Logo
|
Thursday 19th September 2019
NEWS PAPER

दोस्रो कलेजो प्रत्यारोपित घर फर्किए



नेपालमा दोस्रो सफल कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई आज अस्पतालबाट घर पठाइएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा गत असार १८ गते कलेजो प्रत्यारोपण गरिएका काठमाडौं लगनका ५७ बर्षीय हिराकाजी महर्जनलाई साउन १ गते घर पठाइएको हो । उनलाई आफ्नो २४ वर्षीया छोरी सरिना महर्जनले कलेजो दान दिएकी छन् ।

अहिले महर्जनको स्वास्थ्य अवस्था ठीक भएको र सामान्य अवस्थामा आएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको वरिष्ठ प्रत्यारोपणविद् एवं मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो । डा. श्रेष्ठको नेतृत्वमा महर्जनको कलेजो प्रत्यारोपण गरिएको थियो । पत्रकारहरुबीच महर्जनले भन्नुभयो—‘मेरो जीवन बचाउन सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल कर्मचारी सबै प्रति आभार व्यक्त गर्दछु ।’ अत्यधिक रक्सी सेवनका कारण महर्जनको कलेजो विफल भएको थियो । नेपालमा करिब २० देखि २५ लाख रुपियाँमा कलेजो प्रत्यारोपण गर्न सकिने निर्देशक डा. श्रेष्ठले जानकारी गराउनुभयो । भारत लगायतका विकसित देशहरुमा कलेजो प्रत्यारोण गर्न जाँदा करिब १ करोडदेखि डेढ करोडसम्म खर्च हुने उपचार गरेर फर्किएका बिरामीहरु बताउँछन् । यस अघि २०७३ साल मंसिर २२ गते भक्तपुरका ३६ वर्षीय बलराम नागाजुमा पहिलो सफल कलेजो प्रत्यारोपण गरिएको थियो । हाल उनी स्वस्थ्य छन् । अहिले केन्द्रमा धेरै व्यक्ति कलेजो प्रत्यारोपणको पखाईमा छन् । नेपालमा कति जना व्यक्तिको कलेजो फेल हुन्छ भन्ने कुनै आधिकारिक तथ्याङ्क त छैन । तर चिकित्सकहरुले बर्षेनी १ हजार जना जतिको कलेजो विफल हुने अनुमान गरेका छन् ।

जिवित रहने दर
अमेरिकन लिभर फाउन्डेसनका अनुसार, कलेजो प्रत्यारोपण गरिएका व्यक्तिहरु एक वर्षपछि जीवित रहने मौका ८६ प्रतिशत हुन्छ । तीन वर्षसम्म जीवित रहने दर ७८ प्रतिशत छ । फाउन्डेसनले भनेको छ—‘कहिलेकाँही प्रत्यारोपण गरेको कलेजो आफैं विफल पनि हुनसक्छ अथवा कलेजो विफल गराउने मुख्य रोग फर्किन पनि सक्छ ।! डोनरको मृत्यू आशंका ०.२ देखि ०.५ सम्म हुनसक्छ ।

कलेजो प्रत्यारोपणका लागि कलेजोको आकारका आधारमा दायाँ भाग (करिब ३५—४० प्रतिशत) र बायाँ भाग (६०—६५ प्रतिशत) निकालिन्छ । प्रत्यारोपण गरिएको कलेजो पलाएर ७—८ हप्तामा आफैं मौलिक आकारमा आउँछ । कलेजो रौं र नङ जतिकै चाँडै पलाउने अंगमध्येको एक हो । एउटा स्वस्थ्य व्यक्तिको शरीरमा कलेजो करिब डेढ किलो तौलको हुन्छ । पातलो मानिसमा १ किलो तीनसय ग्राम र मोटो मानिसमा करिब १ किलो ५ सय ग्राम सम्म हुन्छ । कलेजोले शरीर स्वस्थ्य राख्न करिब पाँच सय भन्दा बढी काम गर्छ । कलेजो जति नरम भयो त्यति नै स्वस्थ्य मानिन्छ । तर यो कडा हुँदै गएमा विफल हुनसक्ने संभावना बढ्दै जान्छ ।

