Logo
|
Thursday 28th March 2024
Logo

epaper

दृष्टिविहीनको मत ः एकाघरका सदस्यबाट कहिलेसम्म



स्थानीय तहकोे निर्वाचनमा मतदान केन्द्रमा लामबद्ध दृष्टिविहीन सोम दुलाललाई सुरक्षाकर्मीले पटक पटक घचेटेर लामबाट बाहिर निकालेका थिए ।

आफ्नो परिवारको सदस्यबाट मतदान गराउन अस्वीकार गरेका दुलालले इच्छाएको व्यक्तिबाट मतदान गराउन दिनभर कसरत गर्नुभयो ।
गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ स्थित जागेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत रामकृष्ण पराजुलीले एकाघरका सदस्यबाट मात्र मतदान गर्न अनुमति दिएकामा दुलालले घरको सदस्य र आफ्नो राजनीतिक आस्था फरक पर्ने भएकाले इच्छाएको व्यक्तिबाट मतदान गराउने चाहना राख्नुभएको थियो ।
दुलालकी श्रीमती सुत्केरी भएर काठमाडौँमा रहेको र दाइ रमेश फरक राजनीतिक आस्थामा रहेकाले उहाँलाई परिवारका सदस्यबाट मतदान गराउन मन थिएन । दिनभरिको गलफत्तीपछि सोही नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालको समन्वयपछि सोमले इच्छाएको सहयोगी व्यक्तिबाट मतदान गर्नुभयो ।

सिन्धुपाल्चोकको जनजागृति माविका शिक्षक एवं नेपाल नेत्रहीन संघका जिल्ला अध्यक्ष दुलाल भन्नुहुन्छ, “निर्वाचन आयोगले चलाएको तालीममा मैले पनि भाग लिएको थिएँ, अशक्त र अपांगलाई इच्छाएको व्यक्तिबाट पनि मतदान गर्ने अधिकार छ तर व्यवहारमा अनेक समस्या निम्त्याएको कामबाट हामी ग्रसित छौँ ।”
नेपालमा २०६८ को जनगणानुसार ९५ हजार दृष्टिविहीन छन् । नेपाल नेत्रहीन संघको घरदैलो सर्वेक्षणमा प्रतिजिल्ला करिब छ हजार पूर्ण तथा आंशिक दृष्टिबिहीन छन् । यसको कुल संख्या साढे चार लाख हुन्छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३८ मा ‘कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पु¥याउन आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा इच्छाअनुसार निजको मतपत्रमा मत संकेत गरिदिनसक्ने’ उल्लेख छ ।

सो दफामा ‘मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत संकेत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छाअनुसार निजको मतपत्रमा मत संकेत गरिदिनसक्ने’ भनी घुमाउरो शब्दावली भएकाले अशक्त र दृष्टिविहीनले हैरानी पाउने गरेको नेत्रहीन संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले गुनासो गर्नुभयो ।

नेपाल अपांग मानवअधिकार केन्द्रका महासचिव जगदीश्वर अधिकारी भन्नुहुन्छ, “हामीजस्ता मतदाताका लागि विद्युतीय उपकरणबाट मतदान गराइएमा सहज हुन्छ । मतदान गर्न पाउनु हाम्रो अधिकार हो, कानुन र संरचनाले यसमा सहयोगी भूमिका निर्वाह गरेको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्