Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालबाट क्रिटिकल केयर मेडिसिनमा डीएम गर्ने पहिलो डाक्टर



डा. प्रमेश सुन्दर श्रेष्ठ नेपालबाट उत्पादन भएको पहिलो डीएम गर्ने क्रिटिकल केयर विशेषज्ञ हुनुहुन्छ । डा. हेमराज पनेरु र डा. निरज कयालले भर्खरै मात्र क्रिटिकल केयरमा डिएम सक्नुभएको छ भने डा. सौरभ प्रधान, डा. सुनिल पाठक र डा. शुभ कल्याण श्रेष्ठ अध्ययनरत हुनुहुन्छ ।

शिक्षण अस्पतालमा डिएमको क्रिटिकल केयरको अध्ययन हुन थालेको ५ वर्ष भयो । यो स्पेसलाइज्ड विषय भएकाले यसको क्राइटेरिया फरक हुन्छ । त्यसकारण वर्ष एक दुइमात्र डाक्टर लिइन्छ ।

त्रि.बि. शिक्षण अस्पतालमा शुरु गरिएको क्रिटिकल केयरमा डिएम कार्यक्रमबाट बार्षिक धेरै बिद्यार्थिले बार्षिक रुपमा अध्ययन गर्न सकेका छैनन् । पाँच वर्षको अवधिमा ६ जनाले मात्र क्रिटिकल केयरमा डिएम गर्न सफल भएका छन् । सन् २०१३ बाट त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा क्रिटिकल केयर मेडिसिनमा डिएम कोर्षको अध्ययन शुरु गरिएको थियो ।

त्रि.बि. शिक्षण अस्पतालमा शिक्षण अस्पतालले वार्षिक तीनहजार देखि तीन हजार पाँच सय भन्दा बढी बिरामीलाई आई.सि.यू.सेवा दिदैँ आएको छ । त्यसमा डा. श्रेष्ठको विगत ३ वर्षदेखि प्रत्यक्ष सहभागिता रहेको छ । यहाँ ५५ वटा क्रिटिकल केयरका विभिन्न वेड रहेका छन् ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा ८ सयदेखि १२ सयसमम आई.सी.यू.का बिरामीलाई उहाँले सेवा प्रदान गर्दै आउनुभएको छ । यो अस्पतालमा २३ वटा सुविधासम्म आई.सी.यू वेड रहेका छन् ।

शिक्षण अस्पतालमा क्रिटिकल केयर मेडिसिन सेवा लिन आउने बिरामीको मृत्युदर रहेको पाइन्छ । यसको प्रमुख कारण प्रायः गम्भीर प्रकारका बिरामी रिफर भएर आउने भएकाले नै हो ।

डा. प्रमेश सुन्दर श्रेष्ठ
त्रि.वि. शिक्षण अस्पताल महराजगञ्जका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुन्दर श्रेष्ठ नेपालबाट क्रिटिकल केयर मेडिसिनमा डीएम गर्ने पहिलो इन्टेन्सिभिष्ट चिकित्सक हुनुहुन्छ । सन् २०१३ मा रोयल कलेज अफ क्यानडाको समन्वयमा त्रि.बि.शिक्षण अस्पतालमा शुरु गरिएको क्रिटिकल केयर मेडिसिनको डीएम कोर्ष गर्ने डा.श्रेष्ठ पहिलो विद्यार्थी हो । उहाँ चावहीलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर युनिटको प्रमुखसमेत हुनुहुन्छ । क्रिटिकल मेडिसिनबारे डा. श्रेष्ठ के भन्नुहुन्छ ? आउनुस् जानौं ।

