Logo
|
Saturday 21st September 2019
NEWS PAPER

दुर्व्यसनमा युवा



संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभर करिब २० करोड मानिसले लागूपदार्थ प्रयोग गर्ने गर्छन् । नेपालमा लागूपदार्थ प्रयोग एवं दुर्व्यसन निरन्तर रूपमा बढ्दै गइरहेको सरकारी एवं गैरसरकारी संस्थाको तथ्यांकले देखाउँछ । तर देशव्यापी अध्ययनको अभावमा यसको यकिन अझै पनि निश्चित रूपमा गर्न सकिएको छैन ।

केन्द्रीय तथ्यांक विभागले सन् २०१३ मा गरेको एक अध्ययनमा अहिले नेपालमा रक्सी तथा सुर्तीजन्य पदार्थबाहेक करिब ९१,५३४ लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । तीमध्ये ७६।९ प्रतिशत ३० वर्षमुनिका पाइएको छ । त्यस्तै विभिन्न सर्वेक्षणअनुसार नेपालमा कुल जनसंख्याको २५–७३ प्रतिशत सुर्तीजन्य पदार्थ र १७।४ प्रतिशत जाँडरक्सी प्रयोग गर्ने गरेको पाइएको छ । यीमध्ये अधिकांश किशोर अवस्थाका प्रयोगकर्ताहरू सुर्तीजन्य, रक्सीजन्य, अफिमजन्य पदार्थ, गाँजा र बेन्जोडायजेपिन प्रयोग गर्छन् ।
१९८७ को साधारणसभाबाट संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जुन २६ मा विश्वभर लागूपदार्थ दुरुपयोग र अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यस वर्षको नारा ‘पहिले सुनौँ’ भन्ने छ । यस वर्षको विषय लागूपदार्थ दुर्व्यसन रोकथामका लागि, बालबालिका, किशोर एवं युवाहरूको कुरा गैरआलोचक एवं उनीहरूका समस्या ध्यानपूर्वक सुन्नु नै पहिलो प्राथमिकता रहेकोमा ध्यानाकर्षण गराउन खोजेको छ ।

लागूपदार्थ दुर्व्यसन आफैँमा एउटा जटिल स्वास्थ्य समस्या हो, जसको आफ्नो जैविक–मनोसामाजिक कारणहरू छन् । एकपटक प्रयोग गर्दैमा कुनै व्यक्ति त्यसमा निर्भर नभए पनि नियमित प्रयोगले भने दुर्व्यसनीमा निर्भर हुन पुग्छन् । प्रायःजसो निर्भर बनाउने प्रमुख कारणहरू नराम्रो साथीसंगत, घर तथा विद्यालयमा दुव्र्यवहार, हिंसा, घरछिमेक र विद्यालयमा अनुगमनको अभाव, लागूपदार्थको सहज उपलब्धता र त्यसप्रतिको स्वीकार्यता रहेको छ । प्रायःजसो लागूपदार्थमा पूर्ण निर्भर हुन त्यस पदार्थको प्रकृतिको आधारमा केही समय लाग्छ, जुन समय अति महत्त्वपूर्ण रहन्छ । यस समयमा प्रयोगकर्ताको भावना र चासोलाई ध्यानपूर्वक सुनी समाधान गरिएमा लागूपदार्थमा निर्भर हुनबाट बचाउन सकिन्छ । लागूपदार्थ दुर्व्यसनीको रोकथाम जति चाँडो गर्न सकियो यो त्यति नै प्रभावकारी हुन्छ र भविष्यमा यसबाट हुन सक्ने स्वास्थ्यसम्बन्धी कानुनी र सामाजिक जोखिमबाट प्रयोगकर्तालाई बचाउन सकिन्छ ।

लक्षण
किशोर अवस्थामा लागूपदार्थ प्रयोग सुरु भइसकेको प्रायः अभिभावक र शिक्षकले अलि ढिला थाहा पाउने गरेको पाइएको छ तर नियमित अनुगमन गरिएमा समयमै यसको पहिचान गर्न सकिन्छ । यस सन्दर्भमा सुरुआतमा देखिने महत्त्वपूर्ण पाँच लक्षण निम्न हुन्ः

१। हाउभाउ, व्यवहार र व्यक्तित्वमा असामान्य परिवर्तन देखिनु,
२। शैक्षिक प्रदर्शनमा गिरावट एवं विद्यालयमा अनुपस्थिति बढ्दै जानु,
३। साथीहरूको समूहमा अचानक परिवर्तन हुनु,
४। उच्च जोखिम व्यवहारमा वृद्धि, जस्तै– चोटपटक, हिंसा र यौन व्यवहारमा संलग्नता बढ्नु,
५। स्वास्थ्य अवस्थामा परिवर्तन देखिनु ९दुब्लाउने, खानामा अरुचि, निद्रा कमी० तथा लागूपदार्थ प्रयोग गर्न चाहिने उपकरण भेटिनु, ९सलाई, सुई, कपास आदि०

