Logo
|
Friday 29th March 2024
Logo

epaper

अब मृत्यु खेर जाँदैन



‘आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।’
उल्लेखित हरफले मृत्युलाई कसैले टार्न नसक्ने कुरा स्पष्ट पारेको छ । तर मृत्यु भएपछि खेर जाने मृतकको शरीरका केही अंग निकालेर अर्को बिरामीको शरीरमा प्रत्यारोपण गरेर मृत्युको मुखमा पुगेका व्यक्तिलाई बचाउन सकिन्छ । यो जतिको पुण्य अरु केही हुन सक्दैन ।
नेपालमा पहिलोपटक भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिबाट सफल मिर्गौला प्रत्यारोपण गरेको छ । यसले ब्रेन डेथ भएका व्यक्तिहरुको अंगदानसम्बन्धि महत्व बढाएको छ ।

सडक दुर्घटनामा घाइते भई उपचारका लागि गत वैशाख २७ गते काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना भएका सिन्धुली खाङसाङका ३० वर्षीय गोविन्दबहादुर भुजेलको उपचारको क्रममा वैशाख २८ गते ब्रेन डेथ भएको थियो ।
ब्रेन डेथ भएका मृतक भुजेलका अंगहरु अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने कानुनी प्रावधान भएकाले यसका लागि केन्द्रका चिकित्सकहरुलाई जानकारी गराइएको थियो । कान्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर राजिब पाण्डको संयोजकत्वमा अस्पतालका चिकित्सकहरु र मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सकहरु बसी मृतक भुजेलको आफन्तहरुसँग मञ्जुरी लिएका थिए ।
सबै कानुनी प्रक्रिया पूरा गरी कान्तिपुर अस्पतालकै अप्रेसन थियटरमा मृतक भुजेलको शरीरबाट प्रत्यारोपण गर्ने अंग निकालिएको थियो । उनबाट दुइवटा मिर्गौला र कलेजो निकालिएको थियो ।
उनको मिर्गौला मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत मिर्गौला फेल भएका सुनसरीका ५१ बर्षीय गोविन्द प्रसाद तिमल्सिना र लाजिम्पाटका १५ वर्षीय मिलन श्रेष्ठमा वैशाख २८ गते सफल प्रत्यारोपण गरियो । एकजनाको मिर्गौलाबाट २ जनाको ज्यान जोगिएको छ ।
मिर्गौला प्रत्यारोपित बिरामी लिमिील्सना भन्नुहुन्छ—सबैले अंगदान गरौं । कसैले पनि अकालमा मृत्यु हुन नपरोस् । म जस्ता धेरै बिरामीले नयाँ जीवन प्राप्त गर्न मद्धत पुगोस् ।’
अर्का मिर्गौला प्रत्यारोपी बिरामी श्रेष्ठको भनाइ छ—‘मिर्गौला दान दिने व्यक्तिको परिवारले ठूलो गुन लगायो । त्यसैले मृत्यु भएका सबैले अंगदान गर्नुपर्छ ।’

यो सफलतासँगै अब मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंग झिकेर धेरै बिरामीको ज्यान जोगाउन सकिने अवस्था सृजना भएको छ ।

