Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यकर्मी नै छाउ गोठमा बस्छन्



अरुलाई उपचार गर्ने र धेरै कुरा सिकाउने स्वास्थ्यकर्मीहरु नै देउता लाग्ने डरले वर्षौ देखि छाउ गोठमा बस्दै आउनु भएको छ । समाजमा देउता लाग्ने, कुष्ठरोग लाग्ने र निसन्तानी हुने भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्यकर्मी समेत मा बस्ने गर्नु भएको हो ।

अरु महिलाहरुले यसरी छाउ गोठमा पाँच देखि सात दिन सामाजिक मुल्य र मान्यता अनुसार छाउ गोठमा बस्नु सामान्य जस्तै भएको अवस्थामा स्वयम स्वास्थ्यकर्मी रहनु भएकी चंखेली गाउँपालिका वडा नम्बर पाँचकी अनमी कविता तामाङ निसन्तानी हुने, देउता लाग्ने र कुष्ठ रोगको शिकार हुनु भन्दा महिनावारी भएको बेला छाउ गोठमै बस्नु राम्रो हुने बताउनु हुन्छ । यी मान्यतालाई तोडेर म घरमा बस्नै नसक्ने उहाँ सिधै भन्नु हुन्छ । २२ वर्षकी विवाहित तामाङले बच्चा भने जन्माउनु भएको छैन् । समाजमा रहेको यो मान्यतालाई मैले तोड्न नसक्ने उहाँले बताउनु भयो । अनुहार सहितको फोटो खिच्न पनि उहाँले मान्नु भएन । तर उहाँ छाउ गोठमा सुतेको बेला फोटो खिचेपछि भने उहाँले केही भन्नु भएन ।
उहाँ मात्र होईन नेक्पाका अन्य एक जना स्वास्थ्यकर्मीले पनि यसरी नै महिनावारीको बेला घर भन्दा अलग रहेको छाउ गोठमा बस्नु बाध्यता भन्दा पनि स्वभाविक भएको बताउदै आउनु भएको छ । किन कि उहाँले आजसम्म त्यसका विरुद्ध बोल्न पनि नसकेको संचारकर्मी नरजंग तामाङले बताउनु भयो । गाँउ बाहिर गएका महिलाहरुले महिनावारीलाई खासै महत्व नदिए पनि गाउँमा बसेपछि भने कुनै पनि महिलाहरुले यो चलनलाई तोड्न नसकेको उहाँले बताउनु भयो ।
तामाङ मात्र होईन सर्केगार्ड गाउँपालिका वडा नम्बर आठको राहदेव सामुदायीक स्वास्थ्य क्लिनिककी अनमी आईती कटेल पनि महिनावारी भएको बेला छाउ गोठमा बस्दै आउनु भएको छ । छाउ गोठमा नबस्ने भनेर प्रतिवाद गर्न नसक्नु भएकी कटेलले निसन्तान हुने डरले नै गोठमा बस्ने गरेको बताउनु भयो । सामाजिक मान्यतालाई तोड्न पनि कठिन भएको उहाँले बताउनु भयो । गाउँमा स्वास्थ्यकर्मी मात्र होईन महिला शिक्षकहरुले पनि महिनावारी भएको बेला छाउ गोठमा बस्ने गरेको उहाँले बताउनु भयो ।
हालसम्म यसरी महिनावारी भएको बेला छाउगोठमा बस्दा न त कसैलाई देउता लागेको प्रमाण छ न त निसन्तानी भएको नै प्रमाण छ । खाली सामाजिक मान्यताले मात्र यस्तो भएको हो । शिक्षित जनशक्तिबाट यस्तो प्रथालाई अनुसरण गरिन्छ भने अन्य निरक्षर साक्षर महिलाबाट त्यस विरुद्ध बोल्ने आँट आउने संभावना छैन । गोरखापत्रबाट

 

प्रतिक्रिया दिनुहोस्