Logo
|
Friday 29th March 2024
Logo

epaper

पूर्वाधारबिना मेडिकल कलेजको सम्बन्धन लिने दौडधुप



काठमाडौ, चैत्र १३ चिकित्सक गोविन्द केसीले गत वर्ष अनशन बस्दा काठमाडौं उपत्यकाभित्र प्रस्तावित चार मेडिकल कलेजले सम्बन्धन मागेका थिए। हाल दुई मेडिकल कलेज सम्बन्धनको दौडबाट टाढा छन्। दुई अझै प्रयासरत छन् तर तिनका पनि पर्याप्त जनशक्ति र पूर्वाधार छैनन्।

तटस्थ भएर निरीक्षण र मापदण्ड अध्ययन गरे उपत्यकाका प्रस्तावित कुनै मेडिकल कलेज सम्बन्धनयोग्य नभएको नेपाल मेडिकल काउन्सिलका जानकार बताउँछन्। पूर्वाधार र त्यसको क्षमताबारे बारम्बार प्रश्न उठेपछि दुई मेडिकल कलेजले आक्रामक भएर सम्बन्धनको प्रयास गर्न सकेका छैनन्। बाँकी दुई मेडिकल दौडधुपमा जबर्जस्ती लागेका छन, काउन्सिल स्रोतले भन्यो, तर यथार्थमा उनीहरूको पनि पूर्वाधार पुग्दैन। मेडिकल कलेजलाई चाहिने आवश्यक न्यूनतम पूर्वाधारमा दुवै अयोग्य छन्। भौतिक पूर्वाधार भए पनि प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजमा मापदण्डअनुरूप आवश्यक चिकित्सक नरहेको त्रिवि चिकित्सशास्त्र अध्ययन संस्थान आईओएम का एक चिकित्सकले बताए। सय रोपनीको क्षेत्रफल, भवनलगायत भौतिक पूर्वाधार भएको मनमोहनमा चिकित्सकहरूकै अभाव छ। मनमोहनमा शय्याअनुसार बिरामीको चाप पनि छैन,कान्तिपुरमा छ ।

आईओएम स्रोतका अनुसार कुल शय्याको ७० प्रतिशत बिरामी हुनुपर्ने मापदण्ड पालनाका लागि मनमोहन असफल छ। बिरामीको चाप नभए सम्बन्धनका लागि स्वतः अयोग्य हुन्छ।

एउटा मेडिकल कलेजमा बेसिक साइन्स, क्लिनिकल साइन्सलगायतका विभागमा गरेर कुल एक सय अध्यापक आवश्यक पर्छ। मनमोहनले तोकिएको मापदण्डअनुसार चिकित्सक संख्या पुर्‍याएकै छैन, आईओएमका ती चिकित्सकले भने, अध्यापक चिकित्सक आधा पनि छैनन्, जबर्जस्ती खडेबाबा उभ्याए मात्रै संख्या पुग्छ। मेडिकल कलेजहरूमा मापदण्ड पुर्‍याउन जबर्जस्ती उपस्थित देखाउने नक्कली चिकित्सकलाई खडेबाबा भनिन्छ।

एमाले नेताद्वय राजेन्द्रप्रसाद पाण्डे, डा. वंशीधर मिश्रलगायत सम्मिलित सहकारीद्वारा सञ्चालित मनमोहनले हाल पूर्वाञ्चल विश्वविद्यालयबाट प्यारामेडिकल कोर्स सञ्चालन गरिरहेको छ। दुई वर्षअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धनको प्रयास गरेका मनमोहनका सञ्चालकहरूले त्यतिबेला नियुक्तिलगत्तै विवादमा परेकी उपकुलपति डा. सगीता भण्डारीलाई साथ दिएका थिए। एमाले कोटामा नियुक्त उपकुलपति हीराबहादुर महर्जनको उद्देश्य आफ्नो कार्यकालको अन्तिमसम्ममा जसरी पनि मनमोहनलाई सम्बन्धन दिनु हो, आईओएमका ती चिकित्सकले भने।