क्रिटिकल केयर मेडिसिन के हो ?
शरीरका विभिन्न अंगहरुमासमेत संक्रमण भई रक्तचाप एवं फोक्सोमा समस्या भएका सिकिस्त बिरामीहरुलाई छिटो उपचार सेवा प्रदान गर्ने विधालाई क्रिटिकल केयर मेडिसिन भनिन्छ ।  क्रिटिकल केयर मेडिसिनमा सिकिस्त बिरामीको अंग सपोर्ट गर्न विभिन्न प्रविधिहरु प्रयोग गर्नुपर्छ । जस्तोः फोक्सोको समस्या भएमा भेन्टिलेटर, मिर्गौलामा समस्या भएमा डायलाइसिस, ब्लड प्रेशर कम भएमा मुटुलाई सपोर्ट गर्ने विभिन्न औषधिको प्रयोग आदि । यसरी क्रिटिकल केयरअन्तर्गत विभिन्न प्रविधिको प्रयोग गर्दै लाभदायक औषधिको माध्यमबाट सिकिस्त बिरामीको संक्रमण नियन्त्रण गर्ने र खराब भएका अन्य अंगसमेतलाई सपोर्ट दिएर छिटो भन्दा छिटो बिरामीको ज्यान बचाउने कोसिस गरिन्छ ।

क्रिटिकल केयरमा पुग्ने अवस्था
दुर्घटनाबाट शरीरका विभिन्न महत्वपूर्ण अंगहरुमा चोट (पोलिट्रमा) र विभिन्न रोगको अत्यधिक संक्रमणले मानिसलाई क्रिटिकल केयर युनिटमा पुर्याउन सक्छ । नेपाललगायत दक्षिण पूर्वी एसियाका देशहरुमा संक्रमण नै प्रमुख समस्या हो । जस्तोः फोक्सोको संक्रमण, आन्द्राको संक्रमण आदि । नेपालका कतिपय ठाउँहरुमा सिटामोल खाएर ज्वरो कम गर्दै बसेका बिरामीहरुमा संक्रमणले च्यापेको धेरै उदाहरणहरु पाइन्छ । यस्ता बिरामीहरु पिसाब कम हँुदै गएपछि र विभिन्न अंगमा असर गर्न थालेपछि मात्र अस्पताल आउने गर्छन् । संक्रमण शरीरभर फैलिसकेको र धेरै अंगमा असर गरिसकेको अवस्थामा रगतको प्रेसर कम भई चेतना समेत गुमिसकेको हुन्छ । यस्तो अवस्थाका बिरामीलाई तुरुन्त आई.सी.यू.मा भर्ना गरेर कडा एन्टिबायोटिक दिनुपर्छ । कतिपय बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गर्नुपर्छ ।
ठूला दुर्घटनामा परी करङका हड्डीहरु भाँचिएको, टाउकोभित्र रगत जमेर चेतना कम भएको वा बेहोस् भएको, कलेजो, फियोलगायतका महत्वपूर्ण अंगमा चोट लागेर पेटमा रगत जमेर शल्ययक्रिया गर्नुपर्ने, फोक्सोमा रगत जमेको अवस्थाका बिरामीलाई क्रिटिकल केयरमा राखेर उपचार गर्नुपर्छ ।

जीवन मरणको दोसाँधमा पुगेका बिरामी बचाउन क्रिटिकल केयरको कस्तो भूमिका हुन्छ ?
क्रिटिकल केयर युनिटमा बस्ने डाक्टरहरु यस विधामा बिज्ञ हुनुपर्छ । यहाँ डाक्टरहरु २४ सै घण्टा रहनुपर्छ । यसबाट बिरामीको मुटुको चाल र रक्त सञ्चारमा सानो भन्दा सानो परिवर्तन पहिचान गरेर बिरामीको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।  यसका साथै क्रिटिकल केयर युनिटमा नर्सिङ केयरको महत्वपूर्ण भूमिका हुन्छ । भेन्टिलेटरमा रहेको एउटा बिरामीलाई एक नर्स उपलब्ध भएमा समस्या जतिसक्दो चाँडो पहिचान भई बिरामी बचाउन सकिने सम्भावना उच्च हुन्छ ।

