Logo
|
Thursday 19th September 2019
NEWS PAPER

स्वाइनफ्लुबाट आत्तिनु र तर्सिनु पर्दैन-डा. बाबुराम मरासिनी



Dr Baburam Marasani
डा. बाबुराम मरासिनी निर्देशक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

स्वाइन फ्लु नियन्त्रणका लागि सरकारले के कस्ता पहल गरिरहेको छ ?
सबै मानिसमा यो कडा खालले प्रस्तुत हुँदैन । मानिसहरुमा सामान्य रुघाखोकीको रुपमा आउने जाने गर्छ । यसले खासै ठूलो असर गर्दैन । ५—७ दिनमा यो आफैं निको भएर जान्छ । कुनै कुनै जोखिम समूहलाई स्वाइन फ्लुको भाइरसले चाँडै आक्रमण गर्छ । कुपोषित बालबालिका, गर्भवती महिला, छातिको पुरानो दमखोकी, मिर्गौलाको पुरानो रोग, कलेजोको पुराना रोग, धेरै रक्सी र चुरोट सेवन गर्ने मानिस, मोटा व्यक्ति, एचआईभी एड्ड संक्रमित, अशक्त बृद्धबृद्धा आदि स्वाइनफ्लुका जोखिम समूह हुन् । त्यसैले उनीहरुमध्ये केहीमा यो रोग कडा रुपमा प्रस्तुत हुनसक्छ किनभने यस्ता व्यक्तिमा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता घटेको हुन्छ । तर कडा भन्दैमा यसबाट व्यक्तिको मृत्यू हुन्छ भन्ने छैन । अतः समयमै यसप्रति सजग भई समयमा परीक्षण गराई उपचार पाएमा यो रोग पूर्णरुपमा ठीक हुन्छ ।

मुलुकमा स्वाइन फ्लु भित्रिनबाट रोक्न के कस्ता पहलकदमी भइरहेको छ ?
क्वारेन्टाइन चेकपोष्टहरुमा क्वारेन्टाइन गर्नसक्ने अवस्था त छैन तर हामीले धेरैजसो नाकाहरुमा राखिएका हेल्थ डेस्कहरुमा स्वाइन फ्लु लागेका मानिस भेटिएका छैनन् । नाकाहरुमा हालसम्म ९ सय जनामा भएको परीक्षणमा स्वाइनफ्लु भेटिएको छैन । हेल्थ डेक्समार्फत आम सर्वसाधारणमा जनचेतना जगाउने कार्य व्यापक रुपमा भइरहेको छ ।
अतः मास्क लगाउने, आफूलाई शंका लागेमा अस्पताल जाने, स्वाइनफ्लु लागेका व्यक्तिहरुबाट एक मिटर टाढा रहने, हात नमिलाउने, नमस्कार गर्ने, रुमालले मुख छोपेर खोक्ने, अफ्टयारो परेमा अस्पताल जाने र घरमा छुट्टै कोठामा सुत्ने गर्नुपर्छ ।
स्वाइनफ्लुका लागि क्वारेन्टाइन गरेर आइसोलेसनमा राख्न जरुरी छैन । यो कतिबेला सर्छ भन्नै सकिँदैन । हाँछ्यू गर्दा सर्छ । हातमा स्वाइनफ्लुका भाइरस ५ घण्टासम्म जीवित रहन्छन् र हरेक हात मिलाउने मानिसलाई स्वाइन फ्लु संक्रमण हुन्छ ।
गृह मन्त्रालयको समन्वय र सहकार्यमा अहिले ७५ जिल्लाका सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई र पाँचै क्षेत्रीय प्रशासकहरुलाई स्वाइनफ्लुको समस्या न्यूनिकरणका लागि सजग र सचेत गराएको छ । जिल्लामा रहेका विपत व्यवस्थापन समितिले स्थानीयस्तरमा जनचेतना जगाउने, अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने, स्वाइनफ्लुका बिरामीहरु आएमा शैयाहरु छुट्याएर राख्ने काम भइरहेको छ । विभिन्न ठाउँमा हेल्थ डेस्कहरु राख्ने कार्यमा जिल्ला प्रशासन कार्यालयहरुबाट ठूलो सहयोग मिलिरहेको छ ।