सम्बन्धनकै दौडमा रहेको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज अपार्टमेन्टका लागि निर्मित भवनमा सञ्चालित छ। यसमा आकस्मिकलगायत बेसिक साइन्स, शैक्षिकलगायतको छुट्टै भवन र अन्य पूर्वाधार छैन। अस्पताल सञ्चालकले समेत सडकछेवैमा सवारीसाधन पार्किङ गर्नुपर्ने अवस्था छ। एक सय रोपनीको मापदण्ड पुर्‍याउन उक्त कले जले ललितपुर चक्रपथबाहिर इमाडोल क्षेत्रमा जग्गा देखाएको छ। तोकिएको पूर्वाधार भएको जग्गा मूल भवनको १० किलोमिटरवरपर हुनुपर्छ, काउन्सिल स्रोतले भन्यो, १२ किलोमिटरभन्दा टाढाको जग्गा देखाएर जबर्जस्ती सम्बन्धन लिन खोजिँदै छ। अख्तियार स्रोतका अनुसार काठमाडौं नेसनलमा पूर्वाधारबाहेक शय्या, चिकित्सक र बिरामीको चाप पनि मापदण्डअनुसार पर्याप्त छैन।

मेडिकल कलेजहरूको अनुसन्धानका क्रममा विज्ञका रूपमा अख्तियारमा परामर्श दिइसकेका एक चिकित्सकका अनुसार अध्यापकहरू नै प्रस्तावित मेडिकल कलेजका प्रमुख समस्या हुन्। ुनिरीक्षणमा कडाइ गरेपछि खडेबाबा उभ्याउने समस्या केही हटेको छ, ती चिकित्सकले भने, कलेजहरूले एउटा अध्यापकलाई नै तीन ठाउँमा देखाउने गरेका छन्।
मेडिकल शिक्षा विस्तारको सवालमा कलेजको पूर्वाधारलगायतका मापदण्ड मात्रै पर्याप्त नहुने नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष दामोदर गजुरेल बताउँछन्। ुमेडिकल कलेजहरू पूर्वाधारयुक्त नहुनु एउटा पाटो हो। तर, उनीहरू स्रोत साधन सम्पन्न हुँदैमा मात्रै पनि विस्तार हुन सक्ने अवस्था छैन, गजुरेलले कान्तिपुरसित भने, पर्याप्त जनशक्तिको व्यवस्थाबिना आईओएम आफैंले नियमन गर्न नसक्ने भएकाले पूर्वाधार पुगे पनि सम्बन्धन दिन सकिने देखिँदैन। सरकारले विश्वविद्यालयको मागबमोजिम जनशक्तिलगायतका स्रोत साधन उपलब्ध गराउनुपर्ने उनले बताए।

गत वर्षदेखि सम्बन्धनका लागि प्रयासरत पिपुल्स मेडिकल कलेजले सर्वोच्च अदालतबाटै अन्तरिम आदेश पाइसकेको छ। पूर्वाधार नपुगेर ७५ बाट ६० को विद्यार्थी कोटामा सीमित भएको पिपुल्सले एउटै पूर्वाधार दुईतिर देखाउने गरेको भेटिएको थियो। पिपुल्समा देखाइएका डाक्टरहरू पनि खडेबाबा भएको पुष्टि भएको थियो, काउन्सिल स्रोतले भन्यो। आईओएमका निमित्त डिन भएका बखत रतेन्द्र श्रेष्ठले पिपुल्सलाई प्रारम्भिक अनुमति दिएका थिए।

निजीसरहको शुल्क लिने ध्येयका साथ कल्याणकारी कोषबाट मेडिकल कलेज सञ्चालनको योजना बनाएको नेपाल प्रहरीले खडेबाबाु प्रयोग गरेको भेटिएपछि सम्बन्धन प्रक्रिया स्थगित गरेको छ। त्यतिबेला प्रहरी अस्पतालका केही चिकित्सकले भारतको पटनाबाट विमान चार्टर गरेर फर्जी चिकित्सक उभ्याई मापदण्ड पूरा गरेको देखाउन खोजेका थिए। विवाद सार्वजनिक भएपछि नेपाल प्रहरी सम्बन्धनको दौडबाट हटेको जानकारी आईओएम स्रोतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्