Logo
|
Tuesday 16th April 2024
Logo

epaper

दाम्पत्य: प्रा.डा. प्रकाश विष्ट र शैली राणा



जीवनका उकाली ओरालीहरु एक्लै यात्रा गर्न कठिन पर्छ । कठिन यात्रालाई सहज बनाउन व्यक्तिले कसैको सहारा खोज्न थाल्छ । जीवन जिउने सहारा अर्थात जीवनका उकाली ओराली गर्ने सहारा खोज्दै जाँदा प्राध्यापक डाक्टर प्रकाश विष्टले भेट्नुभएको थियो शैली राणालाई । यतिखेर उहाँहरुको दाम्पत्य यात्रा सुनौलो अनि प्रेमिल छ ।
प्रा.डा. विष्ट नेपालका वरिष्ठ न्यूरो सर्जन हुनुहुन्छ । उहाँकी धर्मपत्नी शैली फेसन डिजाइनर । एउटा चिकित्सक र फेसन डिजाइनरबीच दाम्पत्य जीवन कसरी अनुबन्धित भयो र उहाँहरुले कसरी दाम्पत्य जीवनलाई निरन्तरता दिन सफल हुनुभएको छ भन्ने जानकारी यहाँ दिन खोजेको छौं ।

२०५४ सालतिर डाक्टर प्रकाश विष्ट भर्खर ढाका युनिभर्सिटीबाट एमएस सकेर नेपाल फिर्नुभएको थियो । वीर अस्पतालमा काम पनि गर्दै हुनुहुन्थ्यो । एमएस सकेर बिवाह गर्ने सोच बनाएकाले उहाँको विवाह गर्न ढिला भइसकेको थियो । यत्तिकैमा एक जना छिमेकी आफन्तले शैलीको कुरा लिएर आउनुभयो । शैलीलाई हेर्न जाने योजना बन्यो । केटी आफू भन्दा केही वर्ष वर्ष कान्छी भएकाले बिवाहको लगन जुर्ला या नजुर्ला भन्ने कुनै ठेगान थिएन । प्रकाश पनि एमएस गरेको जल्दो बल्दो डाक्टर हुनुहुन्थ्यो । त्यसपछि डा. प्रकाश शैलीलाई हेर्न उहाँको घरमा पुग्नुभयो ।
डा. विष्टलाई शैली र उहाँको परिवारले मन परायो । त्यो बेला शैली स्नातक तहको अध्ययन गर्दै हुनुहुन्थ्यो । २०५५ साल वैशाख २३ गते विवहाको लगन जु¥यो र २३ वर्षीया शैलीसँग डा. प्रकाश विवाह बन्धनमा बाँधिनुभयो ।

डा. विष्टलार्य शैली किन मन प¥यो ?
आफूले डाक्टर पढेको भएपनि डा. विष्टलाई आफ्नो क्षेत्रभन्दा बाहिरको व्यक्तिसँग बिवाह गर्ने सोच थियो । त्यही सोच अनुसार डा. विष्टले शैलीलाई पाउनुभयो । विवाह भएको पहिलो वर्षको ‘वर्ष गाँठ’ मनाउन नपाउँदै २०५५ साल चैत्र १३ गते छोरा निर्माण विष्टको जन्मभयो जसले मे २ तारेखमा फास्टेस्ट गितार प्लेयरको विश्व कीर्तिमान कायम गरेका छन् । छोरा ९ वर्षको भएपछि शैलीले फेसन डिजाइनमा ग्राजुएसन गर्नुभयो ।

आत्मीय विश्वास र सहयोग
प्रा.डा. विष्ट भन्नहुन्छ—‘म डाक्टर । शैली फेसन डिजाइनर । तर हामीबीच कुनै पनि बैचारिक मतभेद हुँदैन । मेरो दैनिक दिनचर्या बिहान ८ बजेदेखि बिरामीको उपचार सेवाबाट शुरु हुन्छ ।’ डा. विष्टको धेरै समय बिरामीको उपचारमा बित्छ । डा. विष्ट भन्नुहुन्छ—‘ हामी व्यवसायिक कामको मर्म बुझ्ने भएकाले एक अर्कालाई अवरोध गर्दैनौं । निर्धक्क भएर बिरामीको सेवा गर्न पाएको छु । एक अर्कामा आत्मीय विश्वास र सहयोग छ ।’ एक अर्काको बारेमा हामी कुनै पनि खोजिनीती गर्दैनौं । कुनै पनि चिज गर्छु भनेपछि गरेरै छोड्ने शैलीको बानीले डा. विष्टलाई प्रभावित बनाएको छ ।

वैवाहिक जीवनपछि पाएको उपलब्धी
‘बिवाह गर्नुपूर्व जोगी जस्तै थिएँ । आफूलाई सम्हाल्न सकेको थिइन । सर्जरीमा मास्टर्स गरेको मान्छे भएकाले पैसा त राम्रै कमाउँथे । तर कमाएको पैसाको सदुपयोग हुन सकेको थिएन ।’ — प्रा.डा. विष्ट भन्नुहुन्छ—‘बिवाहपछि शैलीले मेरो जीवन र घरलाई सहज बनाइन् ।’ बिवाह गरेर बच्चा भइसकेपछि डा. विष्टले अर्को स्पेशलिष्ट डिग्री ‘एमसिएच’ गर्नुभयो । दिनचर्या अध्ययनमा मात्र हुन्थ्यो । कमाइ त्यति थिएन । यस्तो अवस्थामा शैलीले धैर्य गरेर अध्ययनमा सहयोग पु¥याएको प्रति प्रा.डा. विष्ट निकै खुशी हुनुहुन्छ ।

