Logo
|
Thursday 18th April 2024
Logo

epaper

मलेरियाका कारण करिब दुई हजार व्यक्तिको मृत्यु



विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए) ले जनाएको छ ।

शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ । प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा मलेरियाको नमूना भेटिएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी बर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ ।

सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको सङ्ख्या र मलेरियाको कारण मृत्यु हुनेको सङ्ख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको सङ्ख्या ७६।९ प्रतिशत रहेको राष्ट्रसङ्घले जनाएको छ ।

राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सवैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसङ्को तथ्याङ्क छ ।

अचल पानीमा लामखुट्टेले फुलपार्ने भएकाले मध्य बर्षको बर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्वन्धित सवैमा राष्ट्रसङ्घले आग्रह गरेको हो ।

मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेका जनाइएको छ । रासस  ÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्