विगतमा नेपालमा ५ पटक ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्रत्यारोपण प्रयास भएपनि केन्द्रमा सफल भएको यो पहिलोे हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. राजिव राज पाण्डे, केन्द्रका वरिष्ठ अंग प्रत्यारोपणविद डा. पुकार चन्द्र श्रेष्ठ सम्मिलिन टोलीलाई अंगदानका लागि मृतकका आफन्तलाई बुझाउन एक दिन लागेको थियो । मृतकबाट झिकिएको दुई वटा मिर्गौला त प्रत्यारोपण गरियो । तर कलेजो प्रत्यारोपणका लागि बिरामी डराएकाले सम्भव भएन ।
मस्तिष्क मृत्यूबाट हुने मानव अंग प्रत्यारोपण सेवा अत्यन्त संवेदनशील, अति जटिल र चुनौतिपूर्ण छ । यसका लागि चौबीसै घण्टा अत्याधुनिक एचएलए ल्याब उपलब्ध हुनुपर्छ ।
मानव अंग प्रत्यारोपणका लागि अत्याधुनिक उपकरण, उच्चस्तरीय अपरेशन थिएटर र भरपर्दो आईसियू सेवाको व्यवस्था हुनुपर्छ । मस्तिष्क मृत्यू घोषणा गर्ने तरिका, यसका लागि आवश्यक जनशक्तिको पनि उत्तिमै भूमिका रहन्छ ।
कान्तिपुर अस्पतालजस्तै काठमाडौंका धेरैजसो अस्पतालहरुमा मस्तिष्क मृत्यु भएका व्यक्तिको शरीरबाट अग झिक्ने सुविधा भएकाले मस्तिष्क मृत्यूबाट हुने प्रत्यारोपण नेपालमा शसक्त रुपमा अघि बढाउन सकिन्छ ।
यसमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले ठूलो गुन लगाउनुभएको छ । उहाँले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपणसम्बन्धि नियमावली रातारात बनाई तीन दिनभित्र मन्त्री परिषद्बाट पास गरेर कार्यान्वयमा ल्याउनुभएको थियो । निवर्तमान स्वास्थ्यमन्त्री थापाका भन्नुहुन्छ—‘लामो समयको प्रयासबाट मस्तिष्क मृत्युसम्बन्धि अंग प्रत्यारोपणको नियम बनेको हो । अंगदान भन्दा ठूलो दान केही हुनसक्दैन ।’
मस्तिष्क मृत्युसम्बन्धि अंग प्रत्यारोपण प्रयासमा वरिष्ठ प्रत्यारोपणविद् एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको भूमिका अतुलनीय छ ।
विगतमा हाम्रंो देशमा मस्तिष्क मृत्युसम्बन्धि कानुनी प्रक्रिया अपूर्ण र कार्यान्वन्य गर्न सकिने खालको थिएन । यसलाई सहज बनाउन महिला बाल विकास तथा समाज कल्याण समितिकी अध्यक्ष रञ्जु झा, सभासद राधेश्याम अधिकारी र तत्कालीन कानुनसचिव (हाल मन्त्री परिषद्का सचिव) कोमलशाली घिमिरेको भूमिका ठूलो छ । उहाँहरुले विगत ९ वर्षदेखि यसलाई सहज बनाउन निरन्तर प्रयास गर्नुभएको थियो ।
जनचेतना
‘मस्तिष्क मृत्यू भएको व्यक्तिको परिवारले अंग झिक्न स्वीकृति नदिने र मस्तिष्क मृत्यूबाट प्राप्त अंग बिरामीले ग्रहण गर्न नचाहेमा मस्तिष्क मृत्युसम्बन्धिको प्रत्यारोपण कार्यक्रम अघि बढ्न सक्दैन ।’—वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठको भनाइ छ । धार्मिक आस्था, सामाजिक रितिरिवाज र जनचेतनाको अभावका कारण अहिले पनि मुस्लिम समुदायमा अंगदानलाई राम्रो मानिदैन । जापानमा मस्तिष्क मृत्यु सम्बन्धि कार्यक्रम अघि बढ्न नसक्नु पनि यसैको उपज हो ।
आर्थिक अवस्था
उपचारका क्रममा मस्तिष्क मृत्यु भएको व्यक्तिको धेरै खर्च हुने भएकाले मृतकको परिवारलाई सान्त्वना स्वरुप केही आर्थिक सहयोग दिएर मस्तिष्क मृत्युसम्बन्धि अंग पत्यारोपणलाई अझ व्यापक बनाउनुपर्ने महिला बाल विकास तथा समाज कल्याण समितिकी अध्यक्ष झा बताउनुहुन्छ ।
अहिले मानव अंग प्रत्यारोपण केन्द्रले ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानसँग एचएलए परीक्षणका लागि सहकार्य गरेको छ । सन् २०१० मा करिब साँडे २ करोडमा स्थापना भएको यस प्रतिष्ठानमा छिमेकी देश भारमा ८० हजार पर्ने एचएलए टेष्ट करिब ५० हजारमा हुने गरेको छ । बाहिर जाने नमुनाको रिपोर्टका लागि २ हप्ता कुर्नुपर्ने भएकाले मस्तिष्क मृत्यू भएको व्यक्तिको अंग काम लाग्ने अवस्थाबाट गुज्रिसकेका हुन्थे । अब प्रतिष्ठानमा तत्काल परीक्षण हुने गरेको उल्लेख छ । साथै अंग प्रत्यारोपित व्यक्तिहरुले खाने औषधि मापन गर्ने उपकरण पनि प्रतिष्ठानमा उपलब्ध छ ।