कलेजोको काम
कलेजोले खानाबाट प्राप्त रगतमा भएका पोषणलाई भण्डारण गर्छ र आवश्यक परेको बेलामा शरीरलाई उपलब्ध गराउँछ । शरीरमा बढी भएको बोसो र कार्बोहाइड्रेट, प्रोटिन संचय गरेर राख्छ । कलेजोले पित्त बनाउँछ । । हामीले खाएको बोसो पचाउन चाहिने मुख्य अंग पित्त कलेजोले उत्पादन गर्छ । कलेजोले रगतबाट बिकार चिज र औषधिको विकार तत्व (टक्सिन) सफा गर्ने र बाहिर निकाल्छ ।
निदान हस्पिटलका पेट तथा कलेजो विशेषज्ञ डा. दिपेश गुर्वाचार्य भन्नुहुन्छ—‘शरीरमा रौं, छाला, नङ जस्तै पलाउने अंग कलेजो हो । कलेजोमा केही समस्या आएमा आफैंले मर्मत गर्न सक्ने क्षमता हुन्छ ।’ कलेजोको तौल करिब एक देखि डेढ किलोसम्म हुन्छ । यसको पलाउन सक्ने क्षमता भएकाले अन्तिम अवस्था सम्म साथ छाड्दैन । ‘कलेजोमा रोगको लक्षण देखापर्नु भनेको कलेजो धेरै हदसम्म बिग्रिनु हो ।’—डा. गुर्वाचार्यको भनाइ छ ।
कलेजो विफल हुने कारण
हेपाटाइटिस ए र ई को संक्रमण, क्षयरोगको औषधि एवं केही अल्टरनेटिभ औषधिको प्रयोग, धेरै प्यारासिटामोलको सेवन आदिले एक्युट लिभर फेल हुनसक्छ भने धेरै बर्षसम्म अत्यधिक अल्कोहल सेवन, हेपाटाइटिस बी र सी को संक्रमण आदिल कारणले लिभरमा क्रोनिक समस्या हुनसक्छ । बालबालिकाहरुमा धेरै औषधिको सेवन र जन्मजात रोग लिभर विफल हुने कारक मानिन्छ । नेपालमा कति जनाको कलेजो फेल हुन्छ भन्ने एकिन तथ्यांक त छैन तर बर्षमा करिब १ हजार जनाको कलेजो फेल भएर ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था भएको अनुमान गरिएको छ । डा. गुर्वाचार्य भन्नुहुन्छ—‘यस्ता बिरामीहरुलाई कलेजो प्रत्यारोपणको आवश्यकता पर्छ ।’
प्रत्यारोपणको निक्र्योल
प्रत्यारोपणको संभावना कसरी निक्र्यौल गर्ने ? भन्ने आ—आफ्नो क्राइटेरिया हुन्छ । औषधिका कारण कलेजो फेल भएमा छुट्टै क्राइटेरिया प्रयोग हुन्छ भने हेपाटाइटिस बी, सी, ई, रक्सी आदि सेवनले हुने कलेजो फेलमा प्रत्यारोपण गर्ने बेला भएनभएको निक्र्योल गर्न एक दुईवटा क्राइटेरिया प्रयोग गर्नुपर्छ । डा. गुर्वाचार्य भन्नुहुन्छ—‘यसरी प्रत्यारोपण गर्ने स्कोरमा परे नपरेको हेरेर मात्र ट्रान्सप्लान्टका लागि सिफारिस गरिन्छ ।’
फाइब्रोस्क्यान परीक्षणपछि कलेजोको कडापनको स्कोर पत्ता लाग्छ । ० देखि ७ सम्मको स्कोरलाई नर्मल मानिन्छ । ७ देखि १३ सम्मको स्कोरलाई कलेजो कडा हुन थालेको मान्नुपर्छ । १३ भन्दा माथिको स्कोरमा कलेजो प्रत्यारोपण गर्नुपर्छ । कलेजको शुरुको अवस्थामा उपचार गरेमा सजिलै निको हुन्छ । लिभर फाइब्रोसिस एवं सिरोसिस भएपछि कलेजो प्रत्यारोपणको विकल्प छैन । स्वस्थ व्यक्तिको करिब ५ सय ग्राम कलेजो निकालेर प्रत्यारोपण गर्दा दुवैजना आरामसँग जीउन सक्छन् । कलेजोको समस्या हुनसक्ने खतरा बोकेका व्यक्ति अर्थात हेपाटाइटिस “बी” “सी”संक्रमित तथा अत्यधिक रक्सी पिउने व्यक्तिहरुले बेलैमा कलेजोको अवस्था पहिचान गर्न जरुरी छ । आगामी केही दशकभित्र नेपालमा कलेजोको समस्याले बिकराल रुप लिनसक्ने संभावना रहेको सम्बन्धित विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले सरकारले रक्सीका बोतलबाट उठाइएको निश्चित प्रतिशत कर कलेजो बिग्रिएका रोगीको उपचारमा खर्च गर्ने व्यवस्था शुरु गर्नुपर्छ ।
कलेजो समस्या पहिचान÷रोकथाम
शुरुको अवस्थामा लक्षण नदेखिएपनि एड्भान्स स्टेजमा पुगेपछि कलेजो विफलको संकेत देखिनसक्छ । जस्तोः आँखा पहेँलो, मुखबाट रगत आउने, पेटमा पानी जम्ने, बिरामीको स्मरणशक्तिमा ¥ह«ास आदि । ‘यस्तो अवस्थामा कलेजोको कार्य परीक्षण,रगत जाँच, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी र सिटी स्क्यान गरेर कलेजोमा भएको समस्या पहिचान गर्न सकिन्छ ।’—डा. गुर्वाचार्य भन्नुहुन्छ ।
रोकथाम
कलेजोलाई खराब गर्ने रोग हेपाटाईटिस बी र सी को बेलैमा उपचार गर्नुपर्छ । अत्यधिक अल्कोहल सेवन गर्न छोडिदिनुपर्छ । डा. गुर्वाचार्यको भनाइ छ—‘होसियार हुँदाहुँदै पनि कलेजो फेल भएमा प्रत्यारोपण अन्तिम विकल्प हो ।’

NH
Health News
प्रतिक्रिया दिनुहोस्