Logo
|
Saturday 20th April 2024
Logo

epaper

यी हुन् बालबालिकाका लागि अनिवार्य खोप



बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रीम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा बच्चालाई लगाइन्छ । बच्चाको स्वस्थ जीवनका लागि खोप अनिवार्य छ । कुनै पनि बच्चा सम्भावित रोगबाट प्रभावित नहोस् भन्ने उद्देश्यअनुरूप बालबालिकालाई खोप लगाइने गरिन्छ । समान्यतया, १२ वर्षसम्मका बच्चालाई खोप दिइन्छ । हाल नेपालमा ११ रोगविरुद्ध खोप दिइन्छ । ती सबै विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । अब जानौँ, ती खोपबारे :

 बिसिजी
बिसिजी क्षयरोगविरुद्ध दिइने खोप हो । जन्मेदेखि एक वर्षभित्रमा एकपटक दिइन्छ । यो दायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ ।

 डिपिटी/हेपाटाइटिस बी हिब
भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनिन्जाइटिस र निमोनियाजस्ता रोगविरुद्ध डिपिटी÷हेपाटाइटिस बी हिब खोप दिइन्छ । बच्चा ६, १० र १४ हप्ताको हुँदा एक–एक महिनाको फरकमा तीनपटक यो खोप लगाइन्छ । यो बायाँ तिघ्राको मध्यबाहिरी भागमा लगाइने गरिन्छ ।

 पोलियो 
पोलियोमाइलाइटिस रोगविरुद्ध लगाइने खोप पोलियो (ओपिभी) हो । बच्चा ६, १० र १४ हप्ताको हुँदा एक–एक महिनाको फरकमा तीनपटक यो खोप दिइन्छ । पोलियोको थोपा मुखमा खुवाइन्छ ।

 पिसिभी
निमोनिया रोगविरुद्धमा दिइने खोप पिसिभी हो । यो ६ र १० हप्ता तथा नौ महिना गरी जम्मा तीनपटक दिइन्छ । यो खोप बच्चाको दायाँ तिघ्राको मासुमा लगाउनुपर्छ ।

 एफआइपिभी
एफआइपिभी पनि पोलियोमाइलाइटिस रोगविरुद्ध लगाइन्छ । बच्चा ६ र १४ हप्ताको हुँदा जम्मा दुईपटक यो खोप दिइन्छ । यो छालाभित्र दायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ ।

 दादुरा/रुबेला 
दादुरा र रुबेला रोगविरुद्ध दिइने खोप दादुरा÷रुबेला (एमआर) हो । यो ९ र १५ महिनामा गरी दुईपटक दिइन्छ । बायाँ पाखुराको माथिल्लो भाग (छाला र मासुको बीच)मा यो लगाइन्छ ।

 जापानिज इन्सेफ्लाइटिस
जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोपलाई जापानिज इन्सेफ्लाइटिस (जेई) भनिन्छ । बच्चा एक वर्षको भएपछि दायाँ तिघ्राको माथिल्लो भागमा यो खोप लगाइन्छ ।

 टिडी
टिडी धनुष्टंकार र भ्यागुतेरोगविरुद्ध गर्भवती महिलालाई दिइने खोप हो । गर्भवती भएको थाहा पाउनेबित्तिकै पहिलो, त्यसको एक महिनाको फरकमा दोस्रो र त्यसपछिका प्रत्येक गर्भमा एकपटक यो खोप लगाउनुपर्छ । खोप बायाँ पाखुराको माथिल्लो भागमा लगाइने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्