रोकथामका उपाय
किशोर अवस्थामा लागूपदार्थको प्रयोगको जोखिम रहन्छ भन्ने कुरा प्रत्येक अभिभावक र शिक्षकले बुझ्न जरुरी छ र लागूपदार्थ प्रयोगबारे थाहा पाएमा यसलाई कहिल्यै लुकाउन हुँदैन । यसरी लुकाएर ढाकछोप गर्दा अथवा हडबडमा सुजबुझ र परामर्शबिना यसलाई व्यवस्थापन गर्न खोजेमा यसको नतिजा झन् प्रत्युत्पादक हुन सक्छ । त्यसैले किशोर अवस्थाको सुरुआती प्रयोगको समयमा सहानुभूतिसहित उनीहरूको विचार सुनेमा मात्र यसले किशोररकिशोरीको लागूपदार्थ प्रयोगको सन्दर्भबारे महत्त्वपूर्ण जानकारी थाहा पाउन सकिन्छ । र यसलाई समयमै व्यवस्थापन गर्न सकेमा धेरै प्रयोगकर्तालाई लागूपदार्थमा निर्भर नहुन र व्यवहारमा परिवर्तन ल्याउन अभिभावक र शिक्षकलाई सहज हुन्छ । कहिलेकाहीँ भने समयमै सही सहयोग र उपाय अपनाए पनि लागूपदार्थको जटिल प्रकृतिले गर्दा केही यसको दुर्व्यसनमा निर्भर हुन पुग्छन् ।

नेपालमा लागूपदार्थ दुर्व्यसनीका लागि धेरै किसिमका उपचारका सम्भावना भए तापनि प्रचारप्रसारको कारणले सुधार केन्द्रलाई मात्र सर्वसाधारणले उपचारको एक मात्र विकल्प ठान्छन्, जुन ठीक होइन । लागूपदार्थ दुर्व्यसनीको प्रकार र प्रकृतिअनुसार यसका आफ्नै जटिलता एवं प्रमाण आधारित उपचार पद्धति छन् । धेरैजसो लागूपदार्थका दुर्व्यसनीको उपचार मनोचिकित्सकको परामर्श एवं उपचारबाट अस्पतालबाटै व्यवस्थापन गर्न सकिन्छ । यस्तो उपचार देशका प्रमुख अस्पताल एवं शिक्षण अस्पतालमा सजिलै लिन सकिन्छ । त्यस्तै केही लागूऔषध ९अफिमजन्य पदार्थ० को हकमा भने मौखिक प्रतिस्थापन उपचार पद्धति पनि प्रमाण आधारित उपचार पद्धति मानिन्छ, जुन सेवा देशभरि नै करिब १२–१५ स्थानबाट निःशुल्क प्राप्त गर्न सकिन्छ ।

लागूपदार्थ दुर्व्यसनी उपचारको अर्को महत्त्वपूर्ण उपचार पद्धति सुधार केन्द्र हुन् । देशैभर करिब १५० यस्ता केन्द्र सञ्चालित छन् । तिनले धेरै प्रयोगकर्तालाई पुनःस्थापन प्रदान गर्दै आइरहेका छन् । केही महिनाको अनिवार्य बसाइमा प्रयोगकर्ताहरूलाई दुर्व्यसनीमुक्त जीवन जिउने आधारभूत सीप सिकाइन्छ । प्रायः यस्ता केन्द्रहरू पूर्वलागूपदार्थ प्रयोगकर्ताहरूद्धारा सञ्चालित छन् ।
लागूपदार्थ दुर्व्यसनीको प्रकृति, प्रयोग अवधि र दुर्व्यसनीसँग सम्बन्धित अन्य स्वास्थ्य समस्याका आधारमा मनोचिकित्सकको सल्लाहमा उपचार पद्धति छनोट गरिएमा किशोरहरूलाई अधिक लाभ हुन पुग्छ । आजका किशोर–किशोरीहरू भविष्यमा राष्ट्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यो समस्यालाई गहन रूपमा मनन गरी यसको रोकथामका लागि समयसापेक्ष नीति तथा कार्यक्रम तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

यसरी हाम्रो समाजमा किशोरावस्थामा विकराल बन्दै गइरहेको लागूपदार्थ दुर्व्यसनबारे उनीहरूका कुरा पहिले सुनी, समयमा नै सही व्यवस्थापन गर्न अभिभावक, शिक्षक तथा प्रयोगकर्ता स्वयं जागरुक हुन जरुरी देखिन्छ । यस वर्षको लागूपदार्थ दुरुपयोग र अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसले दिन खोजेको नारा पनि यही नै हो । यसबारे राज्य र सम्पूर्ण सरोकारवालाले सकारात्मक पहल गर्नु नै अहिलेको आवश्यकता हो ।

डा। पन्त लागूपदार्थ दुर्व्यसनी बाहिरंग विभाग, मानसिक विभाग र डा। ओझा मानसिक विभाग, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका प्रमुख हुन् । कान्तिपुरबाट

NH
Health News
प्रतिक्रिया दिनुहोस्