Logo
|
Friday 29th March 2024
Logo

epaper

एउटै औषधिको मूल्य फरक–फरक



क्यान्सर बिरामीलाई केमो लगाउनुभन्दा पहिले साइड इफेक्ट/एलर्जी रोक्न दिइने ‘डेक्सामेथाजोन’ औषधिको मूल्य कम्पनीपिच्छे ९ देखि ३० रुपैयाँसम्म फरक पर्ने गरेको छ। भारतीय कम्पनी युमेडिका ल्याबोरेटोरिजद्वारा उत्पादित उक्त औषधिको मूल्य ३० रुपैयाँ पर्छ। भारतकै क्याडिला फर्मास्युटिकल्सको उक्त औषधि ९ रुपैयाँमै पाइन्छ। त्यही कम्पोजिसनको नेपालको नेसनल हेल्थ केयरको उत्पादन १८ रुपैयाँ पर्छ। ग्यास्ट्रिकमा प्रयोग गरिने ‘एसिलक’ को पनि कम्पनीपिच्छे १ रुपैयाँदेखि ७ रुपैयाँ मूल्य फरक पर्ने कान्तिपुरमा उल्लेख छ ।

यसैगरी ब्रोन्काइटिस निमोनियामा प्रयोग गरिने ‘केफ्जिम’ २ सय एमजी र ‘एक्स्ट्रासेफ’ २ सय एमजीको प्रति १० ट्याब्लेटमा १ सय ७२ रुपैयाँसम्म मूल्य फरक पर्ने गरेको छ। ‘हाइअर मलिक्युलर एन्टिब्योटिक’ को खरिदमा ४० देखि ५० रुपैयाँसम्म फरक पर्ने औषधि खुद्रा व्यवसायी बताउँछन्। बजारमा एकै कम्पोजिसनका दर्जनौं औषधि पाइन्छन्। ‘जसको मूल्य बढी हुन्छ, खुद्रा बिक्रेताले त्यही औषधि बढी बिक्री गर्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक बिक्रेताले भने, ‘त्यसबाट कमिसन पनि बढी आउँछ।’ खुद्रा व्यवसायीका अनुसार औषधि कम्पनीले महँगो औषधि बढी बिक्री गर्ने बिक्रेतालाई राम्रो बोनस दिन्छन्।
‘कतिपय कम्पनीले त १० डिब्बा बिक्री गरे १० डिब्बासम्म बोनस दिने गरेका छन्,’ उनले खुलाए। आफ्नो उत्पादन सिफारिस गराउन कम्पनीले प्रतिद्वन्द्वीभन्दा बढी बोनस दिनुपर्छ। जानकारका अनुसार यसका लागि चिकित्सक, बिक्रेता र औषधि कम्पनीबीच मौखिक सहमति हुन्छ। चिकित्सकलाई दिइने उपहार, कमिसन र विदेश भ्रमणको रकम कटौती गर्ने हो भने औषधिको मूल्य ३० प्रतिशतसम्म कम हुने जानकार बताउँछन्। डाक्टर र बिक्रेताको खर्चसमेत जोडेर कम्पनीले अधिकतम बिक्री मूल्य निर्धारण गरेको हुन्छ। औषधि कम्पनी र डाक्टरबीचको अवैध धन्धाले बिरामी महँगो मूल्य चुकाउन बाध्य छन्।
दर लागू भएन
एउटै औषधिको मूल्य कम्पनीपिच्छे फरक पाइएपछि हालै सरकारले ९६ वटा औषधिको खुद्रा मूल्य निर्धारण गरेको छ। राजपत्रमा प्रकाशित भए पनि सरकारले तय गरेको मूल्य औषधि व्यवसायले मानेका छैनन्। मूल्य लागू भए हालको बजार मूल्यभन्दा २० प्रतिशत औषधि सस्तो हुनेछ। औषधिको उपभोक्ता र उत्पादन मूल्यका बीचमा ठूलो अन्तर देखिएको भन्दै मूल्य समायोजन गर्ने निर्णय गरिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय प्रमुख भाग्यनारायण चौधरी बताउँछन्। ‘खुद्रा मूल्य लागू भएको मितिदेखि ६ महिनासम्ममा औषधि बिक्रेताले हालसम्मका औषधि पुरानै मूल्यमा बिक्री गरिसक्ने म्याद दिइएको छ,’ कान्तिपुरसित उनले भने, ‘यस अवधिमा नयाँ औषधि स्टक गर्न मिल्दैन।’
एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक परेकाले मूल्य निर्धारण गरिएको उनले बताए। ‘महँगो औषधिले छिट्टै रोग निको पार्ने हैन,’ उनले भने, ‘कम्पनीले लागत खर्च उपभोक्ताबाट असुल्छन्।’ मूल्यमा भिन्नता पाएपछि सरकारले पहिलो चरणमा मूल्य तोकिएका औषधिमा क्यान्सर रोगमा प्रयोग हुने ४८, ब्लडप्रसेरका ११, सुगर रोगका ७ वटा छन्। मूल्य तोकिएका औषधिमा साधारण रुघाखोकीदेखि मुटु तथा क्यान्सर रोगमा प्रयोग हुने महँगासमेत छन्। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २१ असारको बैठकले औषधिको खुद्रा मूल्य तोक्ने निर्णय गरेको थियो। स्वास्थ्यमन्त्री नेतृत्वको परामर्श परिषद्ले औषधिको मूल्यसूची तयार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्