Logo
|
Friday 29th March 2024
Logo

epaper

नसा च्यापिएका सबैलाई सर्जरी गर्नुपर्दैन




डा. विनोद बिजुक्छे स्पाइन युनिट चिफ एवं वरिष्ठ स्पाइन सर्जन हुनुहुन्छ । हाल उहाँ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो १२ वर्षको स्पाइन सर्जरी सेवाको अभ्यासमा १ हजार ७ सय भन्दा बढी जटिल स्पाइन सर्जरी सफल पारिसक्नुभएको छ । डा. विजुक्छेले सन् २००६ देखि स्पाइनको शल्यक्रिया शुरु गर्नुभएको थियो ।

के हो स्पाइन ?
सामान्य भाषामा हाम्रो शरीरको पछाडिको भाग मेरुदण्डलाई स्पाइन भनिन्छ । मेरुदण्डले शरीरलाई सिधा राख्न मद्धत गर्छ । यो शरीरको एउटा खम्बा हो । यसले सिधा उभ्याउन, शरीरलाई सपोर्ट र चलायमान (मुभमेन्ट) राख्न मद्धत गर्छ । मेरुदण्डमा हुने एउटा महत्वपूर्ण नसा ‘स्पाइनल कर्ड’ लाई मेरुदण्डले सुरक्षा दिएको हुन्छ । स्पाइनल कर्डमा असर परेमा हातगोडा चल्न सक्दैन । 

स्पाइनमा कसरी समस्या आउँछ ?
स्पाइनको समस्या लिएर आउने अधिकांश व्यक्तिको बस्ने तरिका नमिलेको, शरीरको तौल, उमेरले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसलाई मेकानिकल पेन अर्थात मस्क्युलोस्केलेटल पेन भनिन्छ । यस प्रकारको समस्या धेरैलाई देखिन्छ ।
हाम्रो दैनिक क्रियाकलाप गर्दा बस्ने र काम गर्ने तरिका नमिलेका कारण ९५ प्रतिशत स्पाइनको समस्या लिएर धेरै व्यक्ति आउने गरेका छन् । त्यो बाहेक चोटपटक, संक्रमण, बोनको ट्युवरक्लोसिस (क्षयरोग), ट्युमर, आदिका कारण स्पाइनमा समस्या देखिनसक्छ । ढाडको बाङ्गोपनाका कारण पनि स्पाइनमा समस्या देखिनसक्छ । त्यसलाई स्कोलियोसिस भनिन्छ । यस किसिमको समस्या जन्मजात पनि हुनसक्छ ।

‘‘स्पाइनको समस्या लिएर आउने अधिकांश व्यक्तिको बस्ने तरिका नमिलेको, शरीरको तौल, उमेरले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसलाई मेकानिकल पेन अर्थात मस्क्युलोस्केलेटल पेन भनिन्छ  ।’’

 

मेडिकल र सर्जिकल उपचार
स्पाइन शरीरको एक महत्वपूर्ण संरचना हो । स्पाइनमा समस्या देखिएमा मानिस सिधा हिँड्न र काम गर्न सक्दैन । त्यसकारण स्पाइनमा सानो समस्या देखिएमा उचित उपचार गर्नुपर्छ ।
काम गर्ने तरिका, बसाइ नमिलेर एवं उमेरका कारण स्पाइनमा देखिने समस्यालाई मेकानिकल ब्याकपेन भनिन्छ । यसको उपचार सरल छ । बस्ने र काम गर्ने तरिका मिलाउने, शरीरको तौल घटाउने, फिजियोथेरापी आदि गर्नाले उल्लेखित समस्याबाट छुटकारा पाउन मद्धत गर्छ ।

‘‘उमेरको कारण हड्डी खिइएर नसा च्यापिने समस्यालाले प्यारालाईसिस हुने हो कि भन्ने ठानी धेरै व्यक्ति आत्तिएको पाइन्छ । तर नसा च्यापिएर कहिल्यै पनि प्यारालाइसिस हुँदैन ।’’

