Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री न्यूरो अस्पतालमा



प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न आज साँझ बाँसबारीस्थित न्यूरो अस्पताल जानुभयो ।

छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उहाँलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उहाँको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आजै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइरालालगायत नेता पनि बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको बाँस्तोलाका निजी सहयोगी राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा प्रत्यूष श्रेष्ठले उहाँलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिनुभयो ।

आज उहाँको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भएपछि अझै केही दिन उहाँलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा हुनुहुन्छ । उहाँकी श्रीमती कुसुमले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताउनुभयो ।

उहाँलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका खाना तरल बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भएपनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा. श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्