Logo
|
Friday 29th March 2024
Logo

epaper

कसरी चुक्छन् डाक्टर, साइत हेराएर बच्चा जन्माउनुको औचित्य



डा. लता बज्राचार्य स्त्री रोग तथा प्रशुति विधामा राम्रो अनुभवी वरिष्ठ डाक्टर हुनुहुन्छ । यो क्षेत्रमा उहाँको ४० वर्षदेखिको अनुभव छ । अहिले डा. बज्राचार्य बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ । यहाँ उहाँलाई बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म भेट्न सकिन्छ । डा. बज्राचार्य बि.सं.२०३४ सालदेखि बि.सं.२०६७ सालसम्म सरकारी जागिरमा हुनुहुन्थ्यो । उहाँ परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालको निर्देशकबाट उमेर हदका कारण सेवा निवृत्त (रिटायर्ड) पाउनुभएको हो । उहाँ सो अस्पतालको निवर्तमान अध्यक्ष हो । शुरुका दिनहरुमा वीर अस्पतालमा मेडिकल अफिसरका रुपमा ८ वर्ष काम गर्नुभयो । त्यसपछि डा. बज्राचार्य स्त्री रोग तथा प्रशुतिमा विशेषज्ञता हाँसिल गर्न ढाका युनिभर्सिटी जानुभएको थियो । ढाकाबाट स्त्री तथा प्रशुतिमा एमडी गरेर फर्केपछि बीर अस्पतलामा एक वर्षजति काम गर्नुभयो । त्यहाँबाट स्त्री रोग तथा प्रशुति वार्ड थापाथलीस्थित प्रशुति गृहमा सारेपछि त्यहीँबाट सेवा प्रदान गर्न थाल्नुभयो । बि.सं.२०४३ सालमा सेकेन्ड क्लासको पदोन्नति भएपछि उहाँलाई बीरगञ्जमा स्थानान्तरण गरियो । बीरगञ्जमा ३ वर्षजति काम गरेपछि २०४७ सालमा प्रशुतिगृहमा पुनः स्थानान्तरण हुनुभयो । त्यसपछि डा. बज्राचार्यले पछाडि फर्केर हेर्नुपरेन । १० सौं र ११ औं तहको बढुवा हुँदै अन्तिममा उहाँ अस्पतालको निर्देशक हुनुभयो । निर्देशकबाट नै उहाँले सेवानिवृत्त पाउनुभएको थियो । यस अंकमा हामीले डा. बज्रार्यलाई स्त्री रोग तथा प्रशुतिमा के कस्ता समस्या आउनसक्छन् भनेर उहाँको अविस्मरणीय क्षणका बारेमा जान्ने कोशिस गरेका छौं । आउनुस् जानौं उहाँकै शव्दमा ।

तिता मिठा अनुभव
४० वर्षको अवधिमा कयौं महिलाको ज्यान बचाएकी छु भने धेरैले नयाँ जीन्दगी प्राप्त गरेका छन् । यसको कुनै लेखाजोखा छैन । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामान्य मानिएका प्रशुति सेवा पनि उच्च जोखिमका हुने गर्छन् । यसबाट महिलाको ज्यानसमेत जानसक्छ । यससम्बन्धि निकै सम्बेदनशील हुन जरुरी हुन्छ । कतिपय घटनाहरु मैले पनि अनुभव गरेकी छु ।

अविस्मरणीय घटना

स्मरण नं. १
२०५० सालतिर शल्यक्रिया गरेर सामान्य प्रशुति गर्ने क्रममा अत्यधिक रक्तश्राव भएर एकजना महिलाको ज्यान गएको घटना अहिले पनि स्मरण छ । उनी मेरो निजी क्लिनिकमा जँचाइरहेकी थिइन् । यो उनको दोस्रो गर्भ थियो । उनको पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरिएको थियो । दोस्रो पटकको गर्भमा उनको जुम्ल्याहा बच्चा थिए । एकदिन उनलाई अचानक लेवर पेन भयो । प्रशुति गृहमा मेरो ड्यूटी थियो । उनलाई शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्था भएकाले आकस्मिक शल्यक्रिया गरियो । अचानक उनको अत्यधिक रक्तश्राब भयो । गर्भको दुवै वच्चा निकाल्न त सफल भयौं । तर धेरै रगत बगेर आधा घण्टाभित्र उनको मृत्यु भयो । यति धेरै रगत बगेको मैले जीवनमा देखेको थिइँन । उनको घरमा पहिलो ४ वर्षको नावालक बच्चा थियो । दोस्रोपटक जुम्ल्याहा छोरा र छोरीको जन्म भयो । तर जन्मदै उनीहरु पनि टुहुरा भए । यो घटनाले धेरै दिनसम्म मलाई नरमाइलो महसुस भइरह्यो । ति महिलाको पाठेघरको मांशपेशीमा टाँसिएको साल भित्रभित्रै झांगिएर विभिन्न ठाउँमा फैलिएको थियो ।

