Logo
|
Saturday 20th April 2024
Logo

epaper

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलन फिर्ता, १० बुँदे सहमति, सहमतिमा के छ ? (पूर्ण बिवरणसहित) ?



भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत नर्स र केन्द्रबीच भएको १० बुँदे सहमतिसँगै गत वैशाखको पहिलो साताबाट आन्दोलित नर्सहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । गत वैशाख २७ गतेबाट आमरण अनसनमा बसेकी केन्द्रकी नर्स डिक्की शेर्पा र बसुन्धरास्थित विपी स्मृति अस्पतालमा आमरण अनसनमा रहेकी जिता बरालले पनि आजै अनसन तोडेका छन् ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी दिलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल र नेपाल शेर्पा महिला संघकी अध्यक्ष डिमी शेर्पाको रोहवरमा भएको सहमतिमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र स्वास्थ्यकर्मी एवं आन्दोलनरत नर्स रविता सितिखु, प्रविना कार्की र सजना देउलाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रशासन तर्फको लोकसेवा विज्ञापन तथा परीक्षाका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ति नपाएमा विस्तारित विभागहरुमा खाई पाई आएको करार नियुक्तीलाई निरन्तरता दिने, केन्द्रको नियमावली संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने, लिखित परीक्षापछि लोकसेवा आयोगबाटै मौखिक परीक्षा लिने, लोकसेवा परीक्षा आगामी कात्तिक महिनामा सञ्चालन गर्न पहल गर्ने, नर्सिङ डाइरेक्टरको काजमा व्यवस्था गरी स्थायी पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, केन्द्रको भौतिक सेवा सुविधा एवं स्तरोन्नतिका लागि सबैले सम्बन्धित निकायमा पहल गर्ने, अनसन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सम्बन्धित अस्पतालबाट निःशुल्क उपचार गर्ने र गिरफ्तार भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तत्काल रिहा तथा मुद्धाहरु लगाएको भए फिर्ता गर्न सम्बन्धित निकायमा पहल गर्नेलगायतका १० बुँदे सहमति भएको छ ।

सहमति भएका बुँदाहरु  ।
१.केन्द्रमा करारमा रहेका स्वाथ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मनत्रालयबाट प्राप्त नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
२.केन्द्रका लागि आवश्यक विभागहरु आईसियू तथा युरोलोजी लोकसेवा आयोगको परीक्षा सञ्चालन हुन अगावै स्थापना गरी सेवा विस्तार गर्ने र तत्पश्चात् कार्डियोलोजी, हेपाटोलोजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने । प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करामा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ति नपाएमा विस्तारित विभागहरुमा खाई पाई आएको करार नियुक्तीलाई निरन्तरता दिने ।
३. नेपाल सरकार स्वास्थ्य ऐन श्रम ऐनसँग बाझिएका यस केन्द्रको नियमावलीलाई परिमार्जन र संशोधन गर्न स्वास्थ्य तथा कर्मचारीहरुको सहभागितामा कार्यदल गठन गरी संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने
४. लोकसेवाको मौखिक अन्तर्वार्ता निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तर्वार्ता सञ्चालनका लागि अनुरोध गर्ने । यदि लोकसेवा आयोगबाट सहयोग प्राप्त नभएमा स्वास्थ्यकर्मी तथा कर्मचारीको परामर्शम निष्पक्ष समिति गठन गर्ने ।
५. लोकसेवा परीक्षा २०७६ साल कात्तिक महिनामा तिहारपछि सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीसहित यस केन्द्रको कार्यकारी निर्देशकले सम्बन्धित निकायम पहल गर्ने ।
६. केन्द्रमा नर्सिङ डाइरेक्टर तत्कालका लागि काजमा व्यवस्था गरी स्थायी दरबन्दीका लागि आवश्यक प्रक्रिया तत्काल प्रारम्भ गर्ने ।
७. केन्द्रको बोर्ड बैठकमा केन्द्रका नर्सिङ डाइरेक्टरको सहभागिता र प्रतिनिधित्व अनिवार्य गर्ने । नर्सिङ डाइरेक्टर नियुक्ति नभएको हकमा आवश्यकता अनुसार विज्ञ नर्सलाई आमन्त्रण गरिने ।
८. यस केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिको लागि केन्द्रका कार्यकारी निर्देशक तथा सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सम्बन्धित निकायमा पहल गर्ने ।
९. यो सहमतिामा दुवै पक्षबाट हस्ताक्षर भएपश्चात् यस केन्द्रमा आमरण अनसनमा बसेका स्वास्थ्यकर्मी डिक्की शेर्पा र विपि स्मृति अस्पताल बसुन्धरामा बसेका जिता बराललाई आमरण अनसन तोड्न अनुरोध गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।
१०. अनसन र आन्दोलनको क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सम्बन्धित अस्पतालबाट निःशुल्क उपचार गर्ने र गिरफ्तार भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तत्काल रिहा तथा मुद्धाहरु लगाएको भए फिर्ता गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

प्रतिक्रिया दिनुहोस्