Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारी अस्पतालको इमर्जेन्सी कक्षमा बेड अभाव



राजधानीका सरकारी अस्पतालमा इमर्जेन्सी बेडमा भर्ना नपाउँदा बिरामी अलपत्र पर्न थालेका छन् । मौसमी बिरामीको चाप बढेका कारण आएजति बिरामीलाई भर्ना लिन नसकिएको अस्पतालका निर्देशकहरू बताउनुहुन्छ ।

दोलखाकी सञ्चमाया तामाङ ३ दिनदेखि प्रसूति गृहमा इमर्जेन्सी बेड कुरिरहनु भएको छ । दोलखादेखि सुत्केरी हुुन आएकी उनी तीन दिनयता अस्पताल परिसरमै खानुहुन्छ, त्यहीँ सुत्नु हुन्छ । ‘नजिकमा कोही आफन्त छैनन् सुत्केरी हुने मिति नजिकिइसकेको छ,’ उहाँले भन्नु भयो, ‘निजी अस्पतालमा जाउँ भने पैसा छैन ।’ शनिबार अस्पताल परिसरमा उहाँ सानो कार्पेट ओछ्याएर पल्टिरहनु भएको थियो , सुत्केरी व्यथाले छट्पटाउनु भएको थियो । ‘एकातिर व्यथाले सताएको छ, अर्का्तिर बेड नपाएको चिन्ताले, अझै कति दिन कुर्नुपर्ने हो,’ उहाँले भन्नु भयो ।

०७२ को भूकम्पले प्रसूति गृहको मुख्य भवन भत्कियो । मुख्य भवन भत्किएसँगै एकेडेमी हलमा अस्पताल सारिएपछि अस्पतालमा बेडको संख्या घटेको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताउनु भयो । ‘पुरानो भवनमा चार सय बेड थिए, नयाँ भवनमा आधामात्रै,’ श्रेष्ठले भन्नु भयो, ‘बिरामी अलपत्र परेको हेरिरहन बाध्य छौँ ।’ कति बिरामीलाई त अस्पतालको पेटीमा नै राखेर उपचार गरिरहनुपरेको डा.श्रेष्ठले बताउनु भयो।

नुवाकोटकी सरस्वती काफ्ले पनि भर्ना बेड नपाएर प्रसूति गृहमा अलपत्र पर्नु भएको छ । दुई दिनदेखि इमर्जेन्सी बेडका लागि भौंतारिरहनुपरेको उहाँले भन्नुभयो । ‘नुवाकोटको त्रिशूली अस्पतालमा डाक्टर छैनन्, ज्यान बचाउने भए काठमाडौं जानु भने,’ उहाँले भन्नुभयो, ‘यता डाक्टर हुने ठाउँमा बेड नपाइने रहेछ ।’ उहाँ पनि सुत्केरी व्यथाले छट्पटउनु भएको थियो ।

प्रसूति गृहमा हरेक दिन ८० जना नयाँ बिरामी थपिन्छन् । बढ्दो चापलाई व्यवस्थापन गर्ने जनशक्ति र पूर्वाधार नहुँदा बिरामीले दैनिक यस्तै सास्ती खेप्नुपरेको निर्देशक श्रेष्ठले बताउनु भयो । ‘अस्पतालको नयाँ भवन नबनेसम्म बिरामीलाई मर्का परिरहन्छ, बेडको संख्या थप्ने ठाउँ नै छैन,’ उहाँले भने ।
जापानी नियोग जाइकाले प्रसूति गृहको क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न सहयोग दिने सम्झौता भएको लामो समय भइसके पनि काम सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको पुनर्निर्माण एकाइका प्रमुख रमेशप्रसाद अधिकारीका अनुसार टेन्डर प्रक्रियामा झमेला हुँदा अस्पतालको पुनर्निर्माण काम सुरु गर्न सकिएको छैन ।

देशकै ठूलो र पहिलो अस्पताल वीरमा पनि बिरामीले इमर्जेन्सी बेड नपाउने समस्या उस्तै छ । गत साता गोरखाकी सम्झना मगराती पनि भर्ना हुन नपाएर धेरै दिन अस्पताल परिसरमा सुुत्नु प¥यो । कलेजोको उपचारका लागि अस्पताल आउनु भएको उहाँलाई बेड पाउन एक साता कुर्नुपरेको उहाँले बताँउनु भयो । दिनहुँ बिरामीको चाप बढ्दो छ, तर जनशक्ति र बेडको संख्या उत्ति नै हुँदा सेवा प्रदान गर्न अप्ठेरो भइरहेको अस्पतालमा निर्देशक डा.भूपेन्द्र बस्नेतले भन्नुभयो । ‘बर्खायाममा त झन् बिरामीको चाप अझै बढ्छ, बेडको संख्या नपुग्दा समस्या भइरहेको छ, बिरामीले दुंंःख पाइरहेका छन्’ डा. बस्नेतले भन्नुभयो । वीर अस्पतालमा ४ सय ६० बेड छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्