Logo
|
Friday 29th March 2024
Logo

epaper

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु



प्रदेश २ सरकारले पाँच जिल्लाका पाँचवटा स्थानीय तहमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको कार्यक्रममा समावेश गरी भक्तपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र धादिङका पाँच स्थानीय तहका पाँच अस्पतालमा कार्यक्रम लागू गरेको हो ।

भक्तपुर नगरपालिकास्थित भक्तपुर अस्पतालमा बुधबारबाट कार्यक्रम लागू भएसँगै पाँचवटै जिल्लामा एकसाथ ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम लागू भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताए । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले प्रदेश सरकारको बजेट खर्च हुन नसकिरहेको अवस्थामा भक्तपुर अस्पतालको विकासमा लगानी गर्न आग्रह गरे । भक्तपुर अस्पतालको विकासमा प्रदेश सरकारले तत्कालै पाँच करोड रूपैयाँ मात्रै विनियोजन गरिदिए पनि अस्पताल व्यवस्थित हुने उनले बताए ।

भक्तपुर अस्पताललाई ५० लाख अनुदान
मन्त्रालयले भक्तपुर अस्पताललाई ५० लाख अनुदान दिएको छ । कार्यक्रमका लागि प्रदेश सरकारले तीन करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । पाँचवटा अस्पताललाई ५०–५० लाख रूपैयाँ अनुदान निकासा दिइसकेको जनस्वास्थ्य प्रशासक विष्टले बताए । बाँकी बजेटले मन्त्रालयले व्यवस्थापन र अस्पताल गुणस्तर सुधारका लागि कार्यक्रमहरू सञ्चालन गरेको उनले बताए । पहिलो वर्ष हरेक अस्पतालबाट दुई–दुई हजारको स्वास्थ्य परीक्षण गर्ने मन्त्रालयको लक्ष्य छ ।  नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्