Logo
|
Friday 19th April 2024
Logo

epaper

जाडोमा हृदयाघातको जोखिम ज्यादा



मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मांसपेशीले काम गर्न नसक्नु हृदयाघात हो । हृदयाघात उक्त भागको मृत्युसमेत हुनु हो ।यसरी हुन्छ हृदयाघात 
रक्तनलीमा तीन कारणले अवरोध हुने गर्दछ । रक्तनलीमा बोसो जमेमा, रक्तनली फुटेमा र उच्च रक्तचापका कारण मुटुमा दबाब परेमा धमनीमा अवरोध सिर्जना हुन्छ । स–साना धमनीमा अवरोध हुँदा खासै असर देखिँदैन । तर, बायाँतिरको मुख्य धमनीमा अवरोध भएर हृदयाघात भएमा त्यो प्राणघातक हुन सक्छ ।

सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, वंशानुगत गुण आदि कारणले हृदयाघात हुने गर्छ । त्यस्तै, पुरुषमा हुने विभिन्न हर्मोनका कारणसमेत हृदयाघातको जोखिम हुन्छ । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैमा हृदयाघात हुने सम्भावना बढ्छ ।

लक्षण यस्ता
सामान्यतया हृदयाघातको लक्षण थाहा नै हुँदैन । व्यक्तिपिच्छे फरक–फरक लक्षण देखा पर्छन् । हृदयाघात भएको सुरुमा थाहा नहुँदा ढिला गरी चिकित्सककहाँ पुग्ने गरिन्छ । छाती दुख्नु, कमजोरी महसुस हुनु, बंगारा दुख्नु, दम बढ्नु वा स्वाँ–स्वाँ हुनुजस्ता लक्षण हृदयाघात हुनुअघि देखिन्छन् । साथै, कसैमा पेट दुख्ने, मुटु ढुकढुक हुने, बेहोस हुने आदि समस्यासमेत देखा पर्न सक्छन् । यस्ता लक्षण देखा पर्न थालेमा तुरुन्त चिक्तिसककहाँ जानुपर्छ ।

जाडोमा यसकारण जोखिम
जाडो मौसममा बढी निष्क्रिय जीवनशैली हुन्छ । त्यसकारण मुटुरोगका बिरामीका लागि हृदयाघातको उच्च जोखिम हुने गर्छ । चिसोका कारण शरीरका नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुन्छ, अनि हृदयाघातको जोखिम बढ्छ । त्यस्तै, चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुटेर हृदयाघात हुने गर्दछ ।

जाडोमा हृदयाघात हुनुको अर्को प्रमुख कारण हर्मोनको गडबडी पनि हो । शरीरमा रहेका विभिन्न हर्मोन बिहानीपख बढी सक्रिय रहने हुन्छ, जसकारण पनि हृदयाघात हुन्छ ।
यीबाहेक चिसोकै कारण फोक्सोमा संक्रमण, निमोनिया, दम आदि समस्या हुन्छ । त्यसैगरी, जाडोयाममा अन्य विभिन्न कारणले मुटुलाई असर गर्ने हुँदा यो समयमा हृदयाघातको जोखिम अत्यधिक हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्