Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोइराला परिवारमा चार पुस्ते क्यान्सर



जनस्वास्थ्य सरोकार काठमाडौं । क्यान्सर प्राणघातक रोगमात्र हो कि परिवार घातक पनि ? यो प्रश्न चिकित्सा विज्ञानमा पनि बेला बेलामा Cancer-Cells-White (1)उठ्ने गरेको छ । क्यान्सरको संक्रमण बंशाणुगत हुन्छ भन्ने बारेमा विज्ञहरुले धेरै अध्ययन पनि गरिसकेका छन् । यदि बंशाणुगत रोग हो भने नेपाली राजनीतिको केन्द्रभागमा रहदै आएको कोइराला परिवार क्यान्सरको संक्रमणबाट पिडित एउटा हाइ प्रोफाइल परिवार हो । किनकी यो परिवारका एक दर्जन भन्दा बढि सदस्यहरु ५० वर्षको अवधिमा क्यान्सरकै कारण मृत्यु भोगिसकेका छन् भने केही सदस्य अहिले पनि क्यान्सरसँग जुधिरहेका छन् ।

राणा शासनको बेलादेखिनै नेपाली राजनीतिमा प्रभाव जमाउँदै आएको कोइराला परिवारमा क्यान्सरको संक्रमण कहिले भयो भन्ने यकिन तथ्य छैन । पहिलेका पुस्ताहरु कुन रोगले मरे भन्ने कुनै प्रमाण छैन । तर प्रमाणित भएको तथ्यका आधारमा हेर्ने हो भने चार जना प्रधानमन्त्री जन्माउने कोइराला परिवारमा आमाहरुको बंशाणुबाट क्यान्सर प्रवेश भएको दावी कोइराला परिवारको दोस्रो पुस्ताका जेष्ठ सदस्य कमल प्रसाद कोइराला बताउँछन् ।
पिताजी कृष्णप्रसाद कोरालाका तीन भाइ छोरा मातृका, विपी र गिरिजाप्रसाद कोइराला यो मुलुकको प्रधानमन्त्री भए । त्यस्तै पिताजीका सालीका छोरा अर्थात वीपी कोइरालाका सानिमाका छोरा सुशील कोइराला अहिले मुलुकको प्रधानमन्त्री छन् । संयोगनै मान्नुपर्छ वीपी र गिरिजाप्रसाद कोइरालाको निधन क्यान्सरबाटै भयो भने सुशील कोइराला क्यान्सरसँग जुधिरहेका छन् । मातृका प्रसाद कोइराला भने पिताजी कृष्णप्रसादकी जेठी श्रीमतीबाट जन्मिएका हुनाले उनमा क्यान्सर देखिएन । वीपी,गिरिजा र सुशीलका आमा भने दिदी बहिनी हुन् ।
कोइराला परिवारको तेस्रो पुस्ताका जेष्ठ सदस्य कमल प्रसाद कोइरालाका अनुसार यो परिवारमा क्यान्सर वंशाणुगत रोग बनिसकेको छ । कमल कोइराला, नेपालको खानदानी कोइराला परिवारका एकमात्र कम्युनिस्ट सदस्य हुन् । उनका अनुसार मातृका प्रसाद कोइरालाका छोरी अर्थात उनका दुई दिदी बहिनी सबिता र कबिताको समेत क्यान्सरबाटै ज्यान गएको थियो । उनले सम्झिए अनुसार कोइराला परिवारमा सबैभन्दा पहिले वीपी र सुशीलकी सानिमालाई क्यान्सर भएको थियो । वीपी कोइराला र सुशील कोइराला एकै दिदी बहिनीका छोरा हुन् । दुम्जाली कोइराला भए पनि उनीहरुको नाता कोइराला परिवारबाट भन्दा मावलीतिरबाट नजिक भएको हो । ‘बीपीका चारै दाजुभाइ Lungs cancerक्यान्सरबाट बिते’ कमल कोइराला भन्छन् ‘सुशीलका पनि दुवै दाजु क्यान्सरकै कारण गए’ ।

