Logo
|
Thursday 18th April 2024
Logo

epaper

‘मुन्नाभाइ’ संख्या १३ मै रोकिँदैन : प्रहरी



प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल ठकुरीले आइतबार उनकै कार्यकक्षमा व्यंग्यात्मक प्रस्ताव राखे, ‘अहिले त हाम्रो हिरासतमा ठग, चोर मात्रै हैनन्, कहलिएका डाक्टरको समूह नै छ, भन्नुस् दाँत जचाउने कि आँखा?’
आइतबार ब्युरोको हिरासत कक्षको सदस्य बन्न अर्का एक चिकित्सक आउँदै थिए सप्तरीबाट। आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस गरेर राजविराजको अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रकुमार दास पक्राउ परेको जानकारी दिँदै उनले भने, ‘यो टेलर मात्र हो, ‘मुन्नाभाइ’हरुको संख्या १३ मै रोकिँदैन।’
उनी कार्यकक्षमा रहेका सहकर्मीसँग नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न देशबाट एमबिबिएस र एमडीको प्रमाणपत्र ल्याएर चिकित्सकका रुपमा कार्यरत १३ नक्कली डाक्टरविरुद्ध अनुसन्धान प्रक्रियाबारे छलफलमा केन्द्रित भए।नक्कली प्रमाणपत्रका भरमा आफूलाई चिकित्सक भन्दै मानिसको ज्यानमाथि खेलबाड गरिरहेका मोहम्मद अहमद सिद्धिकी, कल्याण विश्वास, भगवान केवट मल्लाह, सन्तोषकुमार यादव, शैलेन्द्रकुमार महतो, मोहम्मद कमरुल हक, तुलसीकुमार महतो, पशुपति चौधरी, श्यामबाबु शाह, विनिता यादव, रामबाबु गिरी र अफजाल हुसेनमाथि कुनकुन कानुनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाउने छलफल त्यसैमा केन्द्रित थियो।

‘प्रारम्भमा ठगी अभियोगमा अनुसन्धान अगाडि बढाउने हो, नेपालबाट जारी भएका नक्कली प्रमाणपत्र समेत रहेकाले सरकारी दस्तखत छाप किर्ते पनि आकर्षित हुन्छ,’ मल्लले ब्युरोका एसपी दिवस लोहनीसहितको टिमलाई भने, ‘नेपाल मेडिकल काउन्सिलले पनि आफ्नो ऐनअनुसार कारबाही अगाडि बढाउने जानकारी दिएको छ, तीन जना सरकारी डाक्टर भएकाले उनीहरुमाथि अख्तियार दुरुपयोग गरेको अभियोगमा समेत अनुसन्धान हुन्छ।’

ब्युरोको टोली पक्राउ परेका नक्कली डाक्टरले उपचार गरी अंगभंग भएको, ज्यान गएको केसको खोजीमा समेत सक्रिय देखियो। कसैको ज्यान गएको या अंगभंग भएको घटना आए उनीहरुमाथि कर्तव्य ज्यान वा ज्यान मार्ने उद्योगको कानुनसमेत आकर्षित हुने निष्कर्ष निकाल्दै मल्लले यी चिकित्सकले उपचार गरेका केस हिस्ट्री हेर्न मातहतका अधिकारीलाई निर्देशन दिए।

नेपालमा नक्कली डाक्टरको बिगबिगी रहेको भन्दै मेडिकल काउन्सिल लगायत सरकारी निकायमा पटकपटक उजुरी पर्ने गरे पनि अनुसन्धान अभावमा चिकित्सक पक्राउ परेका थिएनन्। चिकित्सकको परीक्षामा नक्कली परीक्षार्थी नै फेला परेपछि सो घटना ब्युरोसम्म आइपुगेपछि काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदको सहयोगमा १३ जना चिकित्सक फेला परे जो नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेका थिए।

ब्युरो प्रमुख मल्लका अनुसार अहिले सुरु भएको अनुसन्धान पहिलो चरणको मात्रै हो। अनुसन्धानलाई अगाडि बढाउँदै काउन्सिलबाट चिकित्सकका रुपमा मान्यता पाएका सबैको शैक्षिक योग्यताबारे अनुसन्धान हुने जानकारी दिँदै उनले भने, ‘को केका आधारमा चिकित्सकको रुपमा कार्यरत रहेछन्, सबैको अनुसन्धान गर्ने तयारीमा छौं।’

नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा लाइसेन्स लिएका १८ हजार चिकित्सक छन्। ती सबैको शैक्षिक योग्यताको अनुसन्धान सम्भव छ? ‘एकै पटक अनुसन्धान सहज छैन,’ मल्लले भने, ‘गम्भीर विषय भएकाले छुट्टै टोली बनाएर क्रमिक रुपमा अनुसन्धान भने हुन्छ।’

मल्लका अनुसार पहिलो चरणमा शैक्षिक योग्यता नक्कली रहेको भन्दै काउन्सिल लगायत सरकारी कार्यालयमा परेको उजुरी र काउन्सिल परीक्षामा सहभागी भएर पटकपटक फेला भएकाबाट अनुसन्धान सुरु गर्दा १३ जनाको पहिचान भएको हो।

मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा पाँच पटकभन्दा बढी फेला भएका परीक्षार्थीको योग्यताबाट अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनले भने, ‘अब त्यो दायरा घटाउँदै अनुसन्धान अगाडि बढाउँछौं।’

त्यहीँ भेटिए नक्कली चिकित्सक पक्राउमा संलग्न ब्युरोका एक प्रहरी जो बिरामी बनेर चिकित्सकको खोजीमा खटिएका थिए। नक्कली चिकित्सक पछ्याउँदाका दुई घटना उनले सुनाए।

शुक्रबार दिउँसो कोसी अञ्चल अस्पताल पुग्दा तुलसीप्रसाद महतो बिरामी जाँच्न व्यस्त थिए। स्त्रीरोग विशेषज्ञ बताउने उनको कार्यकक्षबाहिर जचाउने बिरामीको बाक्लो भीड थियो।

एक पुरुष उनको कोठाबाहिर नाम लेखाउन पुगे। उनका सहयोगीले सोधे, ‘बिरामी खै त?’ सहयोगीबाट डा. महतोले महिलालाई मात्र जाँच गर्ने जानकारी पाएपछि ती युवक बाहिरिए र एक महिला लिएर पुनः उनको कोठाबाहिर पुगे।

‘यहाँ डाक्टर सापले हेर्न नभ्याउने हुनुभो। तपाईं मोनिका क्लिनिकमा जानुस् है!’

सहयोगीबाट आएको आदेशअनुसार उनी केही समयपछि अस्पताल नजिकैको क्लिनक पुगे। त्यहाँ पनि बडो व्यस्त थिए महतो। ती युवकले निकै पटक महतोलाई नियाले। आफूले खोजेका डाक्टर उनै महतो भएको पक्का भएपछि उनी महतोसँगै नियमित जचाएकाले जाँचिपाऊँ भन्दै ती युवक युवतीलाई लिएर महतो भएको कोठामा पुगे।

करिब पाँच मिनेटपछि महतो निन्याउरो मुहारमा युवक र युवतीको पछि लाग्दै बाहिरिए।

ती युवक र युवती बिरामी थिएनन्, सरकारी अस्पतालमा चिकित्सकका रुपमा कार्यरत महतो नक्कली डक्टर भएको सूचानका आधारमा उनलाई पक्रन काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी कर्मचारी थिए। पुरुष नचाँच्ने महतोको नियम पत्ता लागेपछि उनले मोरङकै स्थानीय महिला प्रहरीलाई बिरामी बनाएर लगेका थिए।

‘क्लिनिकभित्र पुगेपछि उनले जाँचेजस्तो गर्न लागे। मैले आफू आउनुको उद्देश्य बताएँ,’ ब्युरोमा आइतबार भेटिएका ती प्रहरी कर्मचारीले भने, ‘हामीसँगै सहजै जानुभयो भने राम्रै होला भनेपछि उनी केही नभनी पछि लागे।’

दन्त चिकित्सकका रुपमा विराटनगरको गोल्डन अस्पतालमा कार्यरत मोहम्मद कमरुल हकको पक्राउको दृश्य पनि उस्तै रोचक छ। आफूहरुले खोजी गरिरहेका चिकित्सक उनी नै हुन् कि हैनन्, अनि उनी चिकित्सकका रुपमा सक्रिय छन् कि छैनन् भन्ने पक्का गर्न प्रहरी कर्मचारी दाँतको बिरामी बनेर अस्पताल पुगेका थिए उसैगरी। बिरामीको स्लिप लिएर उनको कोठामा पुगेपछि उनले सोधे, ‘के भएर आएको?’

