Logo
|
Thursday 18th April 2024
Logo

epaper

दोस्रो कलेजो प्रत्यारोपण सफल



‘कलेजो प्रत्यारोपणलाई स्थापित गराउनसके नेपालको स्वास्थ्यसेवा दक्षिण एसियामा भारतपछि उत्कृष्ट ठहरिनेछ’

मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । भारतीय विशेषज्ञहरूको प्राविधिक सहयोगमा प्रत्यारोपण गरिएको हो । यसअघि दक्षिण कोरियाली विशेषज्ञहरूको सहयोगमा ६ महिनाअघि मुलुकमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो ।

दक्षिण एसियामा भारतीय अस्पतालले मात्रै कलेजो प्रत्यारोपण सेवा नियमित रूपमा दिइरहेका छन् । पाकिस्तान र बंगलादेशमा समेत कुनै–कुनै केन्द्रले यो सेवा सुरु गरे पनि नियमित हुन सकेको छैन ।

मानव अंग प्रत्यारोपण केन्द्रले ११ घण्टा लामो शल्यक्रिया गरेर लगनखेलका ५७ वर्षीय हिराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरेको हो । महर्जनकी छोरी सरिताले कलेजो दान दिएकी थिइन् । कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा।डा। सुभास गुप्ताको सहयोगमा ३० चिकित्सक, नर्सलगायतको टोलीले उक्त प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणमा १० भारतीय प्राविधिकसमेत सहभागी थिए । प्रत्यारोपणमा संलग्न नेपाली टोलीको नेतृत्व केन्द्रका निर्देशक एवं वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा। पुकारचन्द्र श्रेष्ठले गरेका थिए ।

‘हामीले अब महिनामा न्यूनतम एकपटक कलेजोको प्रत्यारोपण गर्ने योजना बनाएका छौं’, डा। श्रेष्ठले कान्तिपुरसँग भने, ‘सुरुमा करिब २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्ने तयारी गरेका छौं ।’ केन्द्रको दाबीअनुसार भारतलगायत विकसित मुलुकमा कलेजो प्रत्यारोपण गराउँदा करिब एक करोडदेखि डेढ करोड रुपैयाँसम्म खर्च लाग्ने गर्छ । मुलुकमा कलेजो फेल हुने समस्या बढ्न थालेको छ । अध्ययनअनुसार नेपालमा करिब ८ लाख व्यक्तिमा कलेजोसम्बन्धी कुनै न कुनै रोग देखिएको छ । त्यसमध्ये करिब १० हजार जनामा कलेजो फेल भएको अनुमान गरिएको औंल्याउँदै डा। श्रेष्ठ भन्छन्, ‘अत्यधिक मदिरा सेवन नै हामीकहाँ कलेजो फेल हुने मुख्य कारणका रूपमा देखिएको छ ।’

मुलुकमा वयस्कमा अन्य धेरै कारणसँगै मुख्य रूपमा लामो समयसम्म अत्यधिक मदिरा सेवन, दीर्घकालीन हेपाटाइटिस बी र सीले गर्दा हुने सिरोसिसका लागि कलेजो प्रत्यारोपण आवश्यक भइरहेको डा। श्रेष्ठले बताए । उनले कलेजो प्रत्यारोपण सेवालाई सफल रूपमा स्थापित गराउनसके नेपालको स्वास्थ्यसेवा दक्षिण एसियामा भारतपछि उत्कृष्ट हुने दाबीसमेत गरे ।

‘कलेजो प्रत्यारोपण टिम वर्कको नतिजा हो, यसमा व्यापक रूपमा विशेषज्ञको टोली चाहिन्छ’, अमेरिकाको एटलान्टास्थित पिडमान्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा कलेजो प्रत्यारोपणका चिकित्सा निर्देशक डा। रोशन श्रेष्ठले भने । हाल काठमाडौंमा रहेका डा। श्रेष्ठ १२ वर्षयता करिब एक हजार कलेजो प्रत्यारोपणमा संलग्न भइसकेका छन् ।

उनले कलेजो प्रत्यारोपणको दिशामा भक्तपुरस्थित केन्द्र सकारात्मक रूपले अगाडि बढिरहेको समेत उल्लेख गरे ।

केन्द्रद्वारा दोस्रोपटक गरिएको कलेजो प्रत्यारोपणमा केन्द्रका डा। सुबोध अधिकारी, डा। छेतेन योञ्जन, डा। प्रवीन जोशी, डा। आरती राई, डा। किरण अधिकारी, डा। महालक्ष्मी देउजा, डा। दिपेश गुरुवाचार्य, डा। निरज जोशी, डा। सुभास आचार्य, इन्दिरा प्रधान, मेरिना श्रेष्ठ, अनिता कार्की, सृष्टि साह, शर्मिला कोजलगायतले सघाएका थिए ।-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्