कुनै कुनै परिस्थितिमा अपरेशन गर्नुपर्छ । नसा च्यापिएका कारण हातखुट्टामा कमजोरीपनाको समस्या भने देखिनसक्छ । नशा धेरै च्यापिएको अवस्थामा हिँड्दा गोडा सन्तुलन हुँदैन । चप्पल लगाएर हिँड्दा गोडाबाट खुस्किनसक्छ । औंलाले हस्ताक्षर गर्न खोज्दा बिग्रिन्छ । यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गर्नुपर्छ ।
जन्मजात ढाडको बाङ्गोपना धेरै बालबालिकामा देखिने गरेको छ । यसलाई कन्जेनाइटल स्कोलियोसिस भनिन्छ ।
कतिपय बालबालिकामा १० वर्षको उमेरपछि पनि ढाड बाङ्गोपना हुने समस्या देखिने गरेको पाइन्छ । यसलाई इडियोप्याथिक स्कोलियोसिस भनिन्छ । यो धेरै छोरी मानिसमा देखिन्छ ।
स्कोलियोसिस जटिल सर्जरी हो । नेपालमा मैले पहिलो पटक स्कोलियोसिस सर्जरी सुरु गरेको हो । अहिलेसम्म १ सय जना भन्दा बढि ढाड बाङ्गो भएकाहरुको सर्जरी गरिसकेको छु । ढाड बाङ्गो भएका व्यक्तिहरुमा सास फेर्न गाह«ो, स्वाँ स्वाँ हुने भएकाले अक्सिजनको आवश्यकता पर्ने, मुटुको काम गर्ने शक्तिमा कमी आउने जस्ता समस्याहरु देखिन्छ । ढाड सिधा बनाएर विरामीलाई उल्लेखित समस्याहरुबाट मुक्ति दिलाउन सकिन्छ ।

कस्तो अवस्थामा सर्जरी गर्ने ?
स्पाइनमा नसा च्यापिएका ९५ प्रतिशत मानिसलाई सर्जरी गर्नुपर्दैन । ५ प्रतिशतलाई मात्र सर्जरीको जरुरत पर्नसक्छ । नसा च्यापिएर प्यारालाइसिस नै हुने स्थिति आएमा फिजियोथेरापी, प्राकृतिक चिकित्सा, अक्युपङ्चर, अक्युप्रेसरको उपचारतिर समय खेर नफाली सम्बन्धित चिकित्सकको निगरानीमा अपरेशनको आवश्यक पर्छ ।
नशा च्यापिएका बिरामीको सामान्य स्थिति भएमा अपरेशनको जरुरत पर्दैन । शल्यक्रिया गर्नुपूर्व औषधि खुवाएर, शारीरिक व्यायाम एवं फिजियोथेरापी गराएर दुःखाइ कम गर्ने उपाय खोजिन्छ । केही नलागेमा मात्र सर्जरी गर्नुपर्छ । ढाड दुखाइ पनि स्पाइनसँग सबन्धित समस्या भएकाले परिणाम राम्रो हुन बिरामीको सही छनोट हुनुपर्छ ।

स्पाइन समस्या कसरी पहिचान गर्ने ?
शुरुमा ढाड र घाँटी दुख्ने समस्या देखा पर्छ । दिनमा भन्दा रातमा धेरै दुखाइ हुन्छ जसलाई नाइट पेन भनिन्छ । त्यस्तै हातखुट्टामा समस्या देखिनथाल्छ । हस्ताक्षर गर्दा वा लेख्दा अक्षर बिग्रिन्छ । सर्टको टाँक लगाउन गाह«ो हुन्छ । यसलाई फाइन फङ्सन अफ दि ह्यान्ड भनिन्छ ।

