Logo
|
Thursday 19th September 2019
NEWS PAPER

राज्यले गर्नुपर्छ दक्ष जनशक्ति उत्पादन र क्यान्सर क्रिनिङमा प्रेरित



 नेपाल क्यान्सर हस्पिटलका कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट, फाउन्डर एवं मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरे विगत एक दशकदेखि यो क्षेत्रमा अभ्यासरत हुनुहुन्छ । उहाँ युवा पुस्ताका डाक्टर हो । पुख्र्यौली घर ललितपुरको लामाटार सिस्नेरी भएपनि उहाँको जन्म काठमाडौंको पाको, न्युरोडमा भएको हो । उहाँको वाल्यकाल न्युरोडमा बित्यो र विगत ३० वर्षदेखि काठमाडौंको ताहाचलमा बस्दै आउनुभएको छ ।
डा. घिमिरेको अध्ययन राम्रो थियो । उहाँले कक्षा १० सम्म ललितपुरको मानभवनस्थित आदर्श विद्यामन्दिरमा पढ्नुभयो । उहाँ कक्षामा उत्कृष्ठ मध्येमा पर्नुहुन्थ्यो । डा. घिमिरे २०४६ सालमा एसएलसी उत्तीर्ण हुँदा मुलुकमा जनआन्दोलन भइरहेको थियो । नेपालमा अवस्था राम्रो नभएकाले आईएस्सी अध्ययनका लागि भारतको नैनीतालस्थित विड्ला विद्या मन्दिरमा जानुभयो ।
आईएस्सी सकेर नेपाल फर्किदासम्म डाक्टर बन्ने या इन्जिनियर ठेगान थिएन । उहाँको अध्ययन गणीत र बायलोजी भएकाले डाक्टर वा इन्जिनियरमध्ये कुनै एक विषय पढ्नसक्ने स्थितिमा हुनुहुन्थ्यो । त्यो बेला नेपालमा मेडिकल कलेज पनि त्यति थिएनन् । आफ्नो हजुरबुबा जसलाई उहाँले आफ्नो आदर्श मान्नुहुन्छ, वरिष्ठ कानुनविद् स्वर्गीय कृष्णप्रसाद घिमिरेको सुझाव बमोजिम उहाँले मेडिकल पढ्ने निर्णय लिनुभयो । त्यो बेला नेपालमा मेडिकल कलेज पनि त्यति थिएनन् । उहाँको उत्कृष्ठताका कारण भारतीय राजदुतावासको छात्रबृत्तिमा भारतमा एमबीबीएस अध्ययनका लागि जानुभयो । भारतमा एमबीबीएस अध्यनपश्चात् नेपाल फर्किएलगत्तै उहाँ जया आचार्यसँग बैवाहिक सम्बन्धमा बाँधिनुभयो ।
जया आचार्यको बुवा माननीय न्यायाधीस स्वर्गीय केदार नाथ आचार्य र डा. घिमिरेका हजुरबुवा स्वर्गीय कृष्णप्रसाद घिमिरे साथी भएका कारण उहाँहरुबीच मागी बिवाह सम्भव भयो । डा.घिमिरेका एक सुपुत्र शुभान्सु घिमिरे हुनुहुन्छ ।

एमबीबीएस अध्ययन गरी नेपाल फर्किएपछि त्रि.वि.शिक्षण अस्पतालमा काम शुरु गर्नुभयो । एक दिन कजन पर्ने स्वर्गीय डा. अञ्जनीकुमार शर्माको घरमा खाना खाने क्रममा उहाँलाई भक्तपुर क्यान्सर हस्पिटलमा काम गर्न डा. शर्माले बोलाउनुभयो । त्यो बेला डा. घिमिरे एम.डी.को तयारीका लागि बिदा लिएर बस्नुभएको थियो । भक्तपुर क्यान्सर हस्पिटलमा काम गर्न थालेपछि उहाँलाई क्यान्सर उपचारमा चाख र चासो बढ्न थाल्यो । त्यसपछि चाइनिज राजदूताबासको छात्रबृत्तिमा चीनमा गएर मेडिकल अंकोलोजीमा एम.डी. गरी सन् २००७ सालमा नेपाल फर्किनुभयो । उहाँले नयाँदिल्लीस्थित राजीब गान्धि क्यान्सर अस्पताल तथा अमेरिकाबाट मेडिकल अंकोलोजीमा फेलोसिप ट्रेनिङ हाँसिल गर्नुभएको छ । सन् २००७ सालदेखि क्यान्सर रोगको उपचारमा कार्यरत डा. घिमिरेलाई जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले आवरण पृष्ठमा प्रस्तुत गरेका छौं ।

