Logo
|
Thursday 25th April 2024
Logo

epaper

न्युरो सर्जनहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, ४ युवा न्युरो सर्जनले पाए ‘योङ इन्भेष्टिगेटर अवार्ड’ (फोटो फिचरसहित)



न्युरो सर्जनहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा १२ भन्दा बढी राष्ट्रका विदेशी तथा स्वदेशी न्युरो सर्जन, न्युरोलोजिष्ट, न्युरो नर्स र फिजियोथेरापिष्ट गरी १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।
सो सम्मेलनको फादर अफ न्युरो सर्जन्स डा. दिनेश नाथ गोंगल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा डा. गोंगले मुलुकमा न्युरो सर्जरीको बिस्तारले आम बिरामीहरुले स्वदेशमा विश्वस्तरीय सेवा प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालका न्युरो सर्जनहरु अब्बल भएको उल्लेख गर्दै मस्तिष्कघात भएर नेपालमा शल्यक्रिया गरिएका आफन्तहरुले राम्रो उपचार सेवा प्राप्त गरेर अहिले पनि सामान्य जीवन बिताइरहेको बताउनुभयो ।
चैत्र २१ देखि २३ सम्म भएको सम्मेलनको पहिलो दिन न्युरो सर्जरी सम्बन्धि अन्तर्राष्ट्रिय महासंघ वल्र्ड फेडरेसन अफ न्युरो सर्जिकल सोसाइटिज साइन्सेस (डब्लुएफएनएस) को एजुकेशन कोर्ष भएको थियो । यो नेपालमा पहिलोपटक हो । डब्लुएफएनएसमा १ सय १९ भन्दा बढी देशका राष्ट्रिय संस्थाहरु र २० हजार भन्दा बढी न्युरो सर्जनहरु आबद्ध छन् । यस कोर्षमा अष्ट्रेलिया, चाइना, पोर्चुगल, जापान, भारत र अष्ट्रिया गरी १० विदेशी र नेपाली ४ फ्याकल्टीले न्युरो सर्जरीसम्बन्धि विशेष कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा न्युरो सर्जरीमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै डा. यमबहादुर (वाइबी) रोकालगातका ४ जना युवा न्युरो सर्जन्सहरुलाई योङ इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको थियो ।
सम्मेलनमा मस्तिष्क, नशा तथा मेरुदण्ड सम्बन्धि रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धानसम्बन्धि बिचार आदानप्रदान हुनुका साथै संसारमा भएका नवीनतम प्रविधिहरुको विकास, न्युरो सम्बन्धि समस्याको निदान र उपचारको विषयमा उच्चस्तरीय छलफल भएको थियो । विदेशी विज्ञहरुलाई नेपालको न्युरो सर्जरीको अवस्था अन्तर्राष्ट्रियस्तरको रहेको महसुस गराउन सफल भएको बताउँदै नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन्स) का अध्यक्ष प्राध्यापक डाक्टर मोहन राज शर्माले विदेशको तुलनामा नेपालमा निकै सस्तोमा न्युरो सर्जरी सेवा उपलब्ध भइरहेको जानकारी गराउनुभयो ।
अमेरिकामा ४५ हजार डलर खर्च हुने एन्युरिजमको शल्यक्रिया नेपालमा २ हजारमा उपलब्ध भइरहेको छ । नेपालको जनसंख्याको तुलनामा न्युन न्युरो सर्जनहरु रहेका छन । अमेरिकामा १ लाख जनसंख्याका लागि एउटा न्युरो सर्जन उपलब्ध तर नेपालमा करिब ३० लाख जनसंख्या बराबर एक जना न्युरो सर्जन रहेका छन् । हाल मुलुकमा करिब ८० जना न्युरो सर्जन छन् । पछिल्लो समय राजधानीबाहिर चितवन, बिराटनगर, पोखरालगायतका ठाउँहरुबाट पनि न्युरो सर्जरी सेवा उपलब्ध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्