Logo
|
Thursday 28th March 2024
Logo

epaper

महिलालाई धेरै हुने समस्या ‘फाइब्रोमाइलिजिया’



 


फाइब्रोमाइलिजिया एक प्रकारको मांसपेशीमा हुने दीर्घकालीन बाथ रोग हो । यो रोग लागेपछि शरीरका मांसपेशीहरु दुःख्न थाल्छन् । अशह्य पीडा हुन्छ । यो एक ‘क्रोनिक पेन डिसअर्डर’ हो । यो रोग लागेका बिरामीहरुको खासगरी गर्दन, कुम, हात, खुट्टा र कम्मरको मांसपेशीमा दुःखाइ हुन्छ ।
लक्षण
-धेरै थकाइलाग्ने
– कामगर्न अल्छी लाग्ने
– निन्द्रा नलाग्ने
– जोर्नी दुःख्ने, अरठ्ठ हुने
-पटक–पटक दिसापिसाव लाग्ने
– पिसाव पोल्ने
– तल्लो पेट दुःख्ने आदि ।

 मानसिक समस्या
फाइब्रोमाइलिजिया भएका बिरामीलाई मानसिक समस्या पनि देखिनसक्छ । बिरामीको स्मरण शक्ति कमजोर हुँदै जान्छ । कुनै कुराको ठोस निर्णय लिन सक्दैन । कहिलेकाँही अचानक खुशी हुने र कहिले झट्ट रिसाउने जस्ता समस्या देखिन्छ । बिस्तारै बिरामी डिप्रेसनतिर धकेलिँदै जान्छ ।
डायग्नोसिस
फाइब्रोमाइलिजियाको पहिचान लक्षणबाट पनि गर्न सकिन्छ । यो रोग प्रायजसो बाथ, पेट रोग, थायराइड, मधुमेह र मानसिक रोगसँग जोडिएर आउने गर्छ । त्यसकारण उल्लेखित रोग भएनभएको पहिचान गर्न जरुरी हुन्छ । विश्वको कुल जनसंख्यामध्ये दुइ देखि तीन प्रतिशतलाई फाइब्रोमाइलिजिया हुनसक्ने अनुमान गरिएको छ । नेपालमा फाइब्रोमाइलिजियाका कति रोगी छन् भन्ने एकिन तथ्याङ्क छैन । पुरुषको तुलानमा महिलालाई धेरै देखिएको छ । नेपालमा २० देखि ५५ वर्ष उमेर समूहका महिला धेरै पीडित छन् । फाइब्रोमाइलिजिया ज्यान लेवा समस्या त होइन तर लामो समयसम्म पीडा र मानसिक तनाव दिइरहन्छ ।
उपचार
बाह्य रुपमा नभएपनि यो रोगले बिरामीलाई आन्तरिक पीडा र मानसिक तनाव दिइरन्छ । बिरामीका आफनन्तले समेत मानसिक पीडा बुझ्न नसक्ने भएकाले बिरामी र उसका आफन्तलाई सँगै राखेर परामर्श सेवा उपलब्ध गराउनुपर्छ । प्रायः फाइब्रोमाइलिजियाको जाँच रिपोर्टमा सबै सामान्य नै देखिन्छ । तर यो एक प्रकारको रोग भने अवश्य हो । त्यसैले कहिलेकाँही साइकोथेरापिष्टको सहयोग लिन आवश्यक हुन्छ । बिरामीले फिजियोथेरापी र शारीरिक अभ्यास नियमित गरिरहनुपर्छ । बिरामीको दुःखाइको अवस्था हेरेर औषधि उपलब्ध गराउनुपर्छ । समस्या अनुसार औषधि पनि फरक फरक चलाउनुपर्छ ।
बिरामीको जीवनस्तर
नियमित शारीरिक व्यायाम, फिजियोथेरापी, तनाव कम गर्नेजस्ता अभ्यास गर्नुका साथै नियमित औषधि सेवन गरेमा सामान्य जीवनयापन गर्न सकिन्छ । फाइब्रोमाइलिजियाको उपचार नेपालमा सम्भव छ ।
बिरामीको खानपान
यो रोग लागेका बिरामीले खासै खाना बार्नुपर्दैन । मांसपेशीसँग सम्बन्धित रोग भएका व्यक्तिले क्याल्सियम र भिटामिन ‘डि’ बढि भएको खाना, दुध र दुधबाट बनेका परिकार र गेडागुडि खानुपर्छ । भिटामिन ‘डि’ घामबाट पनि पाइने भएकाले शरीरको छाला देखिने गरी घाम ताप्न जरुरी हुन्छ ।
रोकथाम तथा बच्ने तरिका
मानसिक तनाव धेरै लिनुहुदैँन । फुर्तिलो भएर बस्नुपर्छ । दैनिक ३० मिनेटजति शारीरिक अभ्यास गर्नुपर्छ । सकारात्मक सोच लिनुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने बानी बसाल्नुपर्छ । कार्यालयमा काम गर्ने मानिसले टेबल र कुर्सिको सन्तुलन मिलाउनुपर्छ । आफ्नो बस्ने तरिका नमिलेमा मांसपेशी दुख्नसक्छ । त्यसैले घरायसी काम गर्दा महिलाहरुले विशेष ध्यान पुर्याउन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्