Logo
|
Thursday 19th September 2019
NEWS PAPER

क्यान्सर बिरुद्धको लडाईं ! ‘हामीले सक्छौं र मैले सक्छु’ को सान्दर्भिकता



डा. सुदिप श्रेष्ठ, वरिष्ठ क्यान्सर विशेष, नेपाल क्यान्सर हस्पिटल

 क्यान्सरलाई कडा र जटिल रोगको रुपमा लिन हुँदैन । यो नसर्ने रोगमध्येको एक दीर्घ रोग हो । समयमा पहिचान गरेर उपचार गरेमा निको पार्न सकिन्छ । 
-एक वर्षमा क्यान्सर उपचारका लागि नेपालीले भारतीय अस्पतालमा मात्रै करिब डेढ अर्ब खर्च गर्ने गरेका छन् । यो पैसाले नेपालमा सुविधा सम्पन क्यान्सर हस्पिटल बनाउन सकिन्छ ।
– हामी सक्छौँ, म सक्छु’ भन्ने त्रिवर्षीय नाराको आधारमा हामी सबैले धेरै काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।
– अस्पतालमा आएका बिरामीको आधारमा मात्र क्यान्सर प्रभावितको तथ्यांक निकाल्न सकिँदैन । यथार्थ तथ्याङ्कका लागि जनताको घरदैलोमा पुग्नुपर्छ ।

क्यान्सर रोगले मुलुकको आर्थिक क्षेत्रमा ठूलो असर गर्छ । त्यसैले क्यान्सरबिरुद्ध आवश्यक नीति बनाएर दक्ष जनशक्ति उत्पादन सम्बन्धि कार्यक्रमहरु शुरु गर्नुपर्छ । क्यान्सरसम्बन्धि राष्ट्रिय क्यान्सर नीति हालसम्म बनेको छैन । अवसर नपाउँदा दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । चापलुसी प्रवृति हावी हुँदा क्षमतावान ब्यक्ति डिस्करेज भइरहेका छन् । ब्रेन ड्रेनको वातावरण बढ्दो छ । विदेशमा अनुभव बटुलेका दक्ष जनशक्ति मुलुकभित्र भित्र्याउने परिपाटी छैन । यस किसिमको समस्या समाधानमा सरकारले पहल गर्नुपर्छ । कसैको व्यक्तिगत चाहनामा होइन सामुहिक हितमा काम गर्नुपर्छ ।त्यसैले क्यान्सर नीति ल्याउन सकेमा क्यान्सर न्यूनिकरण गर्न मद्धत पुग्छ । साथै क्यान्सर रोकथाममा विशेष भूमिका निर्वाह गर्छ । व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ । स्वस्थ समाज निर्माणमा टेवा पुग्छ । आर्थिक स्रोतको सही परिचालन गरी कम साधनस्रोतबाट पनि बढी प्रतिफल प्राप्त गर्न सकिन्छ ।

क्यान्सरका बिरामी खोज्नुपर्ने
नेपालमा दिनहुँ क्यान्सरका बिरामी थपिरहेको अस्पतालमा आधारित तथ्यले देखाउँछ । तर यसबारे यथार्थ सरकारी तथ्यांक छैन । क्यान्सर उपचारका लागि अस्पताल आउने विरामीको संख्यालाई मात्र आधार मानेर यथार्थ तथ्यांक निकाल्न सकिदैन । क्यान्सर भएर अस्पताल नगएका धेरै बिरामी छन् । त्यसैले जनताको घरदैलोमै गएर क्यान्सर बिरामीको यथार्थ तथ्यांक निकाल्न जरुरी छ ।