‘‘समस्याले असर गरिसकेको अवस्थालाई रेड फ्ल्याग साइन भनिन्छ । एक्कासी पिसाब रोकिने वा चुहिने, हिँड्दा खुट्टा लत्रिने रेड फ्ल्याग साइन भित्र पर्दछन् ।’’

यस्तो अवस्थामा एम.आर.आइ., एक्स—रे, सिटी स्क्यान गर्नुपर्छ । यसबाट समस्या पहिचान भएर अपरेशन कसरी सफल पार्ने भन्ने निर्णय लिन मद्धत गर्छ ।

स्पाइन शल्यक्रियामा कसरी सफलता मिल्नसक्छ ?
युरोप, अमेरिकाजस्ता विकसित मुलुकहरुमा सडक दुर्घटनाबाट स्पाइनमा चोट लाग्ने गरेको पाइन्छ । तर नेपालको सन्दर्भमा रुख एवं भिरबाट लडेर स्पाइनमा चोट लाग्ने गरेको छ ।
बिरामीले आफूलाई ठीक हुन्छ भन्ने सकारात्मक सोच लिनुपर्छ । यसबाट चाँडो रिकभरी हुने सम्भावना बढ्छ । यो कुरा विभिन्न अनुसन्धानहरुले पनि देखाइसकेका छन् । स्पाइनको शल्यक्रिया गर्दा टिमको ठूलो भूमिका हुने भएकाले डाक्टर, नर्स, फिजियोथेरापिस्ट सबैको आ—आफ्नो भूमिका रहेको हुन्छ ।

अपरेशनपछि संक्रमण हुने खतरा कति हुन्छ ?
स्पाइनको सर्जरी बढि जोखिमपुर्ण सर्जरी हो । विश्वको तुलनामा नेपालमा गरिने स्पाइन सर्जरीको सफल दर राम्रो छ । समग्रमा मैले ९९ प्रतिशत सफलता हाँसिल गरेको छु । बिरामीको अवस्था अनुसार शल्यक्रियाको परिणाम कस्तो आउँछ भन्ने कुराको निक्र्यौल हुन्छ ।

सफल उपचारमा स्पाइन सर्जनले ध्यान दिनुपर्ने के के छन् ?
सम्बन्धित विधामा राम्रो ट्रेनिङ लिएको हुनुपर्छ । शल्यक्रिया गर्नअघि बिरामी र डाक्टर बीच राम्रो छलफल हुनुपर्छ । बिरामीले सोधेका प्रत्येक प्रश्नको जवाफ डाक्टरसँग हुनुपर्छ र बिरामीलाई बुझाउन सक्नुपर्छ ।
शल्यक्रियापछि बिरामीलाई सामान्य जीवनमा फर्काउने हरेक सर्जनको उद्देश्य हुन्छ । शल्यक्रिया पछि दैनिक क्रियाकलापमा बिरामीलाई आत्मनिर्भर बनाउनुपर्छ । बिरामीलाई अरुले लुगा लगाइदिनुपर्ने, खुवाइदिनुपर्ने, नुहाइदिनुपर्ने जस्ता समस्या आउन नदिन भरपुर कोशिस गर्नुपर्छ ।

शल्यक्रियपछि विरामीले ख्याल गर्नुपर्ने कुराहरु
शल्यक्रिया गरिसकेपछि ५ देखि ७ दिन सम्म अस्पतालमा बस्नुपर्छ । दुइहप्ता पछि टाँका खोलिन्छ । त्यसपछि बिरामीलाई ६ हप्ता पेटी लगाउन सल्लाह दिइन्छ । फिजियोथेरापिस्टहरुले सम्बन्धित अभ्यास गर्न सिकाउँछन् । यो अभ्यास घरमा निरन्तर गर्नुपर्छ । यसका साथै स्पाइनको शल्यक्रिया गरेका व्यक्तिले होचो ठाउँमा टुक्रुक्क बस्न हुँदैन । कहिलेकाँही केही दुखाइ हुनसक्छ । यस्तो अवस्थामा आत्तिहाल्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्