Logo
|
Thursday 19th September 2019
NEWS PAPER

दिवा सेवा केन्द्रबाट बदलिँदै बौद्धिक अपाङ्गता भएका बालबालिका



गोदावरी नगरपालिका–११ प्याङ गाउँकी ११ वर्षीया सुभद्रा महर्जन पहिले बोल्न जान्नु हुदैनथ्यो ।

बौद्धिक अपाङ्गता भएकी उहाँ जन्मँदादेखि बोल्न मात्र होइन जुत्ता उल्टो सुल्टो वा दाँत माझ्ने पनि थाहा थिएन । बज्रबाराही बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा आएदेखि उहाँ आफ्ना काम आफैँ गर्ने हुनुभएको छ ।

चापागाउँकी अर्की बालिका १३ बर्षीया कृष्मा महर्जनलाई लिएरै उहाँकी आमा ज्याला–मेला जानुहुथ्यो । बौद्धिक अपाङ्गता भएकी कृष्मा नयाँ मान्छे देख्दा नै भाग्ने गरेको शिक्षक बताउँछन् । अहिले भने उहाँमा सकारात्मक परिवर्तन आएको छ । आफ्ना काम गर्न र सामान्य लेख्न र पढ्न जान्ने हुनुभएको छ । गीत गाउन र नाच्न औधी रुचाउनुहुन्छ ।

सेवा केन्द्रमा कार्यरत शिक्षक कमला हुमागाईं (तिमल्सिना) दिवा सेवा केन्द्रमा आएपछि बौद्धिक अपाङ्गता भएका बालबालिकामा कुनै न कुनै खालको सकारात्मक परिवर्तन आइरहेको बताउनुहुन्छ । कुनै बालबालिकामा थोरै भएपनि कसैमा भने चामत्कारिक परिवर्तन आएको छ ।

बालबालिकाले यहाँ बोल्न, हिँड्न, जुत्ता, लुगा लगाउन, शौचालय जान सिक्छन् । दाँत माझ्न्, हात–खुट्टा धुनेलगायत सरसफाइमा समेत ध्यान दिन सिकाइन्छ । आफ्ना सामान्य कामसमेत नजानेर ठूला भइसक्दासमेत अभिभावकमा आश्रित बालबालिका आफ्नो काम आफैँ गर्ने भएको शिक्षक हुमागाईं बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले के बोलेको भन्ने नबुझिने बालबालिका पनि अहिले राम्रो सञ्चार गर्न सक्ने भएका छन् ।”

ज्याला–मेला गरेरै जीविकोपार्जन गर्न बाध्य कतिपय अभिभावकले पहिले सन्तानका कारण काम गर्न पाएका थिएनन् । उनीहरु भन्दा साना भाईबहिनी जन्मँदासमेत बौद्धिक अपाङ्गता भएका यी बालबालिकाको स्याहार रतिभर कम गर्न अभिभावकले पाएका हुँदैनन् । अभिभावकले सन्तान यहाँ ल्याएपछि ढुक्कले काम गर्न पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर दिनभर काम गर्न पाउनुभएको छ भने अर्कातिर यी बालबालिका पनि आफ्नो काम आफैं गर्ने भएका छन् ।”

कतिपय बालबालिका तरकारी काट्ने, सरसफाइ जस्ता सामान्य कामसमेत गर्न जान्ने भएको शिक्षिका हुमागाईं बताउनुहुन्छ । घरमा जहाँ पनि दिसा–पिसाब गर्ने बालबालिका अहिले शौचालय जान थालेको उहाँ बताउनुहुन्छ । घरमा एक्लै बस्ने बालबालिका समूहमा बस्दा सामाजिक बन्दै गएका छन् । उनीहरु पढ्न र लेख्न सिक्दैछन् । उहाँ भन्नुहुन्छ, “धेरै नभएपनि आफ्नो नामसम्म लेख्न हामीले सिकाएका छौँ ।”

बौद्धिक अपाङ्गता भएका कतिपय बालबालिका बोल्न सक्दैनन् । उनीहरु समेत साथीहरुसँग साङ्केतिक रुपमा सञ्चार गरेको देखिन्छ । सेवा केन्द्रमा अहिले विभिन्न उमेरका गरेर २० बालबालिका अध्ययनरत छन् । बौद्धिक अपाङ्गता आमा समूहले झण्डै पाँच वर्ष पहिले केन्द्र सुरु गरेको थियो ।

सुरुमा गैरसरकारी संस्थाले पनि यसलाई सहयोग गरेपनि अहिले कतैबाट सहयोग नहुँदा सञ्चालन गर्न कठीन भएको उहाँ बताउनुहुन्छ । जिल्ला शिक्षा कार्यालयले दिएको एकजनालाई आएको तलबबाट बाँडेर कार्यरत अरु तीन कर्मचारी काम गरिरहेका छन् ।

आर्थिक अभावले गर्दा बालबालिकालाई एउटै कोठामा राखेर पढाउनु परेको उहाँले बताउनुभयो । बालबालिकालाई पढाउन र सिकाउनका लागि विभिन्न सामग्री आवश्यक छ । उहाँले भन्नुभयो, “टेलिभिजन देखाएर वा डमीबाट उनीहरुलाई सिकाउन पाए अझै सजिलो हुने थियो ।” रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्