बढ्दो स्तन र सर्भाइकल क्यान्सर
विश्वमा हेर्दा महिलाहरुमा स्तन क्यान्सर बढी छ । तर हाम्रो जस्तो विकासोन्मुख देशमा पाठेघरको मुख (सभाईकल) क्यान्सर पहिलो छ । उपत्यका बाहिर र पब्लिक हस्पिटलको तथ्यांक हेर्दा पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ । शहरी क्षेत्रका निजी अस्पतालहरुको तथ्यांक हेर्दा स्तन क्यान्सरको समस्या बढी छ । यसबाट स्तन क्यान्सर जीवनशैलीसँग सम्बन्धित देखिन्छ । गाउँघरतिर हाइजीन मेन्टेन र जनचेतनाको अभावका कारण पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ ।
अपर्याप्त सहयोग
अहिले राज्यले क्यान्सर रोग लागेको विपन्न नागरिकलाई १ लाख रुपियाँ औषधि उपचारका लागि खर्च दिँदै आएको छ । यो केही हदसम्म राम्रो काम हो । तर यसले सबै प्रकारका क्यान्सरको उपचार धान्न सक्दैन ।
यो सहयोग सँगसँगै सरकारले हेल्थ इन्स्योरेन्सको नीति अवलम्बन गर्नुपर्छ । अहिले २ हजार पाँच सय रुपियाँ बार्षिक शुल्क बुझाएपछि ५ जनाको परिवारले एक वर्षभित्र ५० हजार रुपियाँ बराबरको स्वास्थ्य उपचार खर्च पाउने व्यवस्था गरेको छ । तर क्यान्सर उपचारका लागि यो प्रयाप्त छैन । यसका लागि सरकारले प्रिमीयम इन्स्योरेन्सको आधारमा स्वास्थ्य बीमाको अवधारणा अघि बढाउनुपर्छ । स्वास्थ्य बीमाबाट न्यूनतम करिब १० लाखसम्मको उपचार खर्च प्राप्त हुनसक्ने व्यवस्था लागू गर्नुपर्छ । क्यान्सर उपचारमा १० लाख रुपियाँमाले बिरामीले पूर्ण सेवा प्राप्त गर्न सक्छन् ।
बार्षिक डेढ अर्ब विदेशिने
नेपालको एकजना विद्यार्थीले एक दशकअघि गरेको एउटा सामान्य अनुसन्धान अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थललगायतका हवाइ नाकाहरुबाट दैनिक करिब १५ जना क्यान्सर बिरामी उपचारका लागि भारतलगायतका तेस्रो मुलुकमा जाने गरेका छन् । यसलाई आधार मान्दा एक वर्षमा ५ हजार ४ सय ७५ जना क्यान्सरका बिरामी उपचारका लागि बाहिर जाने रहेछन् । उनीहरुले एकजना बराबर ३ लाख रुपियाँ विदेशी अस्पतालमा उपचारका लागि खर्च गर्दा पनि करिब डेढ अर्ब रुपियाँभन्दा धेरै रकम विदेशीने रहेछ । डेढ अर्ब रुपियाँमा त नेपालमा सुविधा सम्पन क्यान्सर हस्पिटल बन्ने रहेछ ।

सामुहिक र व्यक्तिगत सपोर्ट जरुरी

क्यान्सर न्यूनिकरणका लागि सन् २०१६ देखि २०१८ सम्म ‘हामी सक्छौँ, म सक्छु’ भन्ने त्रिवर्षीय विश्वव्यापी अभियान शुरु गरिएको छ । यो अभियान अन्तर्रास्ट्रिय संस्था ‘द इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर (आइयूएसी)’ को हो । यसमा अन्तर्राष्ट्रियस्तरका संघसंस्था, विश्व स्वास्थ्य संगठन, आइएइए लगायतले सपोर्ट गर्दै आएका छन् ।
शुरुको अवस्थामा पत्ता लगाउन सकेमा एक तिहाई क्यान्सर निको पार्न सकिन्छ । एडभान्सड स्टेज (चरण) मा पुगेका एक तिहाई क्यान्सरका बिरामीलाई विभिन्न किसिमका सपोर्ट दिएर अन्तिम अवस्थासम्म गुणस्तरीय जीवनयापनमा सहयोग गर्न सकिन्छ । यसका लागि सामुहिक र व्यक्तिगतसपोर्टको जरुरी पर्छ ।

‘हामी सक्छौँ’
क्यान्सरविरुद्ध एउटाले मात्र काम गरेर यसलाई न्यूनिकरण गर्न सकिदैन । यसमा सामुहिक प्रयासको जरुरत पर्छ । त्यसैले हामीले सामुहिक रुपमा धेरै काम गर्न सक्छौं । यसका लागि हामीले धेरै काम गर्नुछ । हामीले सामुहिक रुपमा के के गर्छौं भन्नेबारे यहाँ विस्तृत उल्लेख गरिएको छ ।

