Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा कति महिलाले गर्छन् मदिरा सेवन ?



तराईको तुलनामा हिमाल र पहाडमा बस्ने महिलाले मदिरा सेवन गर्ने संभावना दोब्बर देखिएको छ । यसको कारण भौगोलिक एवं मौसमी वातावरण मानिएको छ । अनुसन्धानले पनि यसको पुष्टि गरेको छ । त्यसमा पनि शिक्षितको तुलनामा अशिक्षितले बढी मदिरा सेवन गर्छन् । कम उमेर समूह (१५—२९ वर्ष) का महिलाको तुलनामा अलि धेरै उमेर भएका अर्थात ३०—४४ वर्ष र ४५—६९ वर्ष उमेर समूहका महिलाहरुले धेरै मदिरा सेवन गरेको देखिन्छ ।

महिलाहरुलाई अल्कोहलको जोखिम दुई किसिमले हुनेगर्छ । एकातर्फ उनीहरुमा नसर्ने रोगको जोखिम बढाउँछ भने अर्कोतर्फ महिलाले सामान्य जीवनमा नियमित गरेको मदिरा सेवनले उनीहरुको गर्भधारण, स्तनपान आदिमा समस्या आउन सक्छ ।

मदिरा सेवन कतिले गर्छन् भन्ने बाहेक महिलाहरुले मदिरा सेवन गर्नुको पछाडि के–के कारण हुनसक्छन् भन्ने विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १५—६९ वर्ष उमेर समूहका २ हजार ८ सय महिलाहरुमा सर्बे गरेको थियो । सर्बेअनुसार करिब ११.७ प्रतिशत महिलाले जीवनमा एकपटक मदिरा सेवन गरेको देखिन्छ । बितेको एक वर्षमा ९.४ प्रतिशत महिलाले मदिरा सेवन गरेका छन् । ७.१ प्रतिशत महिलाले नियमित मदिरा सेवन गर्छन् । ०.९ प्रतिशत महिलाले हानिकारक हुने किसिमले मदिरा सेवन गर्छन् । (६० ग्राम भन्दा बढी मदिरा सेवनलाई हानिकारक मानिन्छ ।)

नेपाली महिलाको मदिरा सेवन स्थिति
विवरण वर्गिकरण जीवनमा एकपटक, वर्षमा एक पटक, दैनिक, हानिकारक प्रयोग
उमेर समूह (वर्ष) १५—२९ (संख्या ६८३) ७.६% ६.२% ४.४% ०.४ %
३०—४४ (संख्या ११४१) १४.७ % ११.८ % ८.९ % १.० %
४५—६९ (संख्या ९८३) १५.६ % १२.४ % ९.९% १.९ %
भौगोलिक क्षेत्र हिमाल (संख्या ११९७) १४.६ % ११.४ % ८.८ % १.५ %
पहाड (संख्या १९३) २६.१ % २३.७ % २१.० %३.० %
तराई (संख्या १४१५) ७.१ % ५.७ % ३.७ % ०.२ %
बसोबास ग्रामीण (संख्या२२९९) ११.७ % ९.८% ७.६ % १.० %
शहरी (संख्या ५०८) ११.७ % ७.० % ४.६ % ०.५ %
शैक्षिक स्तर नपढेको (११५२) १५.३ % १२.२ % ९.८% १.४ %
बैवाहिक सम्बन्ध बिवाह नभएका (१७१) ५.७ % २.९ % २.४ % ० %
वैवाहिक (संख्या २४५२) १२.६ % १०.४ % ७.८ % १ %
सम्बन्ध विच्छेद(संख्या १८४) १०.२ % ८.१ % ७ % १.५ %
जम्मा (संख्या २८०७) ११.७ % ९.४% ७.१ % ०.९ %

नसर्ने रोगको जोखिम
उमेर ढल्कदै जाँदा नसर्ने रोग जस्तैः मधुमेह, उच्चरक्तचाप जस्ता विभिन्न शारीरिक समस्या बढ्दै जान्छ । धेरै मदिरा सेवनले यस्ता रोगहरुलाई अझ धेरै बढावा दिन्छ । त्यसैले धेरै मदिरा सेवन गर्नाले नसर्ने रोगको जोखिमको संभावना पनि बढ्दै गएको छ ।

अनुसन्धान कसरी गरियो ?
यसमा १५ देखि ६९ वर्ष उमेर समूहका महिलाहरुलाई सहभागी गराइएको थियो । यसलाई नेशनल फिगर दिन देशभरका भु—भागबाट नमुना छनोट गरिएको थियो । मुलुकका करिब ५० वटा जिल्लाबाट नमुना छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्