को दिन गोडाको वेट्स लिन्छु । कुनै दिन दौडिने गरेकी छु भने अर्को दिन क्रस ट्रेनर गर्छु । बेला बेलामा जुम्बा डान्स गर्छु । कहिले एरोबिक्स गर्छु त कहिले वुठ क्याम्पअन्तर्गत स्ट्रेच गर्ने एक्सरसाइज पनि गर्छु । हरेक दिन मेरो फरफरक ब्यायाम हुने गर्छ । मलाई नयाँ नयाँ एक्सरसाइजमा सहभागी हुन मन लाग्छ ।
विशेष खानपान
शारीरिक व्यायाममा विशेष खानपानको जरुरत पर्छ । हेभी एक्सरसाइजमा प्रोटिन चाहिन्छ । एक्सरसाइज गर्ने व्यक्तिले सन्तुलित भोजन लिन जरुरी हुन्छ । त्यसैले ब्यालेन्स डायट र एक्सरसाइजलाई सन्तुलनमा राख्न सक्नुपर्छ । एक्सरसाइज धेरै गरेर खाना नखाएमा शरीरलाई भार पर्नसक्छ । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो शरीरलाई तपाईंले सुन्नुपर्छ । शरीरले अप्ठेरो महशुस गरेका कडा शारीरिक व्यायाम गर्न हुँदैन । म सकेसम्म घर बाहिरको खाना पनि खाँदिन । एकैपटक धेरै खान हुँदैन । बेला बेलामा खाने तर थोरै मात्र ।
खाना तालिका
बिहान
सुक्खा रोटी, तरकारी, दाल ।
दिउँसो
घरबाट बनाएर लगेको सुक्खा रोटी, तरकारी र फलफूल ।
बेलुका
उसिनेको तरकारी वा सुप खाने गर्छु । कहिलेकाँही फलफूल पनि खाने  गर्छु । हरेक दिन बेलुका एक गिलास दूध पिउन छुटाउँदिन ।
तीनतिरका प्रयास
मानिस गतिवान हुनुपर्छ । आफ्नो शरीरलाई यथास्थितिमा राख्न घर, कार्यालय जहाँ पनि व्यायाम गर्न सकिन्छ । आफूलाई जहिले पनि चलायमान राखिरहनुपर्छ । घरमा दौडिन, तलमाथि गर्न पनि सकिन्छ । दराज सफा गर्दा, बाथरुम सफा गर्दा जस्ता कुरामा पनि एक्सरसाइज हुने गर्छ । टेलिभिजन हेर्दा हेर्दै पनि केही गर्न सकिन्छ । हरेक दिन १५ मिनेट योग स्ट्रेच गर्न सकिन्छ । खानपानमा नियन्त्रण गर्र्नुपर्छ । जहाँ इच्छा त्यहाँ उपाय भन्ने हाम्रो नेपाली उखान नै छ । त्यसैले आफ्नो शारीरिक फिगरलाई याथास्थितिमा राख्न जुन बेला जसरी पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्