  • अंकोलोजी क्यान्सरको एउटा नाम हो । यसको दायरा विशाल छ ।
  • क्यान्सर हुन नहुनमा शरीरको प्रतिरक्षा क्षमता र जीवनको वनावटमा निर्भर हुन्छ ।
  • बुढ्यौलीपन बढ्दै जाँदा जीवनको कुनै पनि कालखण्डमा क्यान्सर हुने संभावना रहन्छ ।
  • करिब ५ प्रतिशत वंशाणुगत र ९५ प्रतिशत जीवनशैली र अरु कारणबाट क्यान्सर हुने संभावना रहन्छ ।
  •  अस्वस्थकर वातावरण, विकिरण, बालीमा खाद मल (फर्टिलाइजर) को प्रयोग, अस्वस्थ्यकर खानपान आदिका कारण पछि हुने क्यान्सरको समस्या चाँडै देखिने गरेको छ ।
  • पहिलो चरणमा निदान भएमा धेरैजसो क्यान्सर ९०—९५ प्रतिशत सम्म निको हुनसक्छ । १५ देखि ४० वर्षसम्म क्यान्सरको सुरक्षित काल मानिन्छ ।
  • नेपालमा दक्ष जनशक्तिको अभावमा अन्धाधुन्द क्यान्सरको शल्यक्रिया भइरहेको छ ।
  • भारतमा गरिने क्यान्सर उपचारको तुलनामा नेपालमा आधा खर्चमा हुने गरेको छ ।

विकसित मुलुकतिर स्वास्थ्य सचेतनाका कारण नियमित स्वास्थ्य जाँच र स्क्रिनिङ हुने भएकाले पहिलो र दोस्रो चरणको शुरुवातीको अवस्थामा नै रोग पहिचान हुन्छ र धेरैलाई बचाउन सकिन्छ । तर नेपालमा करिब ७० प्रतिशत व्यक्ति तेस्रो र चौथो चरणमा उपचारका लागि अस्पताल पुग्ने गरेकाले समस्या छ ।