क्रिटिकल केयरमा गोल्डेन आवरको कस्तो भूमिका हुन्छ ?
आकस्मिक दुर्घटनामा परेका बिरामीका लागि समय भनेकै ज्यान हो भन्ने ख्याल गर्नुपर्छ । क्रिटिकल अवस्थाका बिरामीलाई अस्पताल पुर्याएर एक घण्टाभित्र उपचार शुरु गरिसकेको अवस्थामा मृत्युदर कम हुने र बिरामी बाँच्ने अवसर धेरै हुन्छ । गोल्डेन आवर मुटु, मस्तिष्कलगायतका सबै महत्वपूर्ण अंगमा लागू हुन्छ । रोगलाई छिटो पत्ता लगाएर समयमै उपचार गर्नुपर्छ जसले गर्दा रोग फैलिन पाउँदैन । बिरामीलाई फङ्गसनल आउटकम दिन क्रिटिकल केयरमा गोल्डेन आवरको एकदमै महत्वपूर्ण भुमिका हुन्छ ।

आई.सि.यू. के हो ?
सिकिस्त बिरामीको अवस्था हेरेर क्रिटिकल केयरको डाक्टर र आवश्यकताका आधारमा अरु सम्बन्धित डाक्टरको सहकार्यमा दिने सेवालाई इन्टेन्सिभ केयर युनिट (आई.सी.यू.) भनिन्छ ।

सी.सी.यू. भनेको के हो ?
कोरोनरी केयर युनिट (सी.सी.यू.) मा विशेषगरी मुटुसँग सम्बन्धित सिकिस्त बिरामीको हेरचाह गरिन्छ । यो युनिटमा प्रायः हृदयघात र मुटुको समस्या भएका बिरामीहरु धेरै हुन्छन् ।

नेपालको सन्दर्भमा आई.सी.यू.मा कसरी बिरामीको हेरचाह गरिन्छ ?
नेपालको आई.सी.यू. स्पेशियालिटीमा बिस्तारै उन्मुख भइरहेको छ । तापनि कतिपय अवसस्थामा मेडिकल र सर्जिकल दुबै खालका सिकिस्ति बिरामीलाई एउटै आई.सी.यू.मा राखेर हेरचाह गर्नुपर्ने वाद्यता छ ।  नेपालमा आई.सी.यू.को वर्गिकरण गरिएको छैन । विकसित मुलुकहरुमा आई.सी.यू. लाई लेवल थ्री, लेवल टू र लेवल वनमा वर्गिकरण गरेर उपचार सेवा गरिन्छ । जस्तोः टाउको र नसासम्बन्धि सिकिस्त बिरामी न्युरो आई.सी.यू., पेटको र कलेजोको बिरामी ग्याँस्ट्रो आई.सी.यू., शल्यक्रिया मात्र गरिएको बिरामी सर्जिकल आई.सी.यू., मेडिकलसम्बन्धि भएमा मेडिकल आई.सी.यू.मा राखेर उपचार गर्नुपर्छ । त्रि.वि.शिक्षण अस्पतालमा मेडिकल, सर्जिकल, जनरल, सी.सी.यू, बालबालिकालाई राख्ने पेडियाट्रिक आई.सी.यू. रहेका छन् ।

सबै बिरामीलाई क्रिटिकल केयर आई.सी.यू.मा राखेर हेरिन्छ ?
सबै आई.सी.यू. एक नासका हँुदैनन् । आई.सी.यू.को पूर्वाधार, अत्याधुनिक प्रविधि र जनशक्ति (डाक्टर, नर्स) को आधारमा कति सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरा निर्भर हुन्छ ।
क्रिटिकल केयर आइसियुमै दिनुपर्छ भन्ने मात्र हुँदैन । वार्डमा भर्ना भएको कुनै पनि बिरामीको स्वास्थ्यस्थिति खराब भएमा पनि क्रिटिकल केयरका डाक्टरको उपस्थितिमा हेरचाह गरिन्छ ।