सरकारी मोह
शैलीको बुबा (ससुरा) ले दैनिक एक दुई जना गरिब बिरामीलाई च्यारिटी गर्न प्रेरणा गरिरहनुहुन्थ्यो । ‘सरकारी जागिरमा तलब धेरै हुँदैन । त्यसैले सरकारी अस्पतालमा काम गर्नु भनेको च्यारिटी गरेको जस्तै लाग्यो र यसलाई छोड्न सकिनँ । ’—प्रा.डा. विष्ट भन्नुहुन्छ— ‘सरकारी जागिरबाट भविष्यमा पेन्सन पाइन्छ र मेरो शेखपछि पनि श्रीमतीलाई राम्रो हुन्छ भन्ने आश पनि हो ।’

श्रीमान श्रीमती एक सिक्काको दुई पाटा
श्रीमान श्रीमतीबीचको सामिप्यताका कारण जीवन चल्ने गर्छ । त्यसैले श्रीमान श्रीमतीलाई एक सिक्काको दुई पाटा भन्ने गरिन्छ । श्रीमान श्रीमतिमध्ये एक नहुँदा पूर्ण घर बन्न सक्दैन । प्रा.डा. विष्टको भनाइ छ—‘श्रीमान श्रीमती एकअर्काका लागि कम्प्लिमेन्टरी हुन् । समाजले हामी दुईलाई अलग अलग भएको हेर्न चाहँदैन ।’

प्रा.डा. बिष्टको बारेमा शैली के भन्नुहुन्छ ?
डा. विष्टलाई मन पराउनुको कारण उहाँको शिक्षा हो । शिक्षित व्यक्तिसँग जीवन बिताउन सजिलो हुन्छ जस्तो लाग्यो । त्यसैले उहाँको उमेर पनि सोधिनँ र पहिलोपटक देख्नेबित्तिकै मन पराएँ ।
डा. विष्ट परिपक्व अभिभावक पाएको महसुस गरेको छु । हामी एक अर्काको समस्या राम्रोसँग बुझ्छौं । हामीहरु बीच खुलेर कुरा गर्ने बानी छ । यसले एकअर्काबीच विश्वास छ । हामी एक अर्कालाई आदर गर्छौं । हामी समय अनुकुल मिलाएर देश विदेश घुम्न जान्छौं । हामी एक अर्काबीच हाँसो मजाक गर्छौं । एक अर्कालाई सहयोग गर्छौं ।

शारीरिक अभ्यास
डा. विष्ट बिहान खासै मर्निङ वाक गर्नुहुन्न । उहाँ हस्पिटलमा तलमाथि हिँड्दा एक्सरसाइज पुग्ने बताउनुहन्छ । तर भने शैली हरेक दिन बिहान ६ बजे योगा कक्षामा सामेल हुनुहुन्छ । करिब डेढ घण्टा योगापछि ७.३० बजे घर फर्केर डा. विष्टसँगै चिया पिउनुहुन्छ । बिहानको नास्ता गरेर डा. बिष्ट ८ बजे अस्पताल निस्किनुहुन्छ । शैली घरको काम सकेर दिउँसो पसल जानुहुन्छ । बेलुका एक घण्टा साँझको हिँडाइका लागि निस्कनुहुन्छ ।

स्वस्थ र खुशी दाम्पत्य बनाउने १० सुत्र
-सम्बन्धमा विश्वसनीयता बढाउन पति पत्नी बीच खुलेर कुरा गर्ने । यसबाट तपाईंका समस्या र आवश्यकता दुवै मिलेर समाधान हुन्छन् ।
-सम्बन्धलाई सुमधुर र मजबुत पार्न धन्यवाद, कृपया जस्ता स—साना शव्दलाई हेला नगर्नुहोस् ।
-दाम्पत्य जीवन गाढा र शरीर फूर्तिलो बनाउन सँगै शारीरिक कसरत गर्नुहोस् ।
– दाम्पत्य जीवन मित्रतामा परिणत गर्न सँगै बिदामा घुम्न जानुस् । यसले रमाइलो अनुभूति हुन्छ र एक अर्कामा खुशी साट्दै रमाउने बानी बस्छ ।
– हाँसो मजाक गर्नाले एक आपसमा भएको बैमनस्यता तथा रिस नाश हुने अध्ययनले देखाएको छ । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
– सम्बन्ध बलियो बनाउन सँगै बसेर खाना खाने प्रयत्न गर्नुपर्छ ।
– नियमित यौन सम्बन्ध राख्नाले एक आपसमा ख्याल राख्ने बानी बढ्ने अनुसन्धानले देखाएको छ । करिब ९० प्रतिशत दम्पतिको सम्बन्ध टुट्नुको कारण यौन असन्तुष्टि भएको बताइन्छ ।
– घरको काममा एक अर्कालाई सहयोग गर्नाले सम्बन्धमा प्रेम भाव बढ्छ ।
– सुत्ने बेलाको समयलाई समस्या छलफल गर्ने समयका रुपमा पनि हेरिने भएकाले सहमतिमा छलफल गर्न राम्रो मानिन्छ ।
-बुढ्यौलीपनमा चाँडै रिस उठ्ने कारण समस्या निम्त्याउन सक्ने भएकाले यो बेला सहनशील बन्नुपर्छ । यसले सम्बन्ध बलियो बन्छ ।

प्रतिक्रिया दिनुहोस्