Logo
|
Thursday 28th March 2024
Logo

epaper

बाथका बिरामीलाई बायोलोजिकल एजेन्टस्को सेवा



कुनै पनि जिवन्त प्राणीबाट एक किसिमको तत्व निकालेर रोग विशेषमा प्रयोग गरेर समस्या हुन नदिने र भइसकेको समस्या न्यूनिकरणमा बायोलोजिकल एजेन्ट्स महत्वपूर्ण मानिन्छ । यो भ्याक्सिन हो । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई यो औषधि प्रयोग गरिन्छ । यसका साथै कडा गठिया बाथ, बच्चा जन्माउने योजनामा रहेका दम्पत्तिहरु जसलाई कडा खालको बाथको औषधि दिन मिल्दैन, उनीहरुलाई यो बायोलोजिकल एजेन्ट्स दिनुपर्छ । विश्व बजारमा बाथरोगमा विभिन्न प्रकारका बायोलोजिकल एजेन्ट्सहरु बनिसकेका छन् । बायोलोजिकल एजेन्ट्सलाई औषधिको प्रकार हेरेर २ देखि २० डिग्री तापक्रम मेन्टेन गरेर राख्नुपर्छ । यसैसन्दर्भमा नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिसँग गरिएको कुराकानी ।

बायालोजिकल एजेन्ट्सले बाथरोगीलाई कस्तो फाइदा गर्छ ?
बायोलोजिकल एजेन्ट्स औषधि बाथका बिरामीलाई बर्षमा एकपटक लगाउने गरिन्छ । यो बर्षमा एकपटक इन्जेक्सनबाट लगाइन्छ । एकपटक लगाएपछि बर्षदिनभर काम गर्छ । यसबाट दिनदिनै औषधि खाने झन्झटबाट बिरामी मुक्त हुन्छ । यसले सोझै असर परेको ठाउँमा पुगेर काम गर्छ । त्यसैले क्याप्सुल र झोल औषधिको तुलनामा यसको क्षमता पनि बढी हुन्छ ।
यसको साइड इफेक्ट के छ ?
यसका केही साइड इफेक्टहरु पनि हुन्छन् । जस्तोः यसले सिधै गएर इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) मा असर पार्न साक्छ र रोग निरोधात्मक शक्ति कमजोर भएर छिटो छिटो इन्फेक्सन दिनुपर्ने हुनसक्छ । बायोलोजिकल एजेन्ट्स लगाइसकेपछि बिरामीलाई पूर्ण रुपमा केही महिनाका लागि चिकित्सकको अनुगमनमा राख्नुपर्छ ।

नेपालमा किन आवश्यक छ ?
अहिलेको परिप्रेक्ष्यमा यसको शुल्क सस्तो छ । अहिले पनि नेपाली बजारमा बायोजिलक एजेन्ट्स नपाएको होइन । पुराना महँगा औषधिहरु छन् । सस्तो तर अत्यधिक गुणस्तरीय औषधि हामीले भित्र्याएका छौं । एक वर्षको अवधिलाई हेर्ने हो भने दैनिक औषधि किनेर खाने तुलनामा एकैपटक लिँदा बायोलोजिकल एजेन्ट्स सस्तो पर्छ ।
कहिलेदेखि ल्याउँदै हुनुहुन्छ ?
चाँडै सस्तो मूल्यका बायोलोजिकल एजेन्ट्स आम बाथरोगीहरुलाई उपलब्ध गराउँदै छौं ।

बायोलोजिकल एजेन्ट्स नेपालका आम बाथरोगीहरुलाई लाभदायक हुने वा नहुने संभाव्यता अध्ययन गर्नुभएको थियो ?
यसैको आधारमा काम शुरु गरेका छौं । धेरै बिरामीहरुको माग छ । बाथरोग सेन्टरमा बर्षमा ६ हजारको हाराहारीमा बिरामीको उपचार सेवा दिँदा करिब ४—५ जनाले बायोलोजिकल एजेन्ट्स प्रयोग गरेका छन् । औषधिको ज्ञान भएकाहरुलाई बायोलोजिक एजेन्ट्सका बारे भनिरहनुपर्दैन । शुरुमा यसको शुल्क धेरै भयो कि जस्तो लाग्नसक्छ तर प्रभावकारिता त्यति कै राम्रो छ । वायोलोजिकल एजेन्ट्स धेरै अनुसन्धान भएर मात्र आउने गर्छ । यसको प्रयोग सजिलोसँग गर्न सकिन्छ ।

