Logo
|
Friday 19th April 2024
Logo

epaper

न स्वास्थ्यकर्मी न त औषधि



 पटकपटक महामारी झेलिसकेका यहाँका बासिन्दा स्वास्थ्यका दृष्टिले उच्च जोखिममा रहे पनि रोकथामको आवश्यक तयारी शून्य छ । गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित उनीहरू औषधि र स्वास्थ्यकर्मी नभेटेरै हैरान छन् ।

ग्रामीण क्षेत्रका अधिकांश स्वास्थ्यकर्मी परीक्षा, बिदा, तालिम, काजलगायत बहानामा हिँडेपछि स्वास्थ्य संस्था रित्ता छन् । कतिपय स्वास्थ्यकर्मी लोकसेवा आयोगले लिने अनमी, स्वास्थ्य सहायक, अहेबलगायत परीक्षाको तयारीका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौंतिर लागेका हुन् । यतिखेर जिल्लाका ३१ स्वास्थ्यचौकी र ३ प्राथमिक उपचार केन्द्रमा कार्यरत २ सय ५० मध्ये आधाजति कर्मचारी छैनन् । स्वास्थ्यचौकी, पैंकका स्वास्थ्य सहायक रामसिंह मण्डल ४ सातायता कार्यालयमा हाजिर छैनन् । ६ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि उक्त चौकी करारकी अनमीको भरमा छ ।

स्वास्थ्यसेवा प्रवाहमा बढ्दो हेलचेक्य्राइँले जिल्लामा विगतमा विकराल देखिएका झाडापखालालगायत महामारी फेरि दोहोरिन सक्ने स्थानीय अमृत वलीले बताए । ‘न औषधि छ न त जाँच गर्ने स्वास्थ्यकर्मी,’ उनले भने, ‘हाम्रा लागि त गुणस्तरीय स्वास्थ्य सेवा आकाशको फल भएको छ ।’ निमित्त जिल्ला स्वास्थ्य प्रमुख रामपुकार साह भने स्वास्थ्यकर्मीको अभाव नरहेको दाबी गर्छन् । ‘कुनै पनि स्वास्थ्य संस्थामा अभाव छैन, करारले भए पनि सेवा दिने गरेका छन्,’ उनले भने ।

जिल्ला अस्पताल र ग्रामीण स्वास्थ्य संस्थामा भाइरल ज्वरो, आउँ र टाइफाइडका बिरामी बढी आउने गरेको उनले जानकारी दिए । निमित्त प्रमुख साहले यस्तो दाबी गरे पनि जिल्ला अस्पताललगायत अधिकांश स्वास्थ्य संस्थामा पर्याप्त औषधि छैन ।

परीक्षणपछि स्वास्थ्यकर्मीले बिरामीलाई औषधि छैन भन्दै निजी मेडिकल पठाउने गरेका छन् । मुख्य गरी एमोक्सिसिलिन, सिटामोल, भुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरप, आर एल क्योमक्स, ब्रुफिन, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिकै अभाव छ । प्राथमिक स्वास्थ्यकेन्द्र दल्लीमा १२ प्रकारका औषधि सकिएको डा। सञ्जयकुमार यादवले बताए । जिल्ला अस्पतालमा ज्वरो उपचारका लागि आएका भेरी नगरपालिका–३ का सुनील थापाले ब्रुफिन र क्योमक्स मेडिकलबाट किनेर खानुपरेको सुनाए । जिल्ला अस्पतालकै डा। भूपेन्द्रप्रकाश मल्ल पनि औषधि सकिएको स्विकार्छन् । ‘दैनिक १ सयभन्दा बढी भाइरल ज्वरो, टाइफाइडलगायत रोगका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर, औषधि छैन ।’

५० शय्याको अस्पतालमा प्रसूति सेवाका लागि आवश्यक गज, कटन, गुलोब्स र आरएलसमेत अभाव भएको एक स्वास्थ्यकर्मीले बताइन् । औषधि खरिदका लागि वार्षिक बजेट नै कम आउने गरेको स्टोरकिपर लमबहादुर खड्काको भनाइ छ । ‘कतिपय स्वास्थ्य संस्थाले ढुवानी गाह्रो भएको भन्दै लैजान मानेका छैनन्,’ उनले भने, ‘जिल्लाको स्टोरमा छिटपुट अभाव भए पनि धेरैजसो औषधिको स्टक छ । आरएल स्लाइन, मेट्रो इन्जेक्सन पुग्ने गरी छ ।’

जिल्लामा स्टक रहेको बताइए पनि ग्रामीण क्षेत्रका बासिन्दा भने स्वास्थ्यकेन्द्रबाट रित्तै हात फर्काइन्छन् । उनीहरू निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य छन् । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निस्शुल्क उपलब्ध गराउने सरकारी घोषणा छ । तर, अहिले करिब ५० प्रकारका औषधि मात्र उपलब्ध रहेको स्टोरकिपर खडकाले बताए । ‘अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइटलगायत दर्जनजति औषधि आपूर्ति नै भएको छैन,’ उनले भने ।

शल्यक्रिया प्रसूतिमा समस्या
जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ ९कन्सल्टेन्ट सर्जन० नहुँदा शल्यक्रियामार्फत प्रसूति गराइने सेवा ठप्प हुन पुगेको छ । यसै कारण जटिल प्रकारका गर्भवतीलाई जिल्लाबाहिर पठाउनुपर्ने अवस्था छ ।

विशेषज्ञ चिकित्सक नभएकैले सेवा सुचारु गर्न नसकिएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चाँदनी जैसवालले बताइन् । ‘जटिल प्रकृतिकालाई जिल्लाबाहिर रिफर गर्न बाध्य छौं,’ उनले भनिन् । जैसवालका अनुसार अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक ५ महिनादेखि कामविहीन बनेका छन् । अप्रेसन कोठा र उपकरण पनि प्रयोगविहीन छन् । ‘सिजरियन डेलिभरी सेवा नहुँदा बच्चा उल्टो फर्किएका, लामो समयसम्म व्यथा लागेका र प्रसूतिअघि वा पछि उच्च रक्तस्राव हुने सुत्केरी जोगाउन मुस्किल पर्छ,’ उनले भनिन् ।

बालरोग विशेषज्ञ नहुँदा नवजात शिशुको उपचारमा पनि समस्या रहेको डा। जैसवालको भनाइ छ । ‘निमोनियाँ, छाती संक्रमणलगायत रोगबाट पीडित दर्जनौं बालबालिकालाई उपचारका जिल्लाबाहिर रिफर गर्ने गरेका छौं,’ उनले भनिन् । दुई वर्षअघि जिल्ला अस्पतालको स्तर वृद्धिसँगै ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायक स्तरका स्वास्थ्यकर्मीको दरबन्दी सृजना गरिएको थियो । तर, विशेषज्ञ चिकित्सक अहिलेसम्म आइपुगेका छैनन् ।

व्यथाले छटपटाइरहेकी गर्भवतीलाई महँगो खर्च बेहोरेर नेपालगन्ज लैजानुपर्ने बाध्यता नहटेको भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले बताइन् । अस्पतालमा ११औं तहको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेतको दरबन्दी रिक्त छ ।-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्