Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. भगवान भन्नुहुन्छ-नीति निर्माण पक्षमा धेरै सुधार गर्नुपर्छ



मुटु लगायत नसर्ने रोगबाट नेपालमा दुई तिहाईको ज्यान जाने गर्छ । एकपटक एकजना हाम्रो स्वास्थ्य मन्त्री एवं शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिका अध्यक्षले गाउँमा पोष्टमार्टम गर्ने डाक्टर नभएको अवस्थामा यो मुटुरोग अस्पताल किन चाहियो ? भनेका थिए । तर आज मुटु अस्पताल किन चाहियो ? भन्ने खालको प्रश्न र आलोचना सुन्नुपर्दैन । मुटुका बिरामीहरु बढेका कारण मुटु अस्पतालको माग बढिरहेको छ ।
उपचार सेवालाई कसरी निरन्तरता दिइरहने ? कसरी पहुँचयोग्य बनाउने ? जनताको घरदैलोसम्म सेवा कसरी बिस्तार गर्ने ? विज्ञान र प्रमाणमा आधारित रहेर नयाँ नीति तर्जुमा कसरी गर्ने ? भन्ने विषयमा केन्द्रीत हुनुपर्ने भन्ने आजको आवश्यकता छ । गरीब देश भएर पनि नेपालमा आज बच्चाहरुको मुटुको जटिल रोगको समेत निःशुल्क उपचार सम्भव भएको छ । प्राथमिक उपचारमा केही गर्न नसकेको अवस्थामा टर्सरी केयर र विशिष्टिकृत उपचार सेवाको कुरा गर्ने भन्ने प्रश्न पनि आउला । तर वास्तवमा सरकारले मुटुरोगीको उपचार सेवामा मात्र होइन नीति निर्माण पक्षमा धेरै सुधार गर्नुपर्छ ।
वाथ मुटुरोगका बिरामीको उपचार ३ देखि ५ लाख रुपियाँसम्म खर्च गरेर गंगालालले निःशुल्क उपचार सेवा दिँदै आएको छ । तर त्यसको सेकेन्डरी केयर पेनिसिलिन प्रोफ्याल्याक्सिसको कार्यक्रम बीचमै हराएर गयो । करिब ३५ लाख रुपियाँमा वर्षभरि देशको कार्यक्रम चलिरहेको थियो । सम्बन्धित बिरामीले लाभ पाएका थिए । मुटुरोग बिरामीको उपचार खर्चमा हामीले बर्षेनी करोडौं रुपियाँ खर्च गरिरहेको अवस्था छ । प्राइमरी केयर अफ र्यूम्याटिक हार्ट डिजिज शुरु गर्ने बेला भइसकेको छ
अब हामी कम खर्च गर्ने बाटो अबलम्बन गरेर प्राइमरी केयरमा जानुपर्ने आवश्यकता छ । मेनिन्जाइटिसको छिटो पहिचान र उपचार गरेर वाथज्वरोजन्य मुटुरोगबाट बचाउन सकिन्छ । अब त्यसमा राष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गर्न जरुरी छ । विगतमा दिइरहेको सेकेन्डरी प्रिभेन्सन बीचैमा हराएर गयो । त्यसलाई तुरुन्त पहिलेकै रुपमा ल्याउनुपर्छ । यसैपटक अन्यत्रबाट भइपरी आउने खर्च कटौती गरेर भएपनि राष्ट्रिय रुपमा शुरु गर्नुपर्छ । 
हामीले अन्य नसर्ने रोगको नीति तर्जुमा गर्नुपर्छ । नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु कि नेपाल सरकारले बल्ल संरचनामा नै नसर्ने रोगको सेक्सन खडा गरेको छ । यो निकै राम्रो कुरा हो । यसलाई वृहत् बनाउँदै जानुपर्छ । एकिकृत मञ्चबाट विभिन्न नसर्ने रोगको सेवा कसरी प्रदान गर्ने भन्ने बारेमा ठोस कार्यक्रम तय गरेर यसलाई राजधानीबाहिर बिस्तार गर्नुपर्छ ।
सेकेन्डरी केयर र प्राइमरी केयर केन्द्रको सहयोग गर्ने संयन्त्र बनाउनुपर्छ । हामीले यहाँबाट सपोर्ट गर्ने संयन्त्र बनाउनुपर्छ । हामी त्यसको मोडालिटीको लागि होमवर्क गरिरहेका छौं । हामीलाई यसबारे अलिकति हेक्का छ । त्यसलाई सशक्त रुपमा विकेन्द्रीकरण गर्ने अभियानमा लाग्नुपर्छ ।
(वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइरालाको गंगालाल राष्ट्रिय हृदय केन्द्रको विकास र विस्तारमा निकै ठूलो योगदान छ ।)

प्रतिक्रिया दिनुहोस्