अंकोलोजी के हो ?
मेडिकल भाषामा क्यान्सरलाई अंकोलोजी भनिन्छ । क्यान्सर र अंकोलोजी परस्पर शव्द हुन् । टाउकोदेखि खुट्टासम्म कुनै पनि भागमा हुनसक्ने क्यान्सरका फरक फरक चरणमा थरीथरीका लक्षण देखिनसक्छन् । क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा जाँदा देखिने लक्षण फरक हुनसक्छन् । यसले मानिसको जीवनमा हुने मेटाबोलिक परिवर्तनदेखि खान नसक्ने कुरालगायत धेरै पारान्युप्लाष्टी परिवर्तनहरु देखिनसक्छन् । भिन्न प्रकारका क्यान्सरहरुको उपचार फरक तरिकाले गर्नुपर्छ । यद्यपी अंकोलोजी क्यान्सरको एउटा नाम हो । यसको दायरा विशाल छ ।
क्यान्सर कस्तो रोग हो ?
करोडौं कोषबाट शरीरको संरचना बन्छ । कोष डिएनए जीनबाट बन्छ । डिएनए जीनमा गडबड हुन थालेपछि शरीरमा कुनै पनि भागमा ट्यूमर, क्यान्सरलगायतका समस्या देखिनसक्छ । क्यान्सरले समस्याग्रस्त भाग वरिपरीका कोषहरुलाई असर गर्ने र विभिन्न माध्यमबाट शरीरका अंगहरुमा पुग्नसक्छन् । यसका साथै शरीरमा विभिन्न रसायनिक उत्पादन भएर धेरै किसिमका परिवर्तनहरु देखिनसक्छ । शरीरमा रासायनिक उत्पादन बढिरहने भएकाले शरीरले यसलाई धान्न सक्दैन र व्यक्तिको ज्यान जानसक्ने संभावना रहन्छ ।
क्यान्सर रोगमा शरीरको कोषभित्रको डिएनए उत्परिवर्तन (म्युटेसन) हुन्छ । त्यसपछि बनेका विकारका कोषहरु बढ्दै गएपछि क्यान्सर हुने हो । त्यसैले स्वस्थ्य जीवनशैली अपनाएर कोषलाई स्वस्थ्य राख्न सकेमा क्यान्सर हुने संभावना न्यून हुन्छ । जस्तोः नयाँ सोझा सेटलाई राम्रोसँग जतन गर्न सकेमा यो धेरै समयसम्म टिक्छ । तर जतन गर्न नसकेको अवस्थामा चाँडै समस्या आउनसक्छ भनेजस्तै हो । यसरी हाम्रो शरीरमा नयाँ कोष उत्पादन हुने र पुराना कोष मर्नेजस्ता सामान्य चक्र चलिरहँदा अस्वस्थ्यकर जीवनशैली, खानपान, विकारजन्य पदार्थ, विकिरण, औषधि, सुर्तिजन्य पदार्थको सेवन आदिले सामान्य कोषमा हमला हुन्छ । एउटा तहमा पुगेपछि क्यान्सर सप्रेसन जीनले असामान्य तरिकाले बढ्न थालेका कोषलाई मर्मत गरिरहेको हुन्छ । तर यसले पनि धान्न नसक्ने गरी हमला हुन थालेपछि क्यान्सरको संभावना रहन्छ ।
वुढेसकालमा क्यान्सरको जोखिम किन हुन्छ ?
कतिपय क्यान्सर वंशाणुगत हुन्छ । बुबा वा आमाको जीनमा खराबी भएका कारण त्यो समस्या सरेर सन्तानमा जाने गर्छ । साथै बुढेसकालमा खराब कोषलाई शरीरले जित्न नसकेपछि क्यान्सरले आक्रमण गर्ने संभावना धेरै हुन्छ ।
त्यसैले करिब ५ प्रतिशत वंशाणुगत र ९५ प्रतिशत जीवनशैली र अरु कारणबाट क्यान्सर हुने संभावना रहन्छ ।
वंशाणुगत हुने मुख्य क्यान्सरहरु के के छन् ?
यस्ता क्यान्सरहरुमा वंशाणुगत जीन खराब भएपछि सन्तानमा देखिँदै जान्छन् । जुन निम्न प्ररका छन् ।

  • रेटिनो ब्लास्टोमा
  • कोलोन क्यान्सर
  • स्तन क्यान्सर
  • ओभरियन क्यान्सर
  • छाला आदि