क्यान्सरबिरुद्ध प्रेरित भएर अघि बढ्ने
सरकारीस्तरबाट नै क्यान्सर नियन्त्रण गर्ने नीति ल्याउनुपर्छ । विश्वका विभिन्न देशले आफ्नो मुलुकको स्वास्थ्य नीतिमा क्यान्सर नियन्त्रणसम्बन्धि मुद्धाहरु समावेश गरेको पाइन्छ । तर नेपालको सन्दर्भमा क्यान्सर भएका बिरामीलाई १ लाख रुपियाँ उपचार खर्च दिनेबाहेक स्वास्थ्य नीतिमा क्यान्सर नियन्त्रण नीति समावेश भएको छैन । यसले देशभित्र गरिने क्यान्सरविरुद्धका हरेक गतिविधिको राम्रो परिणाम आउन सक्दैन । साथै व्यक्ति र सिंगो मुलुकलाई नै अनावश्यक आर्थिक बोझ बढाउँछ । त्यसैले क्यान्सर नियन्त्रण नीति ल्याउन हामी सबै एकजुट भएर लाग्नुपर्छ । सरकारलाई सहयोग गर्नुपर्छ । सरकारलाई दवाव दिन समेत पछि पर्न हुँदैन ।

क्यान्सर रोकथाम
शुरुको अवस्थामा क्यान्सर पहिचान भई बिरामीले राम्रो उपचार पाउन सकेमा एक तिहाई क्यान्सरबाट बच्न सकिन्छ । तर बच्नका लागि के गर्नुपर्छ ? भन्ने कुरा सबैले थाहा पाउनुपर्छ । क्यान्सर पहिचानका लागि ठाउँ ठाउँमा आवश्यक साधन श्रोतको उपलब्धता हुनुपर्छ । साथै दक्ष जनशक्तिको आवश्यकता पर्छ । सिस्टमको विकास हुनुपर्छ । यी सबै कुरा गर्न सामुहिक प्रयासको जरुरत हुन्छ । क्यान्सरबाट बच्न शारीरिक अभ्यासलाई जोड दिनुपर्छ । खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ । क्यान्सर रोकथामका लागि वाल्यवस्थादेखि नै शारीरिक अभ्यास र खानपानमा विशेष ख्याल गर्नुपर्छ । यस किसिमको सिस्टम विकास गर्दा जीवनशैलीलाई ध्यानमा राखेर गर्नुपर्छ । शहरको विकास गर्दा खुल्ला पार्कको व्यवस्था गर्नुपर्छ । यस्ता कुरामा सामुहिक प्रयासको जरुरत पर्छ । बजारमा राखिएका खाद्यान्न, तरकारी, फलफूल विषाक्तरहीत हुनुपर्छ । ठाउँठाउँमा स्वास्थ्य परीक्षण गर्ने पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गरिदिनुपर्छ । यसका लागि हामी सबैको हातेमालोको जरुरत पर्छ ।

स्वस्थ विद्यालयको अवधारणा
बिरामी भएपछि मात्र स्वस्थ्य जीवनशैली अपनाउने होइन । बाल्यावस्थादेखि नै स्वास्थ्य सचेतना हुन जरुरी हुन्छ । प्रायः हामीमध्ये धेरैजसो व्यक्ति ३० वर्षको उमेरसम्म खुलेर जिउँछौं । स्वास्थ्यप्रति त्यति सचेत हुँदैनौँ । रोगको शुरुवात् भएपति मात्र उपचारका लागि आउने प्रचलन छ । हाम्रा विद्यालयहरुमा बालबालिकालाई सानो उमेरदेखि स्वास्थ्य सचेतनाको पाठ नसिकाएको उपज हो यो । बालबालिकालाई परिवारदेखि नै शुरु स्वास्थ्यको महत्वसम्बन्धि पाठ नसिकाउँदा दीर्घकालीन रुपमा समस्याले निकास पाउन सकिरहेको छैन । त्यसैले विद्यालयका बालबालिकालाई स्वस्थ्य जीवनशैलीप्रति केन्द्रित गराउन जरुरी छ । विद्यालयमा पर्याप्त खेलमैदान हुनुपर्छ । स्पोर्टस्लाई ध्यान दिनुपर्छ । खेलमा राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । बच्चादेखि नै स्वस्थ्य खानपानको महत्वबारे ख्याल गराउनुपर्छ । शिक्षकले भनेका कुरा बालबालिकाले मान्ने गर्छन् । यद्यपी विद्यालयमा खाजाको रुपमा जंकफूडको प्रयोगमा रोक लगाउनुपर्छ । कुन खाना राम्रो, कुन नराम्रो भन्ने पाठ बाल्यावस्थादेखि नै सिकाउनुपर्छ । खेलकुद र शारीरिक अभ्यासतर्फ ध्यान केन्द्रित गराउनुपर्छ । स्पाइसी (चिल्लो, पिरो) खानामा रोक लगाउनुपर्छ । चिल्लोरहीत खाना खान प्रेरित गर्ने र फलफूललगायत सन्तुलित खानामा जोड दिनुपर्छ । बिद्यालयले अभिभावकलाई त्यही अनुसारको खानाको तालिका पठाउनुपर्छ । यसले ठूलो भएपछि पनि स्वस्थ खानपान र जीवनशैली अपनाउने बानी बस्छ ।