क्यान्सरको आक्रमण
पिताजी कृष्णप्रसाद कोइरालाका कान्छी श्रीमतीका छोराहरुमध्ये वीपी कोइराला, केशव कोइराला, तारिणी कोइराला र गिरिजाप्रसाद कोइराला चारै भाइको मृत्युको कारण क्यान्सर बन्यो । त्यस्तै सुशील कोइरालाका पनि दुई दाजुहरु प्रमोद र बिनोदको क्यान्सरबाटै निधन भएको थियो । यसै वर्ष निधन भएका कोइरालाका भाइ अरुण कोइरालाको पनि फोक्सोमा क्यान्सर देखिएको थियो । यो परिवारमा क्यान्सर देखिने सुशील चौथो भाइ हुन् । पिताजी कृष्णप्रसादका छोरामध्ये मातृका प्रसाद कोइरालालाई मात्र क्यान्सर भएन । उनी अर्कै श्रीमतीबाट जन्मिएका हुन् ।
कोइराला परिवारको तेस्रो पुस्तामा पनि क्यान्सर देखियो । तारिणीप्रसाद कोइरालाकी छोरी कल्पना बस्नेत कोइरालाको पनि क्यान्सरबाटै निधन भयो । त्यस्तै विपी कोइरालाकी बहिनी बिजयालक्ष्मीको मृत्युको कारण पनि क्यान्सर बन्यो । ‘पिताजी र मेरी हजुरआमातिर क्यान्सर देखिएको थिएन तर वीपी र सुशीलको मावलीतिरबाट कोइराला परिवारमा क्यान्सर प्रवेश गरेको भन्ने गरिन्छ’ कमल कोइराला भन्छन् ।

वंशाणुगत पनि हुन्छ क्यान्सर
विज्ञहरुका अनुसार क्यान्सर रोग नभई एउटा डरलाग्दो संक्रमण हो । यो सरुवा रोग होइन तर यसले पुस्ता हान्न सक्छ । भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टर विश्वराम पौडेल क्यान्सर वंशाणुगत रोग नभए पनि कतिपय परिवारमा यसले पुस्ता हानेको छ । ‘मैले बिरानगरको एउटा परिवारमा यस्तै पुस्तौनी क्यान्सरका विरामी भेटेको छु’ पौडेलले भने ‘हजुरआमा र आमा हुदै एकै परिवारका तीन बहिनीलाई स्तन क्यान्सर भेटियो’ ।
क्यान्सर सम्बन्धी बिभिन्न अध्ययनहरका आधारमा यसले ‘जेनेटिक’ गुण लिएको पाइएको छ । ‘विशेषगरी स्तन क्यान्सर र आन्द्राको क्यान्सर चाहिँ परिवारको एउटा सदस्यलाई छ भने त्यो अर्को पुस्तामा समेत सर्ने गरेको अध्ययनहरुले देखाएका छन्’ पौडेलले भने ‘कोइराला परिवारका सदस्यहरु क—कसलाई कुन कुन क्यान्सर भएको हो त्यसको त अलग्गै अध्ययन गरेर मात्र भन्न सकिन्छ’ ।
मनिषा पनि पीडित

विशेषज्ञले यसो भनिँरदा कोइराला परिवारकै चौथो पुस्तामा क्यान्सर प्रवेश गरिसकेको छ । विपीकी नातिनी तथा प्रकाश कोइरालाकी छोरी मनिषा कोइराला क्यान्सर पीडित भएर अमेरिकामा उपचार गराएकी छिन् । मनिषा बाहेक कोइराला परिवारका चौथो पुस्ताका अन्य सदस्यमा भने अहिलेसम्म क्यान्सर संक्रमण नदेखिएको मातृकाकी नातिनी तथा कमल कोइरालाकी छोरी रिचाले बताइन् ।

कोइराला परिवारमा क्यान्सर
पहिलो पुस्ता
वीपी कोइरालाकी आमा
सुशील कोइरालाकी आमा
दोस्रो पुस्ता
विश्वेश्वर प्रसाद कोइराला
तारिणीप्रसाद कोइराला
केशवप्रसाद कोइराला
गिरिजाप्रसाद कोइराला
बिजयालक्ष्मी कोइराला
सुशील कोइराला
विनोद कोइराला
प्रमोद कोइराला
अरुण कोइराला
तेस्रो पुस्ता
कल्पना बस्नेत कोइराला
सबिता कोइराला
कबिता कोइराला
चौथो पुस्ता
मनिषा कोइराला

प्रतिक्रिया दिनुहोस्