क्यान्सर दैवको खेल हो ?
क्यान्सरलाई दैवको खेल भन्ने वा अस्वस्थ्यकर जीवनशैलीको उपज । १० औं वर्षसम्म निरन्तर चुरोट खानेलाई क्यान्सर नभएर २—४ वर्ष चुरोट खानेलाई क्यान्सर भएका पनि धेरै उदाहरण भेट्न सकिन्छ । त्यसैले यसबारे एकिन गर्न नै गा¥ह«ो छ । त्यसैले क्यान्सर हुन नहुनमा शरीरको प्रतिरक्षा क्षमता र जीवनको वनावटमा निर्भर हुन्छ । क्यान्सरको समस्या बढ्नुमा मानिसको औसत आयु बढ्नु पनि एक कारण मानिन्छ । बुढ्यौलीपन बढ्दै जाँदा जीवनको कुनै पनि कालखण्डमा क्यान्सर हुने संभावना रहन्छ । डायग्नोष्टिक सेवाको पहुँचले क्यान्सर पहिचान सहज भएको छ ।
अस्वस्थकर वातावरण, विकिरण, बालीमा खाद मल (फर्टिलाइजर) को प्रयोग, अस्वस्थ्यकर खानपान आदिका कारण पछि हुने क्यान्सरको समस्या चाँडै देखिने गरेको छ ।
करिब ४०—५० प्रतिशत क्यान्सर के कारणले हुन्छ भन्ने थाहा छैन । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) का कारण हुने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेकाले यसको रोकथामका लागि भ्याक्सिनको उत्पादन भएको छ । यसबाट पाठेघरको मुखको क्यान्सर विश्वव्यापी रुपमा न्यूनिकरण हुँदै गएको पाइन्छ ।
क्यान्सरको सुरक्षित उमेर कुन हो ?
रक्तक्यान्सर, सार्कोमालगायत वंशाणुगत कारण हुने क्यान्सर १४ बर्षको किशोरावस्थासम्म देखिसक्छ । त्यसबाहेक बाहेक १५ देखि ४० वर्षसम्म क्यान्सरको सुरक्षित काल मानिन्छ । ४० वर्ष नाघेपछि फेरि क्यान्सरको संभावना बढ्छ । तर अहिले युवा पुस्तामा स्तन क्यान्सरको समस्या देखिन थालेको छ ।

बुढेसकालमा क्यान्सर हुने कारण के हो ?
जीवनभरको भोगाइका कारण कोषमा परिवर्तन हुँदै जाने भएकाले बुढेसकालमा क्यान्सर जोखिम बढ्दै जान्छ ।

नियमित परीक्षणका क्रममा क्यान्सर कतिको पत्ता लाग्छ ?
क्यान्सर भनेको कोषभित्र हुने परिवर्तन हो । शुरुको अवस्थामा कोषभित्र भएका परिवर्तन पत्ता लगाउन सकिँदैन । लक्षण नदेखिदै क्यान्सर पत्ता लगाउन सकेमा प्रभावकारी मानिन्छ । नियमित जाँचका क्रममा क्यान्सर पत्ता लगाउन सकिन्छ । तर शरीरमा क्यान्सरको लक्षण देखिदै गर्दा धामी झाँक्रीलाई विश्वास गरेर बस्ने, आफूखुशी विभिन्न औषधि खाएर बस्ने र पछि समस्याले निकास नपाएपछि मात्र जँचाउन आउने प्रचलनले क्यान्सर रोगबाट छुटकारा पाउन निकै मुस्किल पर्छ

क्यान्सरका लक्षण बताइदिनुस् न ?
क्यान्सर टाउकोदेखि गोडासम्मका कुनै पनि भागमा हुनसक्छ । त्यसैले लक्षणबाट यो पत्ता लगाउन गा¥ह«ो छ । विश्व स्वास्थ्य संगठनले क्यान्सरमा १० वटा लक्षणलाई मुख्य मानेको छ । यस प्रकारका लक्षण देखिएमा क्यान्सर हुनसक्ने संभावना भएकाले चनाखो बन्नुपर्छ । जस्तोः

  • शरीरमा देखिने कुनै पनि प्रकारको गाँठागुठी
  • शरीरका घाउखटिरा लामो समयसम्म निको नभएमा
  • खोकी लागिरहने, स्वर भासिने
  • खकारमा रगत देखिएमा
  • बिनाकारण दुब्लाउँदै गएमा
  • धेरै दिनदेखि जण्डिस निको नभएमा
  • पेट फुल्ने, पेटमा पानी देखिने
  • दिसा पिसाबमा रगत जाने, दिसा धेरै लाग्ने
  • कब्जियतको समस्या
  • शरीरमा भएको कोठीको आकार बढेमा

