Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

घरमै सुत्केरी हुँदा आमा र शिशुको मृत्यु



 जिल्लाको बडिगाड गाउँपालिकामा घरमै सुत्केरी हुँदा आमा र नवजात शिशु दुवैको ज्यान गएको छ। बडिगाड गाउँपालिका- ६ सुरकुडेकी २३ वर्षीया जिसु बुढाको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको हो।गत सोमबार दिउँसो घरमै सुत्केरी भएकी जिसुले जन्माएकी नवजात शिशुको पनि दुई घण्टामै ज्यान गएको थियो।

अधिक रक्तश्राव र नवजात शिशुको मृत्युपछि विक्षिप्त भएकी जिसुलाई सुरकुडेबाट राति अवेर मात्र स्वास्थ्य चौकी पुर्‍याइएको थियो। अत्यधिक रक्तश्राव भएकाले बडिगाडमा रहेको पोलिक्लिनिकले करिब एक घण्टाको सामान्य उपचारपछि पाल्पा लैजान रेफर गरेको थियो। मंगलबार बिहान सासूआमासहित पाल्पा पुर्‍याइएकी जिसुलाई चार पोका रगत चढाइएको थियो। उनका श्रीमान रवि भने ऋणको जोहो गर्न गाउँमै फर्किएका थिए।

पाल्पाको प्रवास मेडिकल कलेजमा सुरुवाति उपचारपश्चात सामान्य अवस्थामा फर्किएपछि जिसुले साथमा रहेकी सासूआमा लालमाया बुढालाई तत्काल घर फर्किन प्रस्ताव गरेकी थिइन्। तर लालमायाले अस्पताल आएको बेला पूरा उपचार गरेर ठिक भए पछि मात्र फर्किने जवाफ दिएपछि अस्पतालमै बसे।

तर साँझपख जिसु पुनःगम्भीर समस्या देखियो। समस्या बल्झिएपछि उनलाई आइसीयुमा राखियो। रातको दुई बजे डाक्टरले जिसुलाई बचाउने सम्भावना नरहेको बताएपछि लालमाया भाव बिह्वल बनिन्। बुहारीलाई उपचार गरेर घर ल्याउन गएकी लालमाया अन्ततः बुहारीको शव लिएर फर्कन विवश भइन्।

उनका श्रीमान् रवि बुढाका अनुसार चार पटक गर्भको जाँच पनि गरिएको थियो। गत सोमबार बिहान १० बजे तिरबाट जिसुलाई सुत्केरी व्यथा लागेको र दिउँसो ३ बजे घरमा बच्चा जन्मिएको थियो। दोश्रो बच्चा भएकाले आफूहरुले स्वास्थ्य चौकी जाने र यस्तो घटना होला भनेर कल्पना समेत नभएको रविले बताए।

बच्चा जन्मिएपछि जिसुसहित परिवारका सबै सदस्य उत्साहित थिए। तर बच्चाले अफ्ठेरो गरी श्वास फेर्न थालेपछि सबैमा चिन्ता छायो। स्वास्थ्य चौकी लैजाने चर्चा चले पनि नजिक स्वास्थ्य चौकी नभएको र तत्कालै सवारी साधन बोलाउन पनि सम्भव नभएकाले यस्तो घटना आइलागेको स्थानीय बताउँछन्।’श्रीमतीको रक्तश्राव रोकिएको थिएन, पेटको दुखाई अधिक थियो,’ जिसुका श्रीमान रविले घटनाको फेहरिस्त सुनाउदै भने, ‘सुत्केरी भएको दुई घण्टामै बच्चाले श्वास छोड्यो, त्यस क्रममै उनले मलाई बोलाएर अब म बाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है भनेर रुँदै भनेकी थिइन्।’  जिसुको यही बाक्य नै अन्तिम भएको रविले सुनाए।

बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले पाठेघर च्यातिएका कारण अत्याधिक दुखाइ सुत्केरी आमाको ज्यान जाने खतरा हुने बताए।  १७ वर्षको उमेरमा बिहे गरेकी जिसुले १९ वर्षमा पहिलो शिशुलाई जन्म दिएकी थिइन्।उनको यो दोस्रो शिशु हो। मातृशिशु मृत्युदर घटिरहेको अवस्थामा आमा र बच्चाकै ज्यान जाने गरी भएको घटनाले जिल्लाभर तरंग ल्याएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले अहिलेको समयमा पनि रक्तश्रावका कारण ज्यान गएको घटना दु:खद र बिडम्बनापूर्ण भएको बताए। ‘गर्भवती भएपछि अनिवार्य रुपमा नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियानलाई जोड दिँदै आएका छौं,’ तिवारीले भने, ‘दोस्रो गर्भ हो भनेर गर्भवती र परिवारका सदस्यले यस घटनामा केही बेवास्ता गरेको पाइयो, यसकारण यस्तो अप्रिय घटना हुनपुग्यो।’

बडिगाडमा भएको घटनाले आफूहरुलाई पुनः झस्काएको उनको भनाई छ। ‘हाम्रो भूगोल पनि अमिल्दो छ। भनेको समयमा स्वास्थ्य संस्थामा सहज पहुँच छैन,’ बरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारीले थपे, ‘अर्कोतर्फ परिवारका सदस्य पनि समयमै संवेदनशील गम्भीर नदेखिँदा यस्ता घटना अझै पनि भइरहेका छन्।’

अब फेरी टोल टोल र घर घरमै पुगेर अनिवार्य रुपमा स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थप सचेतना फैलाउनले उनले प्रतिवद्धता जनाए। हजार दिनका महिलालाई समेत यसका बारे अभिमुखिकरण गराउनुपर्ने उनको भनाई छ।  अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्