उपचारका लागि आउने बाथरोगी सामान्य हातखुट्टा दुखेको समस्या लिएर आएका हुन्छन् । शुरुको अवस्थामा त दुखाई व्यवस्थापन गर्नुपर्छ । दुखाई व्यवस्थापनलाई कतिपय बिरामीहरु आफूलाई ठीक भएको ठान्छन् । यतिले मात्र पुग्दैन नछुटाइकन औषधि पनि खानुपर्छ र बाथरोगलाई नियन्त्रणमा राख्नुपर्छ । कतिपयले त औषधि सेवन गर्दा गर्दै बीचमै छाडिदिन्छन् । चिकित्सकको सल्लाबमोजिम औषधि सेवन गरिरहनुपर्छ । कतिपय बाथमा जिवनभर औषधिको सेवन गर्नुपर्छ । अधिकांश बाथरोगका बिरामीहरु दुखाई नियन्त्रण गरेर बसेको पाइन्छ । तर उपचार भएको पाइदैन । त्यसैले यसबारे जनचेतना अभिबृद्धि गर्न जरुरी छ । बायोलोजिकल एजेन्ट्सको प्रयोग बर्षमा एकपटक मात्र गर्ने भएकाले दिनदिनै औषधि खानुपर्ने झन्झटबाट राहत मिल्छ ।

नेपालमा बाथ रोगका चुनौतिहरु के के छन् ?
समयमा बाथ रोगको पहिचान हुन नसक्नु ठूलो चुनौतिको रुपमा देखापरेको छ । बाथरोगको चाँडै पहिचान भएर उपचार विधिहरु शुरु गरेमा यो रोगबाट हुनसक्ने नकारात्मक असरहरु न्यूनिकरण गर्न सकिन्छ ।

चुनौति हुनको पछाडि के कारण देख्नुभएको छ ?
आवश्यक जनचेतनाको अभाव नै हो । कतिपय बाथरोगीहरुलाई यो अटो इम्युन डिसअर्डर हो भन्ने नै थाहा छैन । सामान्यतः हातगोडा झम्झमाउने एवं दुख्नेलाई बाथरोग हो भन्ने बुझिन्छ । तर अटो इम्युन सिस्टममा भएको गडबडीले समस्या भएको भन्ने धेरैमा ज्ञान छैन । मुलुकमा बाथरोगको उपचार गर्ने प्रयाप्त दक्ष जनशक्ति छैनन् । जस्तोः चिकित्सक, नर्स आदि । अटोइम्युन ल्याबहरुको पनि अभाव छ ।

बिरामीले नियमित औषधि नखादा कस्तो समस्या हुनसक्छ ?
बाथका बिरामीले नियमित औषधिको सेवन गर्नुपर्छ । बिरामी स्वयं संयमित भएर नियमित औषधिको उपभोग नगरेमा कसैले केही पनि गर्न सक्दैन । सेवन गरिरहेको औषधिका कारण पनि बिरामीको ज्यानलाई खतरामा पारिरहेको हुनसक्छ । औषधि सही ठाउँमा लागेमा रोग निको हुन्छ अन्यथा यसले अरु समस्या निम्त्याउनसक्छ । त्यसैले औषधि सेवन गर्नुपूर्व औषधिका बारे फार्मेसिस्टसँग जानकारी लिनुपर्छ र चिकित्सकको सिफारिस अनुसार पूर्ण रुपमा औषधि सेवन गर्नुपर्छ । यदि रोग पुनः बल्झेर आएमा उपचारमा थप आर्थिक भार पर्न सक्छ र शरीर पनि रोगले सिथिल बनाउन सक्छ ।

नेशनल बाथरोग सेन्टर सञ्चालन गरेको एक वर्षको अवधिमा कस्तो अनुभव सँगाल्न सफल हुनुभयो ?
हाम्रो उद्देश्य बाथरोगको उपचार संस्थागत रुपमा काम गर्ने भन्ने नै हो । अहिले हामीले बाथरोगमा राम्रो रिस्पोन्स पाएका छौं । बाथरोग नियन्त्रण गरेर व्यक्तिलाई बाथरोग मुक्त गराउन सफल भएका छौं । बाथरोग पहिचानका लागि नविनतम प्रविधि भित्र्याउन सफल भएका छौं ।

प्रतिक्रिया दिनुहोस्