Logo
|
Thursday 25th April 2024
Logo

epaper

निःशुल्क गरिँदै आएको इन्फ्लुएन्जाको परीक्षण गर्न ४५ सय



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबलाई इन्फ्लुएन्जा परीक्षणको अनुमति दिएको छ । अहिलेसम्म निजी ल्याबलाई परीक्षण गर्न रोक लगाइएको थियो । मन्त्रालयका सचिवले निजी ल्याबलाई इन्फ्लुएन्जा परीक्षणको अनुमति दिएका हुन् । स्वास्थ्य मन्त्रालय नीति योजना तथा गुणस्तर महाशाखा प्रमुख डा. विकास देवकोटाले जनस्वास्थ्य प्रयोगशालाको सिफारिसमा सचिवले सिडिएल ल्याबलाई अनुमति दिएको जानकारी दिए ।

इन्फ्लुएन्जा परीक्षणको अनुमति दिने अधिकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मात्र छ । तर, यसपटक मन्त्रालयले शुल्क तोकेरै परीक्षणका लागि स्वीकृति दिएको छ । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र निःशुल्क इन्फ्लुएन्जा परीक्षण गरिँदै आएको थियो । प्रयोगशालाका कर्मचारीले बिरामीको रिपोर्ट दिन हप्ता दिनसम्म लगाउने गरेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले कमलपोखरीमा रहेको ल्याब सिडिएललाई इन्फ्लुएन्जा परीक्षणको अनुमति दिएको बोधार्थसहितको मन्त्रालयको पत्र आएको जानकारी दिइन् ।

निःशुल्क हुने इन्फ्लुएन्जा परीक्षण अब ४५ सय रुपैयाँमा 
निर्देशक डा. रुणा झाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुएन्जा परीक्षण निःशुल्क गरिन्छ । प्रयोगशालाका उपनिर्देशक डा.विष्णु उपाध्यायको कमलपोखरीमा रहेको निजी सिडिएल ल्याबलाई ४५ सय रुपैयाँ लिन पाउने गरी अनुमति दिइएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयको अनुमतिसँगै अब सरकारी प्रयोगशाला पुगेका इन्फ्लुएन्जाका बिरामीलाई सिडिएल ल्याब पठाउने बाटो खुलेको छ ।
मापदण्ड नपुगेको ल्याब 
केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिडिएल ल्याबको अनुगमन गर्न विज्ञहरूको टोली पठाएको थियो । तर, पूर्वाधार अपुग र उपकरणको अभावले गर्दा स्वीकृत दिन उपयुक्त नभएको प्रतिवेदन मन्त्रालयमा बुझाइएको थियो । आर्थिक चलखेलका आधारमा इन्फ्लुएन्जा परीक्षणको अनुमति दिएको हुन सक्ने मन्त्रालयका अधिकारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले यस विषयमा आफूले चाँडै जानकारी लिने बताए ।

निजी क्षेत्रको पहिलो ल्याब
मन्त्रालयका अनुसार निजी क्षेत्रको पहिलो इन्फ्लुएन्जा परीक्षण गर्ने ल्याब सिडिएल भएको छ । सरकारले उसलाई एकजनाको परीक्षण गर्दा ४५ सय रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ । मन्त्रालयको निर्णयसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कामविहीन हुने देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरू निजी ल्याबलाई अनुमति दिनुभन्दा सिभिल अस्पताल, वीर अस्पताललाई इन्फ्लुएन्जा परीक्षणको अनुमति दिनुपर्ने बताउँछन् । निजीभन्दा सरकारी ल्याब परीक्षणमा अब्बल रहेको उनीहरूको तर्क छ ।

गुणस्तर नभए ल्याब बन्द गर्छौँ
डा. विकास देवकोटा, प्रमुख, नीति योजना तथा गुणस्तर महाशाखा
हामीले पटक–पटक बैठक बसेर उपयुक्त ठहर गरी इन्फ्लुएन्जा परीक्षणको अनुमति दिएका हौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सिफारिसमा सिडिएल ल्याबलाई अनुमति दिने निर्णय मन्त्रालयका सचिवले गर्नुभएको हो । यो निर्णयसँगै पहिलोपटक निजी ल्याबले इन्फ्लुएन्जा परीक्षणको अनुमति पाएको छ । जुनसुकै समयमा हामी ल्याबको अनुगमनमा जानेछौँ । आवश्यक मापदण्ड नपुगेको खण्डमा ल्याब बन्द गर्नेछौँ ।  नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्