Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

रेडियोथेरापीका लागि ३ महिना



 भैरहवाका ७४ वर्षीय होमनाथ आचार्यलाई टन्सिल बिग्रिएर घाँटीमा क्यान्सर भएको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्ने क्रममा उनलाई रेडियोथेरापी गराउनुपर्ने भयो । भरतपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्ने कोबाल्ड र लिन्याक मेसिन बिग्रिएको भन्दै उनलाई जेठ २१ मा भक्तपुर अस्पताल पठाइयो ।

आचार्यले रेडियोथेरापीका लागि भक्तपुर क्यान्सर अस्पतालमा झन्डै एक महिना कुर्नुपर्‍यो । १० दिनयता उनले रेडियोथेरापी गराइरहेका छन् । उनलाई ३३ दिन रेडियोथेरापी गर्नुपर्ने चिकित्सकको सल्लाह छ । उपचारकै लागि सूर्यविनायकमा कोठा भाडामा लिएर बस्न थालेको उनले बताए ।

नारायण नगरपालिका–७, दैलेखका ३३ वर्षीय भरतकुमार गुरुङ ब्रेन ट्युमरका बिरामी हुन् । गुरुङको ब्रेन ट्युमर अप्रेसन गरी निकालियो तर, निको भने भएन । ट्युमर बढ्दै गएपछि उनलाई रेडियोथेरापी गर्नुपर्ने भयो । रेडियोथेरापीका लागि २ महिनाअघि क्यान्सर अस्पतालमा समय लिएका गुरुङको बल्ल पालो आएको छ । नेपाल प्रहरीमा सेवारत गुरुङ इलाका प्रहरी कार्यालय दाङमा कार्यरत छन् ।

पोखराकी ६७ वर्षीया जुना बराल पाठेघरको क्यान्सरबाट पीडित छिन् । ‘पाठेघर निकालेर फाल्न पनि मिलेन,’ उनले भनिन्, ‘२५ दिन सेकाएपछि मात्र औषधि गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् ।’ रेडियोथेरापी ९सेकाउने० गर्नलाई दुई महिनाभन्दा बढी कुर्नुपर्‍यो । मेसिन एउटा छ । बिरामी धेरै भएकाले पालो आउन समय लागेको उनले बताइन् ।

नेपाल अर्बुद्ध रोग निवारण संस्थाद्वारा सञ्चालित क्यान्सर अस्पतालको १ सय ४० शय्यामध्ये १ सय १० शय्या सञ्चालनमा आएको र बाँकी सञ्चालनको तयारीमा रहेको अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले बताए । पछिल्लो समय अस्पतालमा उपचार गर्न आउने बिरामीको चाप बढेकाले शय्याका लागि कम्तीमा एक साता कुर्नुपर्ने उनले बताए । उनका अनुसार विशेषगरी रेडियोथेरापी, ब्राकीथेरापी गराउन आउने बिरामीले धेरै समय कुर्नुपर्ने बाध्यता छ । भरतपुर, पोखरा, वीरलगायतका अस्पतालमा रेडियोथेरापी, ब्राकीथेरापी गराउन गएका बिरामी समेत रिफर भएर भक्तपुर क्यान्सर अस्पताल आउने गरेका छन् । भरतपुर, वीर अस्पतालमा भूकम्पपछि रेडियोथेरापी गर्ने मेसिन बिग्रिएको उनी बताउँछन् ।

भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, ब्राकीथेरापी गराउन आउने बिरामीले तीन महिनाभन्दा बढी कुर्नुपर्ने बाध्यता रहेको अस्पतालकी रेडिएसन अन्कोलोजिस्ट डा।श्वेता बराल बताउँछिन् । ‘बिरामीले कि त तीन महिना कुर्नुपर्‍यो, कि त निजी अस्पतालमा महँगोमा उपचार गराउनुपर्छ,’ उनले भनिन्, ‘अर्को विकल्प छैन ।’ सरकारले कोबाल्ट वा लिन्यास मेसिन सुलभ मूल्यमा खरिदका लागि पहल गर्न सके क्यान्सरका बिरामीले समयमै उपचार पाउने डा।श्वेता बताउँछिन् ।

अस्पतालमा रेडियोथेरापीका लागि १९ वर्षअघि ल्याएको पुरानो एउटा मात्र कोबाल्ट मेसिन छ । उक्त मेसिनले धान्नै नसक्ने गरी बिरामीको चाप बढेको अस्पतालका कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट विभागीय प्रमुख एवं रडिएसन अन्कोलोजी विभाग प्रमुख डा।राजेन्द्र बरालले बताए । ‘उक्त मेसिनले ४० वटाभन्दा बढी रेडियोथेरापी गराउनु हुँदैन,’ उनले भने, ‘बिरामीको चापका कारण बाध्यताले दैनिक ११० देखि १२० जना सम्मलाई रेडियोथेरापी गराउँदै आएका छौं ।’ रेडियोथेरापी गर्ने मेसिनबारे उनको चिन्ता थियो, ‘बिरामीलाई तीन महिनाको डेट दिन्छौं, यो मेसिन कुनै पनि बेला बिग्रिएर बन्द हुन सक्छ, त्यसपछि के गर्ने ?

क्यान्सर अस्पतालमा उपलब्ध हुने २२ हजारदेखि २५ हजारको रेडियोथेरापी सेवा निजी अस्पतालमा २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म लाग्ने अस्पतालले जनाएको छ । आगामी असोज तेस्रो सातासम्मका लागि रेडियोथेरापी गर्ने बिरामीले समय लिइसकेको रेडियोथेरापी शाखा इन्चार्ज शिवराम दुख्वाले बताए । बालबालिका, ८० वर्ष कटेका ज्येष्ठ नागरिक र इमर्जेन्सीका बिरामीलाई भने तत्काल रेडियोथेरापी गराउँदै आएको उनले बताए ।

क्यान्सर अस्पतालमा प्रत्येक वर्ष रेडियोथेरापी गर्न आउने बिरामीको संख्या करिब २० प्रतिशतले बढेको अस्पताल प्रशासनले जनाएको छ । धूमपान र खाद्यवस्तुमा हुने विषादी अत्यधिक प्रयोग नै क्यान्सरको मुख्य कारण रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा।प्रकाशराज न्यौपानेले बताए । शून्य तहदेखि पाँचौं तहसम्म हुने क्यान्सरको समयमै उपचार गर्न सके पूरै निको हुने सम्भावना बढी रहेको उनले बताए । ‘दैनिक खाने तरकारी, फलफूलमा प्रयोग हुने विषादी र राम्रो देखिने मिठाईजन्य पदार्थमा हुने अखाद्य रङको प्रयोगले क्यान्सर हुने सम्भावना बढ्छ,’ उनले भने । -कान्तिपूरबाट

प्रतिक्रिया दिनुहोस्