अहिलेसम्म कतिलाई रोगको संक्रमण देखिएको छ ?
अहिलेसम्म ल्याब टेष्ट भएकामध्ये देशभर १ सय ३५ जनालाई स्वाइन फ्लु देखिएको छ । यसमध्ये भारतीय नागरिक ५ जना रहेका छन् । अहिले अलि धेरै स्वाइनफ्लुको समस्या काठमाडौंमा देखिएको छ । त्यसपछि पोखरा र चितवन शहर रहेका छन् । नेपालमा सन् २००९ पहिलोपटक स्वाइन फ्लु देखिएको थियो । त्यो बेलामा ४ जनाको मृत्यू भएको थियो । गत वर्षमात्र करिब ३ सय जनालाई स्वाइनफ्लु भएको ल्याब टेष्टबाट प्रमाणित भएको थियो भने स्वाइनफ्लुकै कारण १८ जनाको ज्यानसमेत गयो ।

महामारी हुनसक्ने संभावना कतिको छ ?
काठमाडौंमा यसले महामारीको रुप लिन सक्दैन । यहाँ वर्षेनी स्वाइनफ्लुको समस्या भइरहेको छ र यो बिस्तारै आफैं नियन्त्रणमा आएको छ । एकपटक स्वाइनफ्लु संक्रमण भएका व्यक्तिलाई पुनः संक्रमण हुनसक्ने खतरा छैन । तर यो सँधै यस्तै रहला भन्न सकिदैन किनभने इन्फ्लुएन्जा भाइरसको आनुवांशिक परिवर्तन भइरहने कारण पहिला भएको भाइरस र पछिको भाइरस एकदमै फरक खालको भएमा पुरानो एन्टिबडीले काम नगर्न पनि सक्छ ।
जनवरी महिनामा मात्र हामीले संयुक्त रुपमा इन्फ्लुएन्जा र इबोला भाइरसबारे निजी तथा सरकारी अस्पतालका करिब ४ सय स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका छौं । यसमा नर्स, विभिन्न चिकित्सक र ल्याबसम्बन्धित व्यक्तिहरु पनि रहेका छन् । यसबाट पनि स्वाइनफ्लुको नियन्त्रण र न्यूनिकरणमा निकै सहयोग पुगेको छ ।

जनस्वास्थ्य सरोकारका पाठकहरुलाई यहाँको सन्देश के छ ?
स्वाइनफ्लु डराएर र तर्सेर हिँड्नुपर्ने रोग होइन । कुनै डर र चिन्ता मान्नुपर्दैन । रुघाखोकी लागेमा घरमा बस्ने, सामान्य खाना खाने, पानी धेरै पिउने, घरमा आराम लिने, ज्वरो आएमा सिटामोल खाने, कुनै अफ्ट्यारो महसुस भएमा चिकित्सकलाई जँचाउने, एक हप्ताभित्र स्वाइनफ्लुका सबै भाइरस हटिसक्छन् । स्वाइनफ्लु संक्रमण भएको २४ घण्टाभित्र सबैभन्दा धेरै समस्या गराउने संभावना रहनसक्छ । त्यसपछि यसले जटिल संक्रमण गराउने संभावना घटेर जान्छ । अतःअरुबाट भाइरस सर्ने संभावना रहेकाले कसैसँग हात मिलाएमा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । अतः
-हाँछ्यू गर्दा खोक्दा रुमालको प्रयोग गर्नुस्
– जथाभावी सिंगान खकार नफाल्ने
-रुघा अवधिमा सार्वजनिक बस नचढ्ने
– रुघा अवधिभर आफ्नो काममा नजाने

NH
turup
प्रतिक्रिया दिनुहोस्