आई.सी.यू.मा पुगेका बिरामी बाँच्ने सम्भावना कति हुन्छ ?
बिरामीलाई आई.सी.यू.मा राखेपछि उपचार गर्न गाह«ो हुन्छ कि भन्ने धेरै बिरामीका आफन्तको सोच हुन्छ । तर वास्तवमा यो गलत हो बिरामीको रोगको जटिलताको आधारमा बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ । जस्तोःनसा सम्बन्धी रोगका बिरामीलाई १० देखि १२ महिना सम्म पनि आई.सी.यू. मा राखेर सामान्य जीवनमा फर्काउन सफल भएका छौं ।  भेन्टिलेटरमा राख्ने बिरामीको अवस्था सिकिस्तै हुन्छ । बिरामीलाई कृत्रिम स्वासप्रश्वास मेसिनमा नराखी समाधान हुन नसक्ने अवस्था भएपछि भेन्टिलेटरमा राखिन्छ । यस्ता बिरामीको मृत्यदर बढि हुन्छ ।

कस्तो बिरामीलाई क्रिटिकल केयरको सेवा चाहिन्छ ?
विभिन्न समस्या एवं संक्रमणका कारण मुटु, फोक्सो, मिर्गौला, टाउको लगायतका महत्वपूर्ण अंगहरुमा असर पुगेका बिरामीहरुका लागि क्रिटिकल केयरको जरुरत पर्छ । यस्ता बिरामीहरुलाई बढि केयर गर्नुपर्छ । यस्तो अवस्थामा उपचार गर्दा मेहनत र खर्च धेरै हुन्छ । उपचारमा धेरै एक्सपर्टिज डाक्टरहरु चाहिन्छ । कतिपय अवस्थामा फोक्सो, मिर्र्गाैला लगायतका विशेषज्ञ डाक्टरहरुको टिम मिलेर उपचार गर्नुपर्छ ।

के आई.सी.यू.का बिरामी सिरियस हुन्छन् ?
आई.सी.यू.मा सिरियस खालका बिरामी हुन्छन् । आई.सी.यू.का बिरामीलाई जटिलताको वर्गिकरणका आधारमा उपचार गर्नुपर्छ । सर्जिकल आई.सी.यू.मा भएका बिरामी शल्यक्रिया गरेका बिरामी हुने भएकाले मेडिकल आई.सी.यू. बिरामी भन्दा कम सिकिस्त हुन्छन् र यस्ता बिरामीहरुको मृत्यदर पनि कम हुन्छ । यस्ता बिरामीहरुलाई केहि दिन आई.सी.यू.मा राखेर घर पठाइन्छ । बिरामीको उमेर र रोगको स्टेजले बिरामी बाँच्ने वा मर्ने कुराको निक्र्योल गर्छ ।

क्रिटिकल केयर पढेका डाक्टर र अन्य डाक्टरले गरेको उपचारमा फरक हुन्छ ?
देशको अवस्था हेरेर बिरामीलाई सेवा दिनुपर्छ । सेवा नै नदिनुभन्दा सेवा दिनु राम्रो हो । सकेसम्म सुधार गर्दै जानुपर्छ । केहि अस्पतालहरुमा क्रिटिकल केयरसम्बन्धि विशेषज्ञ डाक्टरहरु पनि उपलब्ध छन् ।

क्रिटिकल केयरमा डाक्टर र नर्सको कस्तो भूमिका कस्तो हुन्छ?
क्रिटिकल केयरमा जिम्मेवार र संवेदनशितला धेरै जरुरत पर्छ । यस विधामा काम गर्ने नर्स र डाक्टरहरुले क्रिटिकल केयरसम्बन्धि तालिम लिएका हुन्छन् । २ दिनको छोटो तालिमदेखि ३ वर्षसम्मको लामो तालिम पनि हुन्छ ।

