Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौंका सरकारी अस्पतालको बिजोग



प्रसूति पालमा, वीरमा ताला, कान्ति ओपीडीमा, टिचिङ जेनतेन, पाटन सुरक्षित
काठमाडौं : दुई साताअघि गएको भूकम्पले भवन चर्किएपछि देशकै ठूलो एकमात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका सुत्केरी आमा खुला चौरमा रात बिताइरहेका छन्। वीरको गेटमा ताला लागेको छ।
कान्तिबालका नवजात शिशु नयाँ भवनको ओपीडीका साँघुरा कोठा छन्। मनोमोहन कार्डियो भास्कुलर थेरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरस्थित आईसीयूका बिरामी त्रिवि शिक्षणमा सारिएको अन्नपूर्ण पोष्टमा छ ।
शिक्षणकै नाककान घाटीको उपचार गर्ने भवनका बिरामी बाहिर अलपत्र छन्। सुरक्षित महसुस गर्दै पाटन अस्पतालमा बिरामीको भीड छ।
प्रसूतिको एमआईसीयू, पोस्ट अपरेटिभ वार्ड, ल्याब, वर्थिङ सेन्टर, आईभीएफ लगायत सेवा दिने भवन चर्किएपछि इन्जिनियरले जोखिमपूर्ण भन्दै रातो कागज टाँसेका छन्।
भूकम्पका बेला भर्खरै शल्यक्रिया गरेका, आफैं शिशु जन्माएका, गम्भीर अवस्थामा उपचार गराइरहेका, गर्भवती, गर्भपतन सेवाका लागि कुरेर बसेका महिला अत्तालिएर चौरमा पुगे।

कान्तिबाल अस्पतालको चर्किएको भवन देखाउँदै कर्मचारी। तस्बिर: दीपा दाहाल
कतिपय त्यतिबेलै घरतिर कुलेलम समेत ठोके। शल्यक्रियामा संलग्नबाहेक सबै नर्स र चिकित्सक बाहिर आए। चौरमा अलपत्र परेका ती बिरामीले दुई साता प्रभावकारी उपचार र हेरचाह पाएनन्।
अस्पतालको नयाँ भवनमा बिरामीलाई लगेको दुई दिनमै अर्को भूकम्प गयो। फेरि अत्तालिँदै भागेका बिरामी एउटा म्याट र त्रिपालको भरमा रात बिताइरहेका छन्। उनीहरू भित्र जान जान डराइरहेका छन्।
‘भूकम्प गएको दिन तीन तलाबाट भर्खर शल्यक्रिया गरेकी पत्नीलाई च्यापेर चौरमा आएँ’, काभ्रे देउपुरका राजेश ढकालले पत्नी निकिता र छोरालाई देखाउँदै भने, ‘कोठा नजिकै भएकाले हामीले त धन्न ओड्नेओछ्याउने ल्याउन सफल भयो, अरुको त बिजोग छ।
‘भूकम्प जाँदा म लडेकी थिएँ। साता दिनपछि मात्र पेट दुख्न थाल्यो, जाँच गर्न आउँदा शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भयो। निकालेको केहीबेरमै बच्चाको मृत्यु भयो’, काभ्रेकी अञ्जना श्रेष्ठले भनिन् ‘भित्रै थिएँ, मंगलबारको भूकम्पपछि यही चौरमा रात बितेको छ। श्रेष्ठको शल्यक्रिया गरेको ठाउँ पाकेपछि चिकित्सकले फेरि टाँका लगाउनुपर्ने बताएका छन्।
बिरामी त्रिपालमुनि छन्, अस्पतालको गेटमा र भर्‍याङमा सुतिरहेका छन्। अस्पतालका प्रशासन प्रमुख अमर अमात्यले भने जोखिम मोलेर भए पनि आफूहरूले बिरामीलाई सेवा दिइरहेको बताए। ‘सुरक्षित भवनमा सार्दा बिरामी डराएर जान मानेनन्’, उनले भने, ‘हामीले लैजान परार्मश गरिरहेका छौं। भवन चर्किएपछि हामीलाई ठूलो क्षति भयो।’
आकस्मिकदेखि लिएर क्यान्सर, मिर्गौला प्रत्यारोपण, सिटिस्क्यान, आईसीयूजस्ता महत्त्वपूर्ण सेवा दिँदै आएको वीरको भवन चर्किएपछि बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिएको छ।
जीर्ण भवन भूकम्पले सबै सेवा अवरुद्ध हुने गरी चर्काइदिएपछि त्रासमा कतिपय बिरामी त्यसै दिन डिस्चार्ज भए। भवन असुरक्षित भएपछि त्यहाँका चार सय ६० शय्या प्रयोगविहीन छन्। अस्पतालका प्रमुख डा.स्वयंप्रकाश पण्डितले सबै बिरामीलाई ट्रमा सेन्टरमा सारेर उपचार दिइरहेको बताए।
मेडिकल वार्ड, पेइङ, क्याबिन, क्यान्सर, मुटु, स्पेसल क्याबिन, एनेक्स वार्ड, कम तौल भएका र कमजोर शिशुको उपचार सेवा दिँदै आएको कान्तिबाल अस्पतालको पुरानो भवनको अधिकांश भाग चर्किएपछि ओपीडी सेवा भवनका साँघुरा कोठामा दिइएको छ।
शिक्षण अस्पतालमा भूकम्पका बेला डराएर चौरमा आएका कतिपय बिरामी अलपत्र छन्। अस्पतालका केही सुत्केरी र गर्भवती महिला बाहिरै छन्। नाक, कान र घाँटीको सेवा दिँदै आएको अस्पतालको गणेशमान सिंह भवन चर्किएपछि सबै बिरामी बाहिरै छन्।
केही वर्षअघि निर्माण गरिएको मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्स सेन्टरको भवन चर्किएपछि आईसीयूका बिरामीलाई शिक्षणको आईसीयूमा सारिएको छ।
अस्पतालका प्रशासन प्रमुख पर्शुराम कोइरालाले प्रशासनिक भवनबाहेक बिरामीलाई सेवा दिने अरू भवन मर्मत गरेर सेवा दिन मिल्ने बताए। बिहीबार अस्पतालका अधिकांश भवनमा इन्जिनियरले जाँच गर्दै मर्मतपछि सेवा दिन मिल्ने सुझाव दिएका थिए।
‘बिरामी आफैं डराएर खुला चौरमा गएका हुन् जसलाई हामीले परामर्श गरेर आफ्नै स्थानमा फर्काइरहेका छौं’, उनले भने, ‘हामीले दिइरहेको उपचार कमजोर छैन, उनीहरू पनि सुरक्षित छन्।
उनले त्यसो भनिरहँदा अस्पताल चौरमा अलपत्र परिरहेका भूकम्पका कारण घाइते भएका बालुटारका समिर नकर्मीका अभिभावकले चिकित्सक आफैंले भवन असुरक्षित भएको भन्दै चौरमा सारेको बताए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहोनीले केही भवन असुरक्षित भए पनि सबै त्यस्तो नभएको र संकटका बेला पनि बिरामीलाई स्तरीय सेवा दिने कोसिस गरिरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्