Logo
|
Thursday 25th April 2024
Logo

epaper

भाइरल ज्वरोले मोरङको फोकलेण्ड गाउँ नै आतंकित



सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि सो गाउँवासीमा आतंक फैलिएको छ ।

अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी सिकिस्त छन् ।
सुनसरी इटहरी–३ को बौका झोडाको बुढीखापको पूर्वपट्टि सुन्दरहरैचा–५ लाटीखोला पश्चिमपट्टि पर्ने बस्तीका अधिकांश घरका मानिस केही दिनदेखि अधिक ज्वरोको संक्रमणका कारण थलिएर ओछ्यानबाट उठ्नै नसक्ने बन्दै अकालमा ज्यान जान थालेपछि हिजोदेखि सुन्दरहरैचाको स्वास्थ्य चौकी र जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक टोलीले सो क्षेत्रमा उपचार थालेको छ ।

ती बासिन्दाको आज पनि स्वास्थ्य जाँच गरी त्यहाँ उपचार हुन नसक्नेमध्ये २५ जनालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज पठाउने तयारी भइरहेको वडाध्यक्ष राम रिजालले जानकारी दिनुभएको छ ।

एकाएक भाइरल ज्वरो फैलनु र उपचारका लागि अस्पतालसम्म पुग्ने कोशिश गर्दा गर्दै दुई बालबालिकाको ज्यान गएपछि फोकलेण्ड टापुवासीमा अरु ज्यान जान सक्ने जोखिमका कारणले त्रास फैलिएकाले हिजैदेखि उक्त क्षेत्रमा चिकित्सक टोली परिचालित भई गाउँको सरसफाइसँगै भाइरल ज्वरो प्रभावितका स्वास्थ्य जाँच गर्ने कार्यमा तीव्रता दिइएको पनि वडाध्यक्ष रिजालले बताउनुभयो ।

मानिसको ज्यान समेत जाने गरी फैलिएको भाइरल ज्वरोका कारण दुई बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको समाचारले सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकाल उपप्रमुख धनमाया तामाङ र त्यस क्षेत्रका साँसद चन्द्र गुरुङ समेतको टोलीले आज त्यस गाउँको स्थलगत अवलोकन गरी तत्काल उपचारमा विशेष ध्यान दिन जनस्वास्थ्य कार्यालयसँग छलफल समेत गरेको छ ।

उच्च ज्वरोको कारणले ती दुवै बालबालिकाको मस्तिष्कमा गहिरो दखल परेको र ब्रेनडेथले गर्दा उनीहरुको ज्यान गएको उपचारमा सम्लग्न बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जानकारी दिएको स्थानीयवासीले बताएका छन् ।
उच्च गर्मीसँगै तातो हावा आउने र शरीरले थाम्नै नसक्ने गरी ज्वरो आउने गरेकाले साना उमेर भएकाका लागि भाइरल ज्यादै जोखिमपूर्ण बन्न पुगेको चिकित्सकको भनाइ छ । भाइरल ज्वरोसँगै गाउँघर सफाइमा ख्याल नगरिँदा अन्य कारणले पनि मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकोे पाइएकाले चिकित्सकले तत्काल सफाईमा पनि ध्यान दिन सुझाएकोे बताइएको छ ।

आदिवासी समुदायको ३५ घर परिवारको बसोबास रहेको टापुका १० भन्दाबढी परिवारमा प्रायः सबैजसोमा उच्च ज्वरोको संक्रमण फैलिएपछि एकाएक त्यहाँ बसोबास गर्नेका बीचमा त्रास सिर्जना भएको पनि स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्