भएको केही थिएन। बिरामी बनेका प्रहरी कर्मचारीले साह्रै दाँत दुखेकाले देखाउन आएको भनेपछि उनले मुख खोल्न लगाएर टर्च बालेर केही समय हेरेर भने, ‘तपाईंको दाँत बिग्रिसकेछ, निकाल्दा नै राम्रो।’

दाँत किराले पनि नखाएको एक्कासि निकाल्ने र भन्ने उनको जिज्ञासापछि हकले त्यसो भए सफा गर्नू भने। आफूसँग पैसा छैन, साथी बोलाउँछु भन्दै बाहिरिएका ती प्रहरी पछि टोली लिएर उनको कार्यकक्ष पुगेर नियन्त्रणमा लिए।

गाडीमा राखेर आफूहरु प्रहरी भएको बताउँदा हकले जिज्ञासा राखे, ‘दाँत निकाल्छु भनेकाले पक्रेको हो सर, बरु ननिकाली सफा गरिदिन्छु नि!’

नक्कली सर्टिफिकेटका आधारमा आफूलाई चिकित्सक बताएर ठगी गरेको अभियोगमा पक्राउ परेको जानकारी पाएपछि हक अहिले डिप्रेसनमा छन्। ‘पक्राउ परेकामध्ये हक सबैभन्दा बढी निरास देखिन्छन्,’ ब्युरोका एक प्रहरीले भने।

परीक्षाको प्रश्नपत्र बनाइरहेका बेला प्रहरीले चितवनको कलेज अफ मेडिकल साइन्स भरतपुरबाट पक्राउ गरी ल्याइएकी बिनिता यादवले आफू नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परेको सुनेलगत्तै आफूलाई सम्हाल्नै सकिनन्। उनको स्वास्थ्य बिग्रिएपछि ब्युरोले उनलाई हिरासतमा नराखी उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ।

२९ पटकसम्म असफल तर चिकित्सक

पक्राउ परेका चिकित्सकमध्ये ८ जना नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण छन्। उनीहरुमध्ये १४ पटकसम्म अनुत्तीर्ण समेत छन्। अञ्चल अस्पताल जनकपुरमा कार्यरत सन्तोषकुमार यादव १५ पटकको प्रयासमा उत्तीर्ण भएका थिए।

शैलेन्द्रकुमार महतो र श्यामबाबु शाह ११ औं प्रयासमा काउन्सिल परीक्षामा उत्तीर्ण भए। यसैगरी तुलसीकुमार महतो ९, भगवान केवट ७, विनिता यादव ६ र मोहम्मद कमरुल हक ५ औं प्रयासमा मात्र सफल भएका थिए।

पाकिस्तानबाट एमबिबिएस गरेको शैक्षिक योग्यता पेस गरेर काउन्सिलको परीक्षामा २९ पटक सहभागी भएर पनि मोहम्मद अहमद सिद्धिकी सफल हुन सकेनन्। माल्दोभाबाट एमबिबिबिएस गरेको दाबी गर्ने अफजल हुसेन १९ पटक काउन्सिल परीक्षामा सहभागी भए र १६ पटक परीक्षा दिँदासमेत पशुपति चौधरी र कल्याण विश्वास उत्तीर्ण हुन सकेनन्।

काउन्सिल परीक्षामा उत्तीर्ण नभए पनि चारै जना आफूलाई चिकित्सक भन्दै बिरामी उपचारमा संलग्न थिए। ब्युरो अधिकारीका अनुसार पशुपति मेडिकल अस्पतालका प्रमुखसमेत रहेका चौधरीले आठ कक्षा मात्रै पढेको प्रहरी बयानमा स्विकारेका छन्।

नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्