फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु
फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरुको संख्या अत्याधिक रहेको छ ।
हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्विन्सल्याण्डमा २५ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको छ। ६ वटा राज्य र दुई टेरिटोरी रहेको अष्ट्रेलियाको अन्य राज्य तथा टेरिटोरीको तथ्यांक सार्वजनिक नभइसकेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ।
दक्षिण अष्ट्रेलियामा मात्र यसबाट मृत्यु हुनेहरुमा वृद्धवृद्धा रहेको समाचारमाध्यमहरुले जनाएका छन्। जसका कारण केही वृद्धवृद्धाहरुले जीवन बिताउने ओल्ड एज होमहरु अस्थायी रुपमा बन्द समेत गरिएको छ। प्रमुख स्वास्थ्य अधिकृत प्रोफेसर प्याडी फिलिप्सले वर्षको शुरुवातदेखि अहिलेसम्म विभिन्न ५३ नर्सिङ्गहोमहरु यो रोग देखिइसकेको र १८ वटालाई अस्थायी रुपमा बन्द गरिएको बताएका छन्।
यसैगरी क्विन्सल्याण्ड हेल्थले सार्वजनिक गरेको तथ्यांक अनुसार फ्लुकै कारण अहिलेसम्म ८ सय बढी बिरामीहरु अस्पतालमा भर्ना भइसकेका छन् भने करिब १० हजारजना यस रोगका कारण बिरामी परेका थिए। अष्ट्रेलियामा यसवर्षको सुरुवातदेखि अहिलेसम्म करिब ४० हजार बिरामीहरु पाइएको समेत जनाइएको छ।
क्विन्सल्याण्डका प्रमुख स्वास्थ्य अधिकृत डा. जेनेट योङ्गले सबै नागरिकहरुलाई यथासक्य चाँडो फ्लुको भ्याक्सिन लगाउनका लागि आग्रह गरेकी छिन्। उनले फ्लु सामान्य रुघाखोकी जस्तो नभई गम्भिर किसिमको भाइरल रोग भएको बताउँदै भ्याक्सिन नै यो रोगबाट बचाउने सर्वोत्तम उपाय भएको बताइन्।