Logo
|
Friday 29th March 2024
Logo

epaper

जमिन तात्योः सर्पदंशका बिरामी बढे



गर्मी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामीहरुको संख्यामा वृद्धि भएको छ । अन्य समयमा सर्पदंशका विरामी फाट्ट–फुट्ट मात्रै आउने गरेकोमा यतिबेला भने दैनिक २० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
गर्मी बढेसँगै पूर्वीतराई क्षेत्रमा सर्पको बिगबिगि बढेपछि सर्पको टोकाईबाट बिरामी हुनेकोे संख्यासमेत बढ्दै गएको छ । जसका कारण विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सर्पदंशको उपचार गराउन आउनेहरुको संख्यासमेत निकै बढेको छ । विभिन्न रोगको उपचारका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाबाट दैनिक एक हजारभन्दा बढी बिरामी आउने कोशी अञ्चल अस्पतालमा हाल सर्पदंशका बिमारीको संख्यामा पनि वृद्धि भएको अस्पतालले जनाएको छ । प्रायजसो मोरङका भित्री गाउँबस्ती र दलितबस्तीका व्यक्तिहरु सर्पको टोकाइमा पर्ने गरेको कोशी अञ्चल अस्पतालका आकस्मिक विभागका इन्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक १५ देखि २० जना सर्पदंशका बिमारी उपचारका लागि कोशी अञ्चल अस्पतालमा आउने गरेका छन् ।
यो समयमा अत्याधिक गर्मी बढेपछि जमिन तातिएर सर्पहरु बाहिर निस्कने गर्दछन् । सोही समयमा मानिससँग जम्का भेटहुँदा मानिसहरु सर्पको टोकाइमा पर्ने गरेका छन् । त्यसैले गर्मीको बेला रातिको समयमा घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्ने र केटाकेटिलाई सर्प बस्ने झाडी भएको ठाउँमा जथाभावी जान दिन नहुने विज्ञहरु बताउँछन् । अस्पतालमा उपचार गराउन आएका केही विरामीलेसमेत रातिको समयमा घरबाहिर निस्कने क्रममा आफु सर्पको टोकाइमा परेको बताएका छन् । यस्तै घरवरीपरीको फोहोर तथा झाडी सरसफाई नगर्दासमेत मानिसहरु सर्पको जोखिममा पर्ने गरेका छन् । तसर्थ सर्पको जोखिम कम गर्न घर–वरपरका ठाउँहरुमा सर्प आएर बस्न सक्नेगरि अनावश्यक समाग्रीहरु नराख्ने तथा झाडी र फोहोर सफाईमा ध्यान दिनुका साथै रातिको समयमा घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्