Logo
|
Friday 19th April 2024
Logo

epaper

लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि



नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो ।

गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो ।

सो अवसरमा सहरी विकासमन्त्री प्रभु साहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदैं “लागुऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव छैन, यसका लागि सबै लाग्नुपर्छ भन्नुभयो ।”

उत्पादन र ओसारपसारलाई नियन्त्रण गर्नसके मात्र लागुऔषध नियन्त्रण हुन सक्छ उहाँले भन्नुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीले विश्वमा लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना घटेको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपालले पनि लागुऔषध दुरुपयोग सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउन लागेको चर्चा गर्दै उहाँले यसलाई सफल बनाउन सरकारी तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विश्वमा ३० करोड जनसङ्ख्या अवैध लागुपदार्थ प्रयोगकर्ता रहेको बताउँदै “लागुऔषध प्रयोग गर्नेमध्ये धरैजसो व्यक्ति स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित छन् भन्नुभयो ।”

गृह मन्त्रालयको आयोजनामा आज देशभर नै लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको छ ।

लागुऔषध नियन्त्रण शाखाले आव २०७३÷७४ मा १९ जिल्लामा गाँजा र अफिम नष्ट, झन्डै १० हजार विद्यार्थी तथा युवालाई यस सम्बन्धी चेतनामूलक कार्यक्रम, पूर्व लागुऔषध प्रयोकर्ताबाट तालिम प्रदान तथा ५० भन्दा बढी पुनःस्थापना केन्द्रको अनुगमन गरेको जनाएको छ ।

मन्त्रालयले सन् २०११ देखि २०१६ सम्म लागुऔषध प्रयोग गरी जेलपर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको जानकारी दिएको छ ।

यसअघि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले रत्नपार्कबाट बाजागाजासहित निस्केको पदयात्रा असन, जमल, दरबारमार्ग हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सम्पन्न भएको थियो ।

सो पदयात्रामा नेपाल सरकार गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत प्रहरी अधिकृत तथा विभिन्न विद्यालयका विद्यार्थीलगायतका सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्