Logo
|
Thursday 28th March 2024
Logo

epaper

बेसहारा बृद्धाको ओढारबाट हेलिकोप्टरमा उद्धार



 सिमकोट  कुष्ठ रोग लागेपछि १८ वर्षदेखि ओढारमा बस्दै आउनु भएकी ८४ वर्षीय गोला शाहीको आइतवार उद्धार गरिएको छ । पतिको मृत्युपछि वेसाहारा भएर नाम्खा गाउँपालिका खोल्सीको ओढारमा बस्दै आउनु भएकी गोलाका बारेमा अन्नपूर्णले समाचार प्रकाशित गरेपछि विभिन्न ठाउँबाट आएको सहयोगले आइतबार ओढारदेखि हेलिकप्टरबाट उद्धार गरिएको हो । १९ वर्ष अघि गोलाको पतिको निधन भएको थियो ।

अन्नपूर्णकर्मी नवराज महताराको नेतृत्वमा गएको महिला विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय,रेडियो कर्णाली आवाज सिमकोट हुम्लाको संयुक्त टोलीले आइतवार शाहीलाई उद्धार गरेको हो । कुष्ठ रोगले हातका औला झर्न थालेपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ८ खोल्सीमा भएको माइतीले घर निकाला गरेपछि २०५७ सालदेखि गोला ओढारमा बस्दै आउनु भएको थियो ।

समाचार प्रकाशित भएपछि काठमाडौको कपनमा भएको न्यू स्याडल, द्धन्द्धपिडित र अपाङ्गता केन्द्र, महिला तथा वालवालिका कार्यालयको आर्थिक सहयोगमा शाहीलाई उद्धार गरिएको हो । दुवै हात र खुट्टाका औला पुरै झरेर खुट्टामा समेत गम्भीर घाउँ भएर ओढारमै थलिनु भएकी शाहीलाई उपचारका लागि उद्धार गरिएको महिला तथा वालवालिका कार्यालय हुम्लाकी कल्पना लामाले जानकारी दिनुभयो ।

सञ्चार माध्यम मार्फत समाचार प्रकाशित भएपछि देश विदेशमा भएका नागरिक र जिल्लाका निकायहरुको संयुक्त पहलमा गोलाको उद्धार गरिएको प्रमूख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सञ्चारकर्मीको खोज पत्रकारिताले नारकिय जीवन बिताउन बाध्य भएकी गोलाको उद्धार गर्न संभव भएको हो ।

हेिलकोप्टर मार्फत सिमकोटमा ल्याएर महिला तथा वालवालिका कार्यालयमा राखिनु भएकी शाहीलाई सोमबार नै नेपालगञ्ज हुँदै काठमाडौं लैजाने निर्णय गरिएको छ । काठमाडौको आनन्द वन अस्पतालमा उहाँको निशुल्क उपचार गर्ने र उपचार पश्चात जोरपाटीमा भएको द्धन्द्धपिडित र अपाङ्गता केन्द्र नामक संस्थाले आजीवन पालन पोषणको व्यवस्था गर्ने जनाइएको छ ।-अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्