Logo
|
Thursday 19th September 2019
NEWS PAPER

रोल्पामा डाक्टर अभाव, प्रसुति सेवा ठप्प



जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त एकजना मात्र चिकित्सक भएका कारण उहाँको अनुपस्थितिमा सेवा प्रभावित हुँदै आएको बताइएको छ । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहेपनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो ।

प्रसूतिको दिन नजिकिएसँगै सेवा लिन जिल्ला अस्पताल आइपुगेकी दुईखोली गाउँपालिका कुरेली रोल्पाकी मञ्जु थापाले तालिम प्राप्त चिकित्सक नभएको खबरले आफूलाई चिन्तित बनाएको बताउनुभयो ।जिल्ला अस्पतालबाटै सेवा पाइन्छ भनेर घरबाट आइयो, यहाँ भने डाक्टर नहुँदा पैसा ऋण गरेर बाहिर जानुपर्ने भएको छ थापाले गुनासो गर्नुभयो ।रोल्पा नगरपालिका–२ की उमा चन्दले गर्भवती चेकजाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तरता नहुँदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताउनुभयो । जिल्लामै शल्यक्रिया सेवा भएकोमा खुसी लागेको भए पनि यसको निरन्तरता नहँुदा दुःख लागेको उहाँले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उहाँको भनाइ छ।अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जानकारी दिएको छ ।तालिमप्राप्त चिकित्सकको अनुपस्थितिसँगै अर्को चिकित्सक भर्ना गर्नका लागी दर्खास्त आह्वान गरिएको भएपनि कसैले दर्खास्त नदिँदा पदपूर्ति गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

नयाँ चिकित्सक भर्नाका लागि स्थानीय निकायसँग समन्वय भइरहेको साउदले बताउनुभयो । बजेटको सुनिश्चितता हुने बित्तिकै नयाँ चिकित्सक भर्ना गरिने साउदले जानकारी दिनुभयो । रोल्पामा विशेषज्ञ चिकित्सक आउन नमान्ने र जुनियर चिकित्सक पनि राम्रो अवसर पाउने बित्तिकै अर्को ठाउँमा गइहाल्ने भएका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो ।

निरन्तर सेवा दिनसके सेवाग्राहीको सेवाप्रति विश्वसनियता बढ्ने भएकाले सेवाग्राहीको विश्वास जित्नका लागि पनि निरन्तर सेवा जरुरी रहेको साउदले बताउनुभयो । यसका लागि जिल्लामा राजनीतिक दल, नागरिक समाज र बौद्धिक तप्काले समेत बारम्बार सहयोग गरिरहनुपर्ने उहाँले बताउनुभयो । जिल्ला अस्पतालबाट जटिल प्रसूति सेवा सञ्चालन भएसँगै सेवा लिनेको सङ्ख्या ६५ पुगेको जिल्ला अस्पताल रोल्पाका स्टाफ नर्स शर्मिला आचार्यले जानकारी दिनुभयो । अघिल्ला दुई वर्षमा ३१ जनाले मात्र सेवा लिएकोमा चालु आवको वैशाखसम्म ३४ जनाले सेवा लिएको देखिएकाले यसको विश्वसनीयता बढिरहेको आचार्यले बताउनुभयो ।

पछिल्ला दिनमा सेवा लिनेको आकर्षण बढिरहेको भएपनि तालिम प्राप्त चिकित्सकको अभावले सेवाग्राहीमा सेवाप्रतिको निरन्तरतामा सकारात्मक सन्देश नगएको आचार्यले प्रतिक्रिया दिनुभयो ।राम्रो सुविधा पाएपछि अन्यत्रै गइहाल्ने प्रवृत्तिका कारण जिल्लामा तालिम प्राप्त चिकित्सकको उपलब्धता हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टीका थापाले बताउनुभयो । चिकित्सकको व्यवस्थापनका लागि कार्यालय प्रमुख स्वास्थ्य मन्त्रालयमा गएकाले निकट भविष्यमा समस्या हल हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

तालिमप्राप्त चिकित्सकको दिगोपनाका लागि जिल्लामा सर्वदलीय बैठकबाट हल खोजिने थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल, रोल्पाले २०७१ साल फागुनदेखि जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो । हाल शल्यक्रिया गरिने कोठामा ताला लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गरी दाङ, प्युठान, बुटवल, नेपालगन्ज जान बाध्य भएका छन् ।

जिल्लामा प्रभावशाली नेता रहेपनि जिल्ला अस्पतालमा यस्तो समस्या हुनु राम्रो नभएको स्थानीयले गुनासो गरेका छन् । यतिबेला राज्यको प्रभावकारी निकायमा रोल्पालीको बाक्लो उपस्थिति रहेपनि अस्पतालको यस्तो अवस्थामा ध्यान नदिनु दुःखद् भएको भन्दै नागरिकले आक्रोश पोखेका छन् । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्