स्वस्थ्य कार्यस्थलको अवधारणा
कार्यालयहरुमा जीम, मेडिटेसनको ब्यवस्था गर्नुपर्छ । सरकारी एवं निजी क्षेत्रमा कार्यरत हरेक कार्यालयका कर्मचारीहरुको बार्षिक स्वास्थ्य परीक्षण प्याकेजको व्यवस्था गर्नुपर्छ । यसका लागि बजेट नै छुट्याउनुपर्छ । क्यान्सर स्क्रिनिङ निःशुल्क गरेमा भविष्यमा हुनसक्ने क्यान्सरको खतरा न्यूनिकरण गर्न सकिन्छ । कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई चुरोट, रक्सी सेवनमा पूर्ण रोक लगाउनुपर्छ । कार्यक्रमहरुमा रक्सीको प्रयोग नगरी स्वस्थ्य खानपानको व्यवस्था गर्न सकिन्छ ।

स्वस्थ्य शहरको अवधारणा
कुनै पनि टाउन प्लानिङ गर्दा प्रदूषणरहीत हुन जरुरी हुन्छ । पार्कको उचित व्यवस्था गर्नुपर्छ । शारीरिक अभ्यास गर्ने प्रयाप्त ठाउँ राख्नुपर्छ । जस्तोः साइकलिङ ट्रयाक, खेल मैदान आदि । साथै स्वास्थ्य परीक्षणका लागि अस्पतालको व्यवस्था गर्नुपर्छ । हरेक शहरी वस्तीमा स्वास्थ्य सम्बन्धि सुविधा उपलब्ध गराउन कञ्जुस गर्न हुँदैन ।

सामान्य कार्यमा फर्किन सहयोग गर्ने
क्यान्सर भएर उपचारका क्रममा रहेका वा निको भइसकेका व्यक्तिहरुमा चिन्ताले मोरल डाउन भएको हुन्छ । उनीहरुमा तनाव हुन्छ । उपचारका क्रममा क्यान्सर लागेको भाग निकाल्दा कतिपयमा शारीरिक अपाङ्गता हुनसक्छ । जस्तोः हात काटिएको, खुट्टा काटिएको, बोली बन्द भएको, स्तन नभएको आदि । यसरी आफ्नो शरीरको वनावटमा परिवर्तन हुँदा उनीहरुमा आफ्नो सामान्य काममा फर्किन कठिन भइरहेको हुन्छ । साथै रोगका कारण उनीहरुको क्षमतामा पनि ¥ह«ास आएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई सामान्य कार्यमा फर्किन साहस दिने र कार्यालयमा उसले गर्न सक्ने काम मात्र दिनुपर्छ ।

चुनौतिको सामना गर्न भ्रम र अन्धविश्वास हटाउने
क्यान्सर लागेपछि ज्यान जान्छ, रोग निको हुँदैन, पूर्व जन्मको दोष हो, नेपालमा उपचार हुँदैन, बायोप्सी गर्न हुँदैन, शल्यक्रिया गर्न हुँदैन, किमोथेरेपी कडा हुने भएकाले लिन हुँदैन जस्ता अन्धविश्वास र भ्रम हटाउन हामी सबैले पहल गर्नुपर्छ ।

क्यान्सर उपचारमा सबैको पहुँच बढाउने
क्यान्सर उपचारमा सम्बन्धित विशेषज्ञता भएको संस्थाको महत्वपूर्ण भूमिका हुन्छ । संस्थामा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण सम्पन्न हुनुपर्छ । हामी सबै मिलेर ठाउँ ठाउँमा सुविधा सम्पन्न क्यान्सर हस्पिटल उपलब्ध गराउन पहल गर्नुपर्छ । क्यान्सर बिरामीहरुको उपचारमा सहज पहुँच बढाउन हमी सबै मिलेर काम गर्नुपर्छ ।