शल्यक्रिया गर्नुभन्दा अगाडि हामीले अल्ट्रासाउण्ड गरेका थियौं । अरु कुरा   सामान्य नै थियो । तर साल झांगिएको होला र अत्यधिक रक्तस्राब होला भन्ने   नजरअन्दाज गरेका थिएनौं ।

यसरी पाठेघरभित्र टाँसिएको साल भित्रभित्रै झांगिने समस्या एक प्रकारको रोग हो । यसलाई ‘प्लेसेन्टा एडरेन्स’ भनिन्छ । यस प्रकारको समस्या एकपटक शल्यक्रिया गरेर बच्चा निकालिएका धेरैजसो महिलाहरुलाई हुने गर्छ । यसरी पाठेघरभित्र झांगिएको साल प्रशुतिका क्रममा सजिलो तरिकाले निकाल्न सकिँदैन । अत्यधिक रक्तश्राब हुने भएकाले आवश्यक सम्पूर्ण तयारी गरेर प्रशुतिकै क्रममा बेहोस बनाएर खेर जाने रगत दिँदै पाठेघर नै निकाल्नुपर्छ । तर हामी यस घटनामा चुकेका थियौं । तर अर्को घटनामा भने हाम्रो प्रयासले सफलता प्राप्त गर्यो ।

स्मरण नं. २
प्रशुति गृहमा काम गरिरहेको बेला २०६५ सालतिर अर्को यस्तै प्रकारको पाठेघरभित्र टाँसिएको साल भित्रभित्रै झांगिने समस्या ‘प्लेसेन्टा एडरेन्स’ को घटना आएको थियो । ती गर्भवती महिलालाई पनि मैले शुरुको अवस्थादेखि जाँच गरिरहेको थिएँ । उनको पनि पहिलो बच्चा शल्यक्रिया गरेर जन्माइएको थियो । दोस्रो गर्भको दौरानमा बीचमा रगत जान थाल्यो । तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरियो । पहिलाको घटना जस्तै ‘सुत्केरी महिलाको ज्यान नजाओस्’ भनेर अल्ट्रसाउण्ड गरेर राम्रोसँग समस्या पहिचान गरियो । बच्चासँगै रहेको साल पाठेघरको भित्रभित्रै झांगिएर गएको क्रिटिकल अवस्था भएकाले सबै सावधानी अपनाएर खेर गएको रगत शरीरमा दिँदै बेहोस बनाएर पाठेघर निकालेपछि सुत्केरीको ज्यान बच्यो ।अहिले पनि ति महिला मलाई भेट्न क्लिनिकमा आइरहन्छिन् । यस प्रकारका घटना मेरो लागि अबिस्मरणीय छन् । त्यसैले पहिला शल्यक्रिया गरेर बच्चा जन्माएका गर्भवती महिलाहरुको दोस्रोपटक डेलिभरीको समयमा समस्या भएनभएको एकिन गर्नुपर्छ ।

स्मरण नं.३
एक जना गर्भवती महिला पाठेघर फुटेर बचाएको घटना पनि स्मरण छ । उनको पाँच महिनाको गर्भ छँदा पाठेघर फुट्यो उनको सानो र ठूलो गरी दुईवटा पाठेघर रहेछ । सानो पाठेघरमा गर्भ बसेकाले बच्चा बढ्दै गएपछि पाठेघर फूटेको थियो । अस्पताल ल्याउँदा ति महिला निकै सिकिस्ता थिइन् । शरीरमा रगत नभएको जस्तो लाग्थ्यो । तर हामीले होसियारपूर्वक सम्पूर्ण पूर्वाधार तयार पारेर शल्यक्रिया गरेकाले उनको ज्यान बच्यो । त्यसपछिका दिनमा पनि ती महिला २ वटा बच्चा जन्माउन सफल भएकी थिइन् ।