नेपालमा अंगदानमा महिलाहरुले बढी स्कोर पाउँछन् । नेपालको सन्दर्भमा अंग लिने ९० प्रतिशत पुरुष र अंग दिने ८० प्रतिशत महिला रहेको उल्लेख गर्दै डा. श्रेष्ठ भन्नुहुन्छ—‘यस किसिमको भेदभाव हटाउन मस्तिष्क मृत्यूको अंगदान बाँडफाँडमा महिलाहरुलाई ३ स्कोर दिएको छ भने पुरुषहरुलाई १ स्कोर दिएको छ ।’
मानव अंग प्रत्यारोपण केन्द्रलाई नेपाल सरकारले मस्तिष्क मृत्यु सम्बन्धि सम्पूर्ण कार्यक्रम चलाउन केन्द्रीय समन्वय इकाइको रुपमा मान्यता दिएको छ ।
शुरुका दिनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिक्न नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, वीर अस्पताल, ब्लुक्रस हस्पिटलबाट फोन आएको थियो । त्यसमध्ये ३ जना मृतकका आफन्तले अंगदान दिन चाहेनन् । ढिलो खबर आएका कारण २ वटाको अंग काम नलाग्ने अवस्थामा थिए ।
मस्तिष्क मृत्यु घोषणा गर्ने क्रममा परिवारको समन्वयमा परेन्सिक एक्सपर्टले पोष्टमार्टम गरिसकेपछि मृतकको शरीरबाट अंग निकाल्न सिफारिस गर्नुपर्छ र पुलिसले कुनै पनि अपराधिक शंका नभएको घोषणा गर्नुपर्छ ।
मिर्गौला प्रत्यारोपणका लागि लागि १० हजार डोनरमध्ये एकजनाको मृत्यु हुनसक्छ । कलेजो प्रत्यरोपणमा ०.०२ डोनर रिक्स हुने र धेरै स्वास्थ्य जटिलता आउनसक्छ । तर मस्तिष्क मृत्यु भएकाहरुको अंग निकाल्दा डोनर रिक्स शुल्य भएको डा. श्रेष्ठको भनाइ छ ।
एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट २ वटा मिर्गौला, २ वटा आँखाको नानी, १ कलेजो, १ फोक्सो, १ प्याँक्रियाज, सानो आन्द्रा, छाला आदि निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । त्यसैले अब नेपालमा अंगदाताको अभावमा कोही पनि मर्नुपर्ने अवस्था वरिष्ठ पत्यारोपणविद् डा. श्रेष्ठले स्पष्ट पार्नुभयो ।
नेपालमा सडक दुृर्घटनाबाट दैनिक ५ जनाको मृत्यू हुने गर्छ । काठमाडौंमा मात्र १ हजार जनाको मस्तिष्क मृत्यू हुने गरेको तथ्यांक छ । १ हजार जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकाले बाट २ हजार मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । जबकि वर्षमा ३ हजार जनालाई मिर्गौला प्रत्यारोपणको जरुरी पर्ने केन्द्रले जनाएको छ ।
यसले नेपालमा प्रत्यारोपणमा हुने लैंगिक विभेद र मिर्गौला वेचविखन कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । साथै मिर्गौला प्रत्यारोपणका लागि वर्षेनी बाहिरिने करिब ६ अर्ब रुपियाँ रोक्न मद्धत गर्छ । नेपलाबाट कलेजो प्रत्यारोपणका लागि बर्षेनी ५० करोड रुपियाँ बाहिरिने गरेको अनुमान छ ।
मन्त्री परिषद्का सविच कोमशलशाली घिमिरे भन्नुहुन्छ—‘मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग सहज रुपमा प्राप्त गर्न गाउँ गाउँ, टोल टोलमा जनचेतनाका कार्यक्रमहरुलाई व्यापक लैजानुपर्छ ।’
सभासद राधेश्याम अधिकारीको भनाइ छ—‘यो कार्यक्रमले निरन्तरता पाउनुपर्छ । यसलाई सस्टनेबल बनाउनुपर्छ ।’
पूर्व परराष्ट्र मन्त्री महेन्द्र श्रेष्ठको कथन छ—‘विद्यालयको हेल्थ एजुकेसनमा मस्तिष्क मृत्युसम्बन्धि अंगदानलाई प्राथमिकताका साथ राख्न जरुरी छ ।’
कान्तिपुर हस्पिटलका अध्यक्ष सिबी लामा भन्नुहुन्छ—‘मस्तिष्क मृत्युसम्बन्धि अंगदानले भारतमा गएर मिर्गौंला बेच्ने समस्या न्यूनिकरणमा ठूलो भूमिका निर्वाह गर्छ ।’
अंगदानको सवालमा भगवान गणेशको टाउको जोडिएको कुरादेखि दक्ष प्रजापतिको टाउको जोडिएकोसम्म शास्त्रहरुमा चर्चा गरिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्