देश सुहाउँदो नीति बनाउने
हामीले नेपालको माटो सुहाउँदो क्यान्सर न्यूनिकरणसम्बन्धि नीतिहरु बनाउनुपर्छ । यसका लागि हामीलाई क्यान्सर रोगीहरुको यथार्थ तथ्यांक जरुरी हुन्छ । नेपालमा कस्तो किसिमको क्यान्सर बढिरहेको छ ? निको हुने क्यान्सर, निको नहुने क्यान्सर, नेपालमा क्यान्सर हुने कारण, उपचारका लागि हस्पिटल, चिकित्सकको प्रर्याप्तता, उपकरण, भौतिक पूर्वाधार सबै पहिचान हुन जरुरी हुन्छ । सरकारले देशको माटो सुहाउँदो नीतिहरु बनाउनुपर्छ । यसका लागि स्थानीय, क्षेत्रीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय तहमा हामी सबैको सहकार्य जरुरी हुन्छ ।

‘म सक्छु’
आफैंबाट राम्रो कामको शुरुवात् गर्नुपर्छ । क्यान्सर उपचार र नियन्त्रणमा व्यक्तिगत योगदानको महत्वपूर्ण भूमिका हुन्छ ।

स्वस्थ्य जीवनशैली अपनाउने

स्वास्थ्यप्रति विशेष सचेत रहनुपर्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीको छनौट गर्नुपर्छ । क्यान्सरबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । म आफैंले क्यान्सरलाई जित्नसक्छु भनेर काम गर्नुपर्छ ।

चाँडो पत्ता लगाउने

शुरुको अवस्थामा क्यान्सर पत्ता लगाउन सकेमा निको पार्न सकिन्छ । यसका लागि बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । निश्चित उमेरपछि क्यान्सर स्क्रिनिङ पनि गराउनुपर्छ । लक्षण देखिएपछि उपचार गराउँला भनेर पर्खेर बस्न हुँदैन

क्यान्सर भएमा सहयोग माग्ने
क्यान्सर उपचारको क्रममा धेरैलाई सहयोगको जरुरी पर्छ । क्यान्सर भएपछि मनोबैज्ञानिक, सामाजिक, आर्थिक, उपचारात्मकलगायत धेरै कुराले प्रभाव पारेको हुन्छ । त्यसैले समस्या लुकाएर नराख्ने, सहयोग माग्नुपर्छ । यसबाट समस्या समाधानमा टेवा पुग्छ ।

निको भएपछि आफ्नो काममा सामान्य किसिमले फर्किने
क्यान्सरलाई सामान्य रोग जस्तै सम्झिनुपर्छ । निको भएपछि आफ्नो काममा सामान्य किसिमले फर्किनुपर्छ । आफ्नो शारीरिक क्षमताले भ्याएसम्म काम गर्नुपर्छ । यसले मस्तिष्क फ्रेस हुन्छ । समाजलाई योगदान दिन सक्छन् । क्यान्सर निको भएका कतिपयले स्वयंसेवकका रुपमा पनि काम गर्न सक्छन् ।

राम्रो उपचार गर्ने निर्णय लिने
हाम्रो समाजमा क्यान्सर भइसकेपछि प्रायः परिवारले बिरामीको हेरविचार गर्नुपर्ने परिपाटी छ । राम्रो उपचारका लागि परिवारले निर्णय गर्नुपर्छ । तर परिवारले मात्र होइन स्वयं बिरामीले राम्रो उपचार गर्ने निर्णय आफैंले गर्नुपर्छ ।

आफूले आफूलाई माया गर्ने
क्यान्सर भएकाहरुले आफूलाई माया गर्ने र क्यान्सर भएका अरु बिरामीलाई पनि माया गर्नुपर्छ । क्यान्सर उपचारमा इमोसनसम्बन्धि धेरै कुरा जोडिएका हुन्छन् । क्यान्सरका बिरामीले एक अर्कालाई माया र सहयोग गर्ने राम्रो वातावरण बनाउनुपर्छ ।

क्यान्सरविरुद्ध आवाज उठाउने
बिरामीले आफूलाई क्यान्सर भएकोबारे खुलेर बोल्नुपर्छ र क्यान्सर उपचार र नियन्त्रणमा वकालतका लागि खुलेर आवाज उठाउनुपर्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्