साइत हेराएर शल्यक्रिया गर्ने
आजकल शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन धेरै छ । प्रशुतिगृहलगायतका धेरै सरकारी अस्पतालहरुमा जटिल अवस्थामा मात्र शल्यक्रिया गरिन्छ भने निजी अस्पतालमा सामान्य अवस्थाका महिलाहरुलाई पनि शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन छ । आजकल त झन् परिवारमा साइत हेराएरसमेत शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन हावी छ ।

औंशीको दिन छोरी जन्माउँदा ग्रह कडा भएर श्रीमान् मर्नसक्ने भन्ने रुढीवादी सोच पनि छ । त्यो दिन नपारेर शल्यक्रिया गरेर बच्चा जन्माइदिन आग्रह गर्ने अभिभावकको कमी छैन ।

तर विदेशतिर मतलब नै हुँदैन । यो विकृति हो र यस्ता कुरामा विश्वास गर्न हुँदैन ।बच्चा जन्माउन क्रिटिकल घटनावाहेक शल्यक्रिया गर्न हुँदैन । रातभर लेवर पेन गराएर राख्दा के होला भनेर शल्यक्रिया गर्ने प्रचलन पनि छ । सामान्य प्रशुति गर्न नसक्ने भनेर बिरामी आफैं पनि शल्यक्रियाका लागि राजी हुने गर्छन् । तर कुनै जटिल अवस्था नभएमा शल्यक्रिया गर्नुभन्दा सामान्य तरिकाबाट प्रशुति गराउन राम्रो हुन्छ ।

महिलाहरुको स्त्री समस्या
नेपालमा बढिरहेको समस्या यौन सञ्चारित रोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) हो । यस प्रकारका समस्याहरुमा योनीबाट सेतो पानी बगिरहने, योनी चिलाउने, तल्लो पेट दुःख्ने आदि रहेका छन् । निजी क्लिनिकमा बिरामीको जाँच गर्दा ५० प्रतिशत यस प्रकारका महिलाहरु हुने गर्छन् । यो असुरक्षित यौन सम्पर्कबाट सर्ने रोग हो । दुइजना मध्ये एकजनाको मल्पिटल सेक्स पार्टर भएमा पार्टनरबाट आफ्नो पार्टनरलाई सर्ने गर्छ । यो एकपटक महिलालाई सरेपछि निको हुन गाह्रो हुन्छ । केटा मान्छेको लिंग जस्तो महिलाहरुको योनी सफा गर्न सजिलो हुँदैन । सफा गर्दा ब्याक्टेरिया, फंगस पूर्ण रुपमा नमर्ने भएकाले यौन सम्बन्ध (सेक्स) गरेपछि फेरि बढेर आउनसक्छ । यो पटक पटक दोहोरिरहनसक्छ ।

 हरेक महिलाले आफूलाई भएको समस्या निसंकोच बताउनुपर्छ । औषधोपचारबाट श्रीमान् श्रीमती दुवैलाई निको पार्न सकिन्छ । शुरुको अवस्थामा यस किसिमको समस्या पूर्ण रुपमा निको हुन्छ ।

सेतो पानी बग्नु सेक्सुअली ट्रान्समिटेड डिजिजको समस्याले मात्र हुन्छ कि सामान्य व्यक्तिलाई पनि हुनसक्छ भन्ने धेरैको खुल्दुली हुनसक्छ । वास्तवमा सामान्य सिक्रेसन हुँदा योनीबाट सेतो पानी बग्छ । पाठेघर भएका हरेक महिलाको अलिअलि सेतो पानी बग्नु सामान्य कुरा हो । तर अत्यधिक गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुःख्ने भएमा रोगको शंका गर्नुपर्छ । यस प्रकारको समस्या बढ्दै गएमा निःसन्तानको समस्या, गर्भपतन भइरहने, इक्टोपिक प्रिग्नेन्सी (पाठेघर बाहिर गर्भ रहने), प्रिम्याच्युअर्ड डेलिभरी, कम वजनको बच्चा जन्मने र गर्भको बच्चा मर्न सक्छ । यस किसिमको समस्यालाई लाजको रुपमा लिन हुँदैन र समस्या लुकाएर र सहेर पनि बस्न हुँदैन । आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

(वरिष्ठ डा. लता बज्राचार्य बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्