यहाँहरुले रोग उपचार र निदानमा के कस्तो काम गरिरहनुभएको छ ?
हाम्रो हस्पिटलमा जेनेटिकल काउन्सिलिङ तथा परीक्षण गरी व्यक्तिमा क्यान्सर हुने सम्भावना भए नभएको हेर्छौं । वंशाणुगत हुने क्यान्सरमा पहिलादेखि नै केही न केही खोट (डिफेक्ट) भएको हुनसक्छ । विशेषगरी स्तन क्यान्सर धेरै वंशाणुगत हुन्छ । आफ्नै घरमा फस्ट ब्लड रिलेसनमा क्यान्सर भएमा त्यसबाट जन्मिने पुस्तामा यस किसिमको समस्या हुने संभावना उच्च हुन्छ । कोलोनमा स—साना पोलिप भएमा पनि क्यान्सर हुनसक्ने संभावना बढी हुन्छ । वंशाणुगत हुने क्यान्सरमध्ये यो पनि एक हो । यसैगरी रेटिनो ब्लास्टोमा (यो आँखामा हुने एक प्रकारको क्यान्सर हो) पनि वंशाणुगत हुन्छ ।
नङ र कपालबाहेक शरीरका हरेक ठाउँमा क्यान्सर हुने संभावना रहन्छ ।
क्यान्सर एक अंगबाट अर्को अंगमा कसरी सर्छ ?
क्यान्सर एउटा ठाउँबाट शुरु भएर ब्लड वा लिम्फबाट शरीरका कुनै पनि भागमा जानसक्छ ।
एकपटक क्यान्सर भएर पूर्ण उपचार पाएपछि यो पछि बल्झिने संभावना कतिको हुन्छ ?
क्यान्सर एउटा यस्तो रोग हो जसमा १००% ग्यारेन्टी भन्ने हुँदैन । तर पहिलो चरणमा निदान भएमा धेरैजसो क्यान्सर ९०—९५ प्रतिशत सम्म निको हुनसक्छ । क्यान्सर आँखाले नदेखिने कोषमा शुरु हुने भएकाले निकालेको भागमा मात्र क्यान्सर हुन्छ भनेर कसैले पनि ग्यारेन्टी दिन सक्दैन । हामीले शल्यक्रिया गर्दा क्यान्सर भएको वरिपरीको भाग निकाल्ने कारण पनि त्यही हो । तर कहिलेकाँही वरिपरीको क्यान्सर लागेको भाग निकाल्न छुटेर फर्किनसक्छ । राम्रो उपचार सेवा पाएमा धेरैजसो क्यान्सर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरणसम्म पूरै निको हुनसक्छ । यस्ता उदाहरण धेरै छन् ।

विकसित मुलुकतिर स्वास्थ्य सचेतनाका कारण नियमित स्वास्थ्य जाँच र स्क्रिनिङ हुने भएकाले पहिलो र दोस्रो चरणको शुरुवातीको अवस्थामा नै रोग पहिचान हुन्छ र धेरैलाई बचाउन सकिन्छ । तर नेपालमा करिब ७० प्रतिशत व्यक्ति तेस्रो र चौथो चरणमा उपचारका लागि अस्पताल पुग्ने भएकाले समस्या छ ।

