Logo
|
Sunday 20th October 2019
NEWS PAPER

डायटिसियनहरु सरकारबाटै उपेक्षित



हरेक रोगमा खानपानको भूमिका महत्वपूर्ण हुन्छ । तर बिरामीहरुलाई खानपानको सन्तुलन मिलाउन सल्लाह दिने नेपालका डायटिसियन (पोषणविद्) हरु नै उपक्षेति हुँदै गएका छन् । राष्ट्रिय योजना आयोगले कुनै समय पहिले प्राथमिकतामा राखेको पोषण विषयको हालत दयनीय छ । नेपाल सरकारको राजपत्रमा छैटौं तहदेखि नबौं तहसम्म डायटिसियन राख्ने व्यवस्था हुँदाहुँदै पनि पाठ्यक्रम निर्माण नभएको भन्दै लोकसेवा आयोगले कर्मचारी आव्हान गरेको छैन ।


वर्षेनी नेपालमा १ सय ५० को हाराहारीमा डायटिसियनहरुको उत्पादन हुँदै आएको छ । काठमाडौंको पद्मकन्या क्याम्पसबाट १ सय र धरानको केन्द्रिय प्राविधिक क्याम्पसबाट ३० जना र अन्य विभिन्न ठाउँ गरी १ सय ५० जनाको हाराहारीमा वर्षेनी डायटिसियनहरुको उत्पादन भइरहेको छ । धरानको केन्द्रिय प्रविधि क्याम्पसले यो विषय २०६७ सालबाट अध्यापन गराइरहेको छ ।
तर जागिरको अवसर छैन । सरकारले डायटिसियनहरुलाई प्राथमिकतामा नराखेको वरिष्ठ डायटिसियन एवं नेपाल डायटिसियन संघकी अध्यक्ष नानी शोभा शाक्य बताउनुहुन्छ ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धि निर्देशिका २०७० (दोस्रो संसोधन २०७३) मा २५ देखि ७५ वेडसम्मका अस्पतालमा १ जना डायटिसियन, १ सय वेडका लागि २ जना, १०१ देखि २०० वेडसम्मको लागि फूड एण्ड न्युट्रिसनिष्ट १ र फूड एण्ड न्युट्रिसनिष्ट सहायक १ जना, २०१ देखि ३०० वेडका लागि फूड एण्ड न्युट्रिसनिष्ट २ र फूड एण्ड न्युट्रिसनिष्ट सहायक १ जना, ३०१ देखि ५०० वेडका लागि फूड एण्ड न्युट्रिसनिष्ट २ र फूड एण्ड न्युट्रिसनिष्ट सहायक ३ जना, ५०१ देखि ७५० वेडका लागि फूड एण्ड न्युट्रिसनिष्ट ४ र फूड एण्ड न्युट्रिसनिष्ट सहायक ४ जना, ७५१ देखि १००० वेडका लागि फूड एण्ड न्युट्रिसनिष्ट ५ र फूड एण्ड न्युट्रिसनिष्ट सहायक ५ जना राख्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

यसरी अस्पतालहरुमा पर्याप्त डायटिसियनहरु हुनुपर्ने उल्लेख हुँदाहुँदै पनि सरकारी अस्पतालहरुमा औंलामा गन्ने डायटिसियनहरु पनि छैनन् । मुलुकको जेठो वीर अस्पतालमा १ जना, त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, नारायण उपक्षेत्रीय अस्पतालमा १ जना, कोशी अञ्चल अस्पतालमा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना डायटिसियन रहेका छन् । पछिल्लो समय भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १ जना करारमा डायटिसियन राखिएको छ ।

तर शहीद गंगालाल राष्टिय हृदय केन्द्र, पाटन हस्पिटल, सिभिल हस्पिटल, राजधानीबाहिरका अधिकांश अस्पतालहरुमा डायटिसियनहरुको व्यवस्था छैन ।  अहिले नसर्ने रोगको प्रकोप बढ्नुमा अस्वस्थ्यकर र असन्तुलित खानपान मुख्य भएको वरिष्ठ डायटिसियन एवं संघकी उपाध्यक्ष रश्मी बजिमयको भनाइ छ । अहिलेसम्म निजी र सरकारी गरी करिब ६० जना डायटिसियनहरुले सेवा दिइरहेका छन् । करिब ९५ प्रतिशत निजीमा नै कार्यरत रहेको डायटिसियन बिनिता पन्त बताउनुहुन्छ । यसका साथै सरकार डायटिसियनहरुलाई पहिचान दिन पनि चुकेको छ । उनीहरु प्रोफेसनल काउन्सिलमा दर्ता भएर काम गर्नुपर्ने भएपनि अहिलेसम्म उनीहरुले लाइसेन्स पाउन सकेका छैनन् ।

औषधि निःशुल्क बाँढिरहेको सरकारले औषधिसँगसँगै कस्तो पोषण चाहिन्छ ? भनेर आवश्यक डायटिसियनहरु उपलब्ध गराउन नसक्नु बिडम्बना भएको डायटिसियन कविता महर्जन बताउहुनुहुन्छ । नेपालमा डायटिसियनहरु ३० औं वर्ष अगाडिबाट कार्यरत भएता पनि नेपाल डायटिसियन संघको स्थापना भएको १० वर्ष भएको छ । देशभरका पोषणविद् (डायटिसियन) हरुमा पेशागत नैतिकता, इमान्दारिता एवं राष्टका जनताको पोषणस्तर तथा स्वास्थ्य सुधारमा योगदान पुर्याउने उद्देश्यले २०६६ सालमा स्थापित नेपाल डायटिसियन संघ पोषणविद् (डायटिसियन) हरुको छाता संगठन हो ।
नेपाल डाटिसियन संघका पदाधिकारीहरुले देशमा उत्पादित विभिन्न क्याम्पसबाट निस्केका न्युटे«सन र डायटिष्ट, फूड एण्ड न्युटे«सनका विद्यार्थीहरुलाई इन्टर्नमार्फत एक्स्पोजर गराएर डायटिसियनको परिचय अझ प्रष्ट पार्ने काम भइरहेको डायटिसियन शान्ता अस्तानीको भनाइ छ ।

शैक्षिक ज्ञान बोकेर आएका विद्यार्थीहरुलाई समुदायमा एक्सोजर गराउँदै विभिन्न रोगलाई खानामार्फत नियन्त्रण गर्ने तरिकाबारे सिकाउने र डायटिसियन भइसकेका दक्ष जनशक्तिलाई पनि बेलाबेलामा सिएनईको आयोजना गरी अपडेड गराउने काम भइरहेको डायटिसियन एलिना गिरी बताउनुहुन्छ । समुदाय लक्षित पोषण तथा डायटसम्बन्धिका कार्यक्रमहरु पनि निरन्तर सञ्चालन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको पद्मकन्या क्याम्पसको मास्टर फूड एण्ड न्युटे«सनका जनशक्ति डायटिसियन भएर ३० औं वर्षदेखि विभिन्न सरकारी गैरसरकारी र निजी संस्थाहरुमा कार्यरत छन् । पछिल्लो पाँच वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएस्सी न्युटे«सन र डायटेटिक्सका दक्ष जनशक्तिले डायटिसियनको क्षेत्रलाई थप मजबुद् बनाउन टेवा दिएको डायटिसियन मोदनाथ पौडेल बताउनुहुन्छ । यसरी डायटिसिनहरुको धेरै महत्व हुँदाहुँदै पनि सरकारी तवरबाट गम्भीर चासो नदेखाइनु बिडम्बना मान्नुपर्छ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्