Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालको लिफ्ट बिग्रँदा सास्ती



 धनगढीस्थित सेती अञ्चल अस्पतालमा बिग्रिएको लिफ्ट मर्मत नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । बिरामीलाई माथिल्लो तलामा बोकेर लानुपर्ने बाध्यता छ । ‘बिरामी भएर आएँ,’ डडेल्धुराबाट खुट्टाको उपचारका लागि आएकी कलावती बलले भनिन्, ‘दुई तलासम्म हिँडेर जाँदा साह्रै दुःख भयो ।’

अस्पतालमा आउने अधिकांश बिरामीलाई माथिल्लो तला आउजाउ गर्न सकस परेको छ । हिँड्न नसक्नेलाई बोकेर लैजानुपर्ने बाध्यता छ । ‘छातीमा पानी भरिएर उपचार गर्न आएका बेला २ तलामाथि उक्लिँदा श्वास फुलेर झन् गाह्रो भयो,’ उपचारका लागि आएका टेकराज भट्टले भने । उनले सामान्य बिरामीलाई त्यति गाह्रो नभए पनि सिकिस्त, बालक र वृद्धहरूलाई लिफ्ट नहुँदा निकै सास्ती हुने बताए ।

‘एक तलासम्म त हवील चेयरमा राखेर ल्याएँ, यसपछि मुटुरोगी आमालाई हिँडाएर माथिल्लो तलामा ल्याउनुपर्‍यो,’ बैतडी सिगास गाउँपालिका १ बाट आमाको उपचारका लागि आएकी निर्मला भुलले भनिन्, ‘अस्पतालमा भएको लिफ्ट नबनाउँदा धेरै गाह्रो भएको छ ।’

लिफ्ट बिग्रएको डेढ महिना नाघेको अस्पतालका सुरक्षाकर्मी लोकेन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘मर्मत गरेको केही समयमै बिग्रिहाल्छ, ‘काठमाडौंबाट प्राविधिक आउँछ बनाउँछ, फेरि केही दिनमै बिग्रिन्छ ।’ चीनबाट झिकाइएको लिफ्ट बिग्रेका बेला मर्मत गर्ने प्राविधिक काठमाडौंबाटै बोलाउनुपर्ने भएकाले ढिलाइ भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ बताउँछन् । ‘धेरैपटक बोलाएर मर्मत गरिसक्यौं, हरेकपटक महँगो शुल्क तिरेर काठमाडौंबाट प्राविधिक बोलाउँछौं,’ उनले भने, ‘बिरामीहरूको समस्या अस्पताल प्रशासनले पनि बुझेको छ । यो महिनाभित्रै मर्मत गरी सञ्चालन गर्छौं ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्