क्यान्सर कसरी बद्नाम बनिरहेको छ ?
क्यान्सर उपचारमा दक्ष जनशक्ति र डायग्नोष्टिकसम्बन्धि अत्याधुनिक प्रविधिको महत्व धेरै हुन्छ । दक्ष जनशक्तिबाट मात्र भरपर्दो शल्यक्रिया हुनसक्छ । तर नेपालको सन्दर्भमा क्यान्सर निको नहुने जोखिम कारकमा शल्यचिकित्सक पनि पर्छन् । दक्ष जनशक्तिको अभावमा अन्धाधुन्द क्यान्सरको शल्यक्रिया हुने गरेको पाइन्छ । यसले क्यान्सर लागेको भाग पूर्ण रुपमा बाहिर आउँदैन र रोग बल्झिएको पाइन्छ । धेरै बिरामी मृत्युको मुखमा पुग्छन् । अनि निको नहुने रोग भनेर क्यान्सर बद्नाम बनिरहेको छ ।
शल्यक्रियाका लागि सिफारिस गर्ने प्रचलन कतिको छ ?
नेपालमा शल्यक्रियाका लागि दक्ष शल्यचिकित्सकलाई रिफर गर्ने प्रचलन छैन । क्यान्सरको शल्यक्रिया नन क्यान्सरका डाक्टरले गरिरहेका छन् । क्यान्सरको शल्यक्रियामा मेटास्टाटिक कार्यशालाको धेरै जरुरी हुन्छ । शल्यक्रिया गर्नअघि क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा गएनगएको हेर्नुपर्छ । जस्तोः नेपालमा स्तनमा क्यान्सर देखिएमा स्तनको शल्यक्रिमा मात्र धेरै शल्यचिकित्सकको ध्यान केन्द्रित हुन्छ । तर फोक्सो, कलेजोआदिमा क्यान्सर गएनगएको हेर्ने प्रचलन छैन । स्तनको शल्यक्रिया गरेपनि किमो दिँदा फोक्सो र कलेजोमा क्यान्सर फैलिसकेको पाइन्छ । डाक्टरको क्षमता र क्यान्सरको राम्रो पहिचान भएमा तेस्रो चरणसम्मको क्यान्सरमा उपलब्धी हाँसिल गर्न सकिन्छ ।
सरकारले दिएको १ लाख सहुलियतबारे के भन्नुहुन्छ ?
सरकारले क्यान्सर बिरामीलाई औषधोपचारका लागि एक लाख रुपियाँ सहुलियत दिएको छ । यो सहुलितय पनि राम्रो कुरा हो । तर यो भन्दा पनि महत्वपूर्ण के छ भने राज्यले हरेक क्षेत्रमा एक वटाका दरले सुविधासम्पन्न क्यान्सर हस्पिटलको स्थापना गर्ने, क्यान्सरको उपकरण खरीदमा सहुलियत दिने, दक्ष जनशक्ति उत्पादन गर्ने र क्यान्सर क्रिनिङमा प्रेरित गर्नुपर्छ । देशभर क्यान्सर पहिचान र उपचारको व्यवस्था गर्नुपर्छ । हरेक मेडिकल कलेजमा एउटा क्यान्सर युनिटको व्यवस्था लागू गर्नुपर्छ ।

नेपालमा क्यान्सरको इन्टरनेशनल क्लिनिकल ट्रायल हुनुपर्छ । क्लिनिकल ट्राएल पछि मात्र नेपाली जनताले विश्वको वेष्ट उपचार सेवा प्राप्त गर्न सक्छन् । क्लिनिकल ट्रायल भनेको संसारमा आएका क्यान्सरका महँगा नयाँ मेडिसिन बिरामीले निःशुल्क प्राप्त गर्न सक्नेछन् । नेपाल क्यान्सर हस्पिटलले हामी क्लिनिकल ट्रायलका लागि आवेदन गर्दैछौं । क्यान्सर उपचारका लागि सरकारले दिने १ लाख रुपियाँ बराबरको सेवा यस हस्पिटलबाट पनि प्राप्त हुन्छ ।

नेपालमा गरिने क्यान्सर उपचार कतिको महँगो छ ?
नेपालबाट क्यान्सर उपचारका लागि हजारौं मानिस विदेशिने गरेका छन् । अर्बौंको रकम विदेश पलायन भइरहेको छ । अमेरिका क्यान्सर हस्पिटल खोल्दा शुन्य प्रतिशत व्याजमा ऋण उपलब्ध हुन्छ । युरोपमा करिब १—२ प्रतिशत छ । नेपालमा करिब ११ प्रतिशत भन्दा बढी बैंक ब्याज भएकाले निजी क्षेत्रबाट उपलब्ध हुने उपचार सेवा अलि महँगो भएको हो । तर खुशीको कुरा भारतमा गरिने क्यान्सर उपचारको तुलनामा आधा खर्चमा नेपालमा हुने गरेको छ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्