Logo
|
Thursday 28th March 2024
Logo

epaper

सरकारीलाई उछिन्दै सहकारी अस्पताल



मन्थली, चैत्र १३, जिल्ला सदरमुकामको सरकारी अस्पतालका रूपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य पूर्वाधार पनि छैन। दाँत, आँखा, भिडियो एक्सरे र एक्सरे कक्षमात्र नभएको होइन, बिरामीलाई सुताउनका लागि शय्यासमेतको व्यवस्था छैन् । कोही बिरामी केन्द्रमा राखेर उपचार गराउनु पर्दा प्रसूति गराउनका लागि दिएको शय्यामा सुताउने गरिएको छ, केन्द्रकी स्वास्थ्यकर्मी चिनीमाया वल भन्छिन्, यहाँ भर्ना गरेर उपचार गराउने व्यवस्था छैन।

बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्दा प्रसूति गराउने शय्यामा राख्ने गरेका छौं। अस्पतालमा बिरामी भर्ना गरेर उपचार गराउने व्यवस्था नहुँदा सरकारले दिने जाउलो र चिया पनि केन्द्रमा मिल्दैन। पैसा तिर्न नसक्दा वर्षौंसम्म बन्द रहेको टेलिफोन लाइन बल्न चलेको छ। एम्बुलेन्स बिग्रिएर थन्किएको वषौ भयो। सर्वसाधारणलाई अपायक स्थानमा रहेको उक्त अस्पतालमा भीडभाड हुँदैन। सरकारले दिने निःशुल्क औषधिका लागि केही बिरामी आफ्नो रोग देखाउन पुग्छन्,कान्तिपुरमा छ ।

उता नजिकैको तामाकोसी सहकारी अस्पतालले सेवा प्रवाहमा प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र हैन, रामेछापको जिल्ला अस्पताललाई पनि उछिनेको छ। शय्यामा भर्ना लिने बिरामीलाई जाउलो र चियाबाहेक उपचारका अरू सबै पक्षमा सहकारी अस्पतालले सरकारीलाई उछिनेको तथ्यांक छ। सहकारी अस्पतालमा अत्याधुनिक उपकरणसहितका सेवा उपलब्ध छन्। भिडियो एक्सरे, इसीजी, डिजिटल एक्सरे, फोटोथेरापी, एम्बुलेन्स, अत्याधुनिक दाँत विभाग र आँखा उपचार कक्ष रहेको अस्पतालमा १५ शय्या छन्। फोटोथेरापी भर्खरै थपिएको अत्याधुनिक उपकरण हो। जन्मदै निमोनियाको संक्रमण भएका बालबच्चालाई फोटोथेरापी प्रभावकारी उपचार मानिन्छ। धेरै बच्चा जन्मदैको अवस्थामा हुने निमो नियाबाट ग्रस्त हुने गर्छन्।

तामाकोसी सहकारी अस्पतालका चिकित्सक डा. केशवसिं धामीका अनुसार अस्पतालमा साउनदेखियता १५ हजार बिरामीले उपचार सेवा पाएका छन्। उक्त अवधिमा निःशुल्क औषधि र उपचार पाउने सरकारी प्राथमिक स्वास्थ्य केन्द्रमा भने नयाँ र पुरानासमेत गरी पुग नपुग ८ हजार १ सयको हाराहारीमा बिरामी पुगेका छन् । सहकारीमा पुराना बिरामीको संख्या पनि अधिक छ। बिहीबार प्राथमिक स्वास्थ्य केन्द्रमा जम्मा २७ जना बिरामी पुगे भने सहकारीमा जचाउने बिरामी संख्या त्यसको दोब्बर अर्थात् ५५ पुग्यो। अस्पतालमा नियमित २ जना चिकित्सकका अतिरिक्त जर्मनबाट आउने स्वयंसेवी विशेषज्ञ चिकित्सकले रोग परीक्षण गर्छन्। सहकारी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार मन्थली वचत तथा सहकारी संस्थाका सदस्यलाई अस्पतालले उपचार सेवामा छुट दिने गरेको छ। यसका अतिरिक्त सहकारी अस्पतालले हरेक वर्ष पाठेघर झरेका महिलाको छनोट र शल्यक्रिया शिविर, हाइड्रोसिल, हर्निया र गाँठागुठीको शल्यक्रिया, दाँत र आँखाको शिविरका अतिरिक्त मृगौला र मुटुसम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविरको समेत आयोजना गर्ने गरेको छ। अस्पतालका निर्देशक डा। सुमन कर्माचार्यका अनुसार जिल्लाका महिलाको ठूलो समस्याका रूपमा रहेको पाठेघरका झन्डै ५ सय बिरामीको अस्पतालकै कक्षमा सफल शल्यक्रिया भएको छ। दुर्गम पहाडी जिल्लामा सबैभन्दा ठूलो काम त्यही हो।

स्त्रीरोग, दाँत, आँखा र हरेक प्रकारका एक्सरेको सुविधाले सहकारी अस्पताल सबैको रोजाइमा भएको हो,स्थानीय कमला माझी भन्छिन्, सहकारी अस्पताल नहुँदो हो भने धेरै बिरामी हजारौं खर्च गरेर काठमाडौं पुग्नुपर्ने बाध्यता आउँथ्यो। सामान्य रोगका बिरामी निःशुल्क औषधिका लागि सरकारी तिर जान्छन्, डा. धामी भन्छन्, यहाँ जति आउँछन् तीमध्ये धेरै जटिल समस्याका हुन्छन्। अस्पतालले मासिक झन्डै १ सय बिरामीलाई शय्यामा भर्ना गराएर उपचार गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्