क्रिटिकल केयरमा पुगेका बिरामी बाँच्ने सम्भावना कति हुन्छ ?
बिरामीको शरीरमा संक्रमण कति भएको छ र त्यसले कुन अंगलाई कति क्षति पु¥याएको छ भन्ने कुरामा बाँच्ने वा नबाँच्ने भन्ने निर्भर हुन्छ । क्रिटिकल केयरमा हिसाब राख्ने स्कोरिङ सिस्टम हुन्छ । साइन्टिफिक स्कोरिङ सिस्टमले बिरामी बाँच्ने सम्भावना कति छ भन्ने देखाउँछ र त्यहि अनुसार बिरामीका आफन्तलाई सल्लाह दिइन्छ । जस्तैः मुटु, मिर्गौला, फोक्सो र टाउको जस्ता महत्वपूर्ण अंगमध्ये कुनै एउटा अंगमा संक्रमण भएमा मृत्यु हुने सम्भावना करिब २० प्रतिशत भन्दा बढी हुन्छ । यसैगरी दुईवटा र त्यो भन्दा बढी अंगमा असर परेमा करिब ४० प्रतिशत मृत्यु हुनसक्छ ।

आम जनतालाई के सन्देश दिनुहुन्छ ?
आजभन्दा पाँच दश वर्ष पहिला अलिकति सिरियस हुनेबित्तिकै उपचार गर्न मानिसहरु विदेश जान्थे । जसले गर्दा धेरै आर्थिक बोझ उठाउनुपथ्र्यो । बिगत पाँच वर्षदेखि सिकिस्त बिरामी भएर आइसियुकै लागि बाहिर जाने प्रविधि निश्चय नै घटेको छ । जसले गर्दा नेपालको पैसा बिदेशमा जान रोकिएको छ । सबै सेवा उपलब्ध भएपछि आर्थिक भार पनि घट्छ । नयाँ बिधि र प्रविधि भएको कारण गर्दा विकास हुन समय लाग्छ । नेपाल सरकारले क्रिटिकल केयरको क्षेत्रलाई प्रोमोट गर्न लगानी गर्नुपर्छ ।

ॐ हस्पिटलको क्रिटिकल केयर
यस हस्पिटलको क्रिटिकल केयर युनिटमा डा. प्रमेश सुन्दर श्रेष्ठको नेतृत्वमा २४ सै घण्टा क्रिटिकल केयरको तालिम प्राप्त एमडी तहका डाक्टर र मेडिकल अफिसरको व्यवस्था मिलाइएको छ । त्यसबाहेक भेन्टिलेटरमा राखिएको एक जना बिरामीका लागि एक नर्स र भेन्टिलेटरमा नभएका २ जना बिरामीका लागि एक जना नर्सको व्यवस्था छ । अस्पतालका हरेक वेडमा अत्याधुनिक भेन्टिलेरको सुविधा उपलब्ध छ । यसका साथै क्रिटिकल केयरमा रहेका बिरामीका लागि साधारण र सिकिस्त बिरामीका लागि स्लिड डायलाईसिसको सुविधा छ जुन नेपालका केही ठाउँमा मात्र उपलब्ध हुन्छ । यहाँ अत्याधुनिक ब्लड ग्याँस मेसिन छ । सबै ल्याबहरु कम्प्युटराइज्ड छन् । यो मोनिटरमा सबै देखाउँछ । आइसियुमा भएका बिरामीले के खाने के नखाने हेर्न एक जना डाइटिसियन राखिएको छ । आइसियुमा भएको बिरामीको लागि फिजियोथेरापी सेवा उपलब्ध छ । हरेक बिरामीलाई दिनमा दइचोटि काउन्सिलिङको सुबिधा उपलब्ध गराइन्छ । ओम अस्पतालमा बिरामीको मृत्युदर ८ देखि १२ प्रतिशत मात्र छ ।

प्रतिक्रिया दिनुहोस्