Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रोस्टेट क्यान्सरको उपचार



केही वर्षअघिसम्म ज्यादै कम नेपालीमा मात्र प्रोस्टेट ग्रन्थीको क्यान्सर देखिने गथ्र्यो । तर, आजकल यो रोग धेरैमा देखिन थालेको छ । करिब १० वर्षअघिको विश्व स्वास्थ्य संगठनले हामीलाई एक वर्षमा ५० जना प्रोस्टेट ग्रन्थीको क्यान्सरका बिरामीको रेकर्ड राख्नुपर्ने लक्ष्य दिएको थियो । यद्यपि, हामीले तीनवटा अस्पताल (त्रिवि शिक्षण, पाटन र वीर अस्पताल)ले समेत सो पूरा गर्न सकेनांँ । अहिले आएर एउटै अस्पतालमा एक वर्षमा त्यति बिरामी आउने गरेका छन् ।

लक्षण
प्रोस्टेट ग्रन्थीको क्यान्सर र गैरक्यान्सर (प्रोस्टेट मात्र)का सुरुवाती लक्षण एउटै किसिमका हुन्छन् । छिटो–छिटो पिसाब लाग्ने, पिसाबको धारा मसिनो हुने, बल गर्नुपर्ने ,पिसाब फेरिसकेपछि पनि ननिख्रिने, रातिमा पिसाब फेर्न उठ्नुपर्ने र कहिलेकाहीँ पिसाब नै बन्द हुने गर्छ ।

उपचार
प्रोस्टेट क्यान्सरभन्दा पनि प्रोस्टेटका बिरामी धेरै हुने गर्छन् । त्यसैले प्रोस्टेटका बिरामीको उपचार सुरु गर्नुभन्दा अघि प्रोस्टेट ग्रन्थीमा क्यान्सर छ÷छैन यकिन गर्नुपर्छ । यी दुवै रोगको उपचार विशेषज्ञ युरोलोजिस्टले गर्छन् । सर्वप्रथम युरोलोजिस्टले बिरामीको मलद्वारबाट प्रोस्टेट छाम्छ र क्यान्सर भए÷नभएको यकिन गर्छ । क्यान्सरको शंका लागेमा रगतमा पिएसए जाँच्ने गरिन्छ । साधारणतया, पिएसएको मात्रा ४ एनजी÷एमएलभन्दा कम हुन्छ । यसको मात्रा क्यान्सरमा मात्र नभएर संक्रमणमा पनि बढ्ने गर्छ । पिएसएको मात्रा बढ्दैमा सुरुमै बायोप्सी या एमआरआई गर्नुपर्दैन । संक्रमणले बढेको भए पिएसए एन्टिबायोटिक खाएपछि सामान्य अवस्थामा आउँछ । तर, क्यान्सरले बढेको पिएसए नर्मलमा झर्दैन । त्यसकारण पहिलोपटकमा २–३ हप्तालाई एन्टिबायोटिक दिइन्छ र एक महिनापछि फेरि पिएसए जाँच गरिन्छ । यदि, एन्टिबायोटिक खाँदा पनि पिएसए घटेन भने मात्र मलद्वारबाट अल्ट्रासाउन्ड गरिन्छ र आवश्यक परेमा त्यहीँबाट सुइ लगाएर बायोप्सी लिइन्छ ।

प्रोस्टेट ग्रन्थीको क्यान्सर ज्यादै ढिलो गरी बढ्ने रोग भएको हुँदा दुई–तीन महिना कुरेर बस्दा पनि केही फरक पर्दैन । योभन्दा अघि एमआरआई, बोन स्क्यान वा पेट स्क्यान केहीगर्नुपर्दैन । यदि, बायोप्सीमा क्यान्सर आयो भने पनि बिरामीको उमेर ७० वर्षभन्दा कम भए मात्र उसको प्रोस्टेट निकाल्ने शल्यक्रिया गरिन्छ ।

तर, ७० वर्षभन्दा बढी उमेरका बिरामीलाई सानो अप्रेसन गरिन्छ । ठूलो अप्रेसन गर्नुपर्ने आवश्यकता पर्दैन । बायोप्सीमा क्यान्सर भेटिएका बिरामीको प्रोस्टेट निकाल्ने भएमा मात्रै उनीहरूको एमआरआई वा बोन स्क्यान गरिन्छ । अन्यथा, उनीहरूको उपचारमा यस्ता महँगा जाँचले केही फाइदा गर्दैन ।

प्रोस्टेटसम्बन्धी जस्तोसुकै उपचार पनि नेपालकै विभिन्न अस्पतालमा उपलब्ध छ । यसका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमा नभएको रोबोटिक सर्जरी मात्र हो । रोबोटिक सर्जरी अर्कोभन्दा दसौँ गुणा महँगो हुन्छ । यद्यपि, दुवै सर्जरी सफल हुन